सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ ।
हरेक दश/दश वर्षमा हुने राष्ट्रिय जनगणना यो वर्ष कोरोना भाइरस कोभिड–१९ को महामारी देशभर फैलीरहे पनि स्वास्थ्य सचेतना अपनाउँदै राष्ट्रिय अभियान भएकाले कोरोना कहरको बिचमा पनि सरकारले यो अभियानको सुरु गरेको छ ।
देश संघिय संरचनामा गएपछि पहिलो पटक हुन लागेको जनगणना आगामी असार ८ गते सकिदैछ । सिन्धुपाल्चोकका नौ गाउँपालिका र तिन नगरपालिकामा एकै पटक सुरु हुने जनगणनामा १ सय १७ जना सुपरिवेक्षकहरु खटिने छन् । त्यस्तै कम्तीमा पनि ४ सय ६० जना गणकहरु खटिने जिल्ला जनगणना अधिकृत कुलप्रसाद न्यौपानेले जानकारी दिए ।
पहिलो चरणमा जनगणनामा खटिने सुपरिवेक्षकहरुका लागि बिहीबार देखि एक साताको तालिम चौतारामा सुरु भएको छ । बैशाख २२ गते तालिम सम्पन्न भएपछि बैशाख २६ देखि जेठ १४ सम्म सुपरिवेक्षकहरु आफुलाई खटाएको वडा कार्यालयहरुमा गएर गाउँ गाउँमा तथ्याङक संकलनको लागि खटिने जिल्ला जनगणना अधिकृत न्यौपानेले जानकारी दिए ।
सुपरिवेक्षकहरुले जनगणनामा खटिने गणकहरुका लागि गाउँ गाउँमा गएर ट्रयाक बनाउने र गणकहरु घर घरमा पुगेर सम्पुर्ण तथ्यांकहरु संकलन हुने न्यौपानेले जानकारी दिए ।
केन्द्रीय तथ्यांक विभागले तयार पारेको मुख्य प्रश्नावली लिएर गणकहरु घर घरमा पुगेर असार ८ गते भित्र सबै तथ्यांक जिल्ला जनगणना कार्यालयमा पेश भएपछि असार मसान्तसम्म सिन्धुपाल्चोकको प्रारम्भीक जनसंख्या लगायत अन्य विवरण सार्वजनिक गर्न सकिने न्यौपानेले जानकारी दिए ।
जनगणनालाई विश्वसनियता र प्रष्ट तथ्यांक संकलन हुने गरेर जिल्लाका चार स्थानमा स्थानीय जनगणनाको कार्यालय समेत स्थापना गरिएको छ ।
सुरपरिवेक्षकहरुको तालिम सम्पन्न भएर बस्तीमा खटिएपछि स्थानीय जनगणना कार्यालयहरुले गणकहरुको लागि तालिम सञ्चालन गरिने सहायक तथ्यांक अधिकृत कृष्ण ज्ञावलीले जानकारी दिए ।
सुपरिवेक्षकहरु घर घरमा पुगेर घरपरिवार सूचीकरण गर्ने,घरहरुको तथ्यांक लिने र त्यसपछि गणकहरुले सम्पुर्ण विवरण प्रत्येक बस्तीका घर घरमा नै पुगेर संकलन गरिने ज्ञावलीले जानकारी दिए ।
नेपालमा यस अघिका जनगणनामा महिला र पुरुषहरुको जनसंख्या मात्रै संकलन गरिने भएपनि यो पटकको जनगणनामा भने प्रत्येक वडामा कति घर छन्,घरको अवस्था कस्तो छ त्यो समेत संकलन हुने ज्ञावलीले बताए । त्यो बाहेक विगतको भन्दा धेरै तथ्यांकहरु समेत आउने भएकाले यो अभियानमा सबैले सहयोग गर्नुपर्नेमा ज्ञावलीले जोड दिए ।
हामी अहिले घर घर मा माग्न मात्रै जादैछौ,सबैले हामीले मागेको तथ्यांक दिनु भयो भने यसले विकास निर्माण लगायत अन्य नीति बनाउन सजिलो हुन्छ जिल्ला जनगणनना अधिकारी कुलप्रसाद न्यौपानेले भने–स्थानीय सरकार,राजनीतिक दल लगायत सबैले यो अभियानमा सहयोग गर्नु पर्छ । विगतमा शिक्षकहरुलाई यो कार्यमा खटाइने भएपनि यो पटक भने शिक्षकहरुलाई जनगणननामा खटाइएको छैन । सार्वजनिक रुपमा विज्ञापन आह्वान गरेर सुरपरिवेक्षकहरु र गणकहरु छनोट गरिएको जिल्ला जनगणना कार्यालयले जानकारी दिएको छ ।






