सिन्धुपाल्चोक । कोरोना संक्रमितहरु बढ्दै गएपछि सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको छ ।
सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्रका कोरोना संक्रमित बिरामीहरुका लागि अब सिन्धु सदावहार अस्पतालमा नै उपचार गर्ने गरी अस्पतालसँग दुइ गाउँपालिकाले सम्झौता गरेका छन् ।
संक्रमितहरुको उपचारको लागि धुलिखेल लगायतका अस्पतालमा बेड नपाउने भएपछि दुइ गाउँपालिकाले सिन्धु सदावहार अस्पतालसँग सम्झौता गरेर कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए । अस्पतालको एउटा ब्लकलाई कोरोना संक्रमितहरुको उपचारको लागि प्रयोग गर्ने र अन्य विरामीहरुको उपचार यस अघिकै ब्लकमा गर्ने गरी अस्पतालसँग सहमती भएको छ अध्यक्ष नेपालले भने ‘कोरोना संक्रमितहरुको छुट्टै ब्लकमा र अन्य बिरामीको छुट्टै ब्लकमा उपचार हुने छ ।’

अस्पतालसँग भएको स्वास्थ्य उपकरण,जनशक्ति लगायत तत्कालका लागि सबै प्रयोग हुने र नपुग जनशक्ति र स्वास्थ्य सामग्री दुवै गाउँपालिकाले व्यवस्थापन गर्ने सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।
‘अस्पतालसँग जनशक्ति अपुग रहेछ,हामी दुवै गाउँपालिकासँग भएका नर्सहरु सदावहारमा पठाउँछौ डाक्टरहरु अस्पतालकै प्रयोग गर्ने सहमती भएको छ’ अध्यक्ष जिसीले भने ‘अस्पतालमा दक्ष डाक्टरहरु र अन्य सुविधा पनि भएको हुदा गाउँपालिकाहरुले अस्पतालसँग सहमती गरेका छौ ।’
कोभिड अस्पतालको रुपमा अस्पताललाई प्रयोग गरेपछि अन्य विारमीहरु डराएर नआउँदा अस्पताललाई आर्थिक भार हुने भएपछि दुइ गाउँपालिकाले अस्पताल सञ्चालनको लागि सुरुमा पाँच/पाँच लाख रुपियाँ अनुदानको रुपमा उपलब्ध गराउने निर्णय भएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष नेपालले जानकारी दिए ।
गाउँपालिकाहरुमा भएको स्वास्थ्य चौकीमा केही उपकरणसहित कोरोना संक्रमितहरुको उपचारको लागि बेडहरु तयार गरिए पनि स्वास्थ्य चौकीहरुमा डाक्टरहरु नहुदा उपचारमा समस्या हुने भएकाले निजी क्षेत्रबाटै सञ्चालन भएको अस्पतालमा उपचारको लागि सुरु गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष जिसीले जानकारी दिए ।
कोरोना संक्रमितहरुको आइतबारदेखि सिन्धु सदावहार अस्पतालमा उपचार सुरु गरिने जिसीले जानकारी दिए । प्रदेश सरकारको स्वास्थ्य कार्यविधि अनुसार नै कोभिड अस्पताल सञ्चालन गरिने तयारी भएको दुवै गाउँपालिकाका अध्यक्षहरुले जानकारी दिएका छन् । दक्ष जनशक्ति सहित भएको अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको लागि गाउँपालिकाले पहल लिएपछि दुवै गाउँपालिकाका स्थानीय खुसी भएका छन् ।






