कोरोना संक्रमणको उपचार राष्ट्रिय गौरवका आयोजनाभन्दा अघि राख

महामारी संक्रमण सोचेभन्दा बढी संगीन हुँदै जाँदा आमजनसमुदायले यसलाई नियन्त्रण गर्न सिंगो राज्यले अरू सबै कुरा थाती राखेर भए पनि महामारी नियन्त्रण प्राथमिकतामा राखे हुन्थ्यो भन्ने आशय व्यक्त गरिरहेका छन् । यो आशय आफैंमा सकारात्मक र रचनात्मक पनि हो । तर, यसको कार्यान्वयनका लागि सरकारले जिम्मेवारी लिनुपर्छ । सरकारको अभिभावकीय भूमिका देखिनुपर्ने हालको अवस्थामा सरकारले देखाएको ढिलासुस्ती जनताका लागि आश्चर्यको विषय बनेको छ । त्यसो त सरकारले कुनै पनि काम गरेको छैन र महामारी नियन्त्रणका लागि कुनै पनि कदम चालेको छैन भन्ने होइन । तर, महामारी संक्रमणको तीव्र गतिसँगै सरकारले चालेका कदम निकै ढिला र कमजोर साबित भएका छन् । महामारी रोकथामका लागि संक्रमण गति पछ्याउन सक्नैपर्छ । तब मात्र नियन्त्रण गर्न सकिन्छ । महामारीको संक्रमण अघिअघि र त्यसलाई नियन्त्रण गर्ने सरकारी प्रयास पछिपछि पुग्नैपर्छ । त्यसो गर्न सकिएन भने सरकारी प्रयास एकातिर र महामारीको संक्रमण अर्कोतिर हुन गई उचित समयमा चालिएका कदमको प्रतिफल प्राप्त नहुन सक्छ । जनताले दुःख पाइरहन सक्छन् र सरकारी प्रयासले निकै दूर क्षितिजबाट महामारी नियन्त्रण गर्ने प्रयास पछ्याइरहेको हुन सक्छ ।

त्यसैले, जुन समस्या समाधानका लागि प्रयास चालिएका हुन् । ती प्रयास जतिसुकै मेहेनतका साथ गरिए पनि लक्षित वर्गमा पुग्न सक्दैन । हाल कोरोना संक्रमित बिरामीको संख्या निकै बढ्दो छ । संक्रमितहरूको ज्यान जोखिममा पर्ने समस्या पनि निकै चर्को हुँदै गएको छ । बिरामीका लागि भिन्दाभिन्दै उपचार कक्षको व्यवस्थापन हुन नसक्नु, बिरामीका लागि आवश्यक अक्सिजन नहुनु, सरकारी तथा निजी अस्पतालको चासो कम रहनु, कोरोना संक्रमित बिरामीको उपचारका लागि अग्रमोर्चामा खटिरहेका डाक्टर तथा नर्सका लागि आवश्यक उपकरण तथा औषधि पर्याप्त मात्रामा उपलब्ध नहुनुजस्ता समस्या ज्यूँका त्यूँ छन् । यसको समाधानका लागि सरकारले बेलैमा पहल कदमी लिन जरुरी छ । जनताको जनस्वास्थ्य अहिले राष्ट्रिय गौरवका आयोजनाभन्दा पनि प्राथमिकतामा पर्न आएको छ । समस्याका हिसाबले यो देशको सबैभन्दा गम्भीर र जटिल समस्या बन्न पुगेको छ ।

यस्तोखाले गम्भीर समस्या समाधानका लागि सरकारी तथा निजी प्रयास पनि गम्भीर किसिमले अघि बढाइनुपर्छ । विश्वमा अन्य देशहरूले पनि कोरोना महामारी नियन्त्रण र जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छन् । अमेरिका अति महाशक्ति राष्ट्रले कोरोना संक्रमण नियन्त्रणलाई आफ्नो देशको पहिला एजेन्डा बनाएको छ । भारतले पनि कोरोना महामारी नियन्त्रणलाई सबै कार्यक्रमभन्दा पहिलो प्राथमिकतामा राखेको छ । छिमेकी देश चीनले महामारी नियन्त्रण राष्ट्रको पहिलो एजेन्डामा सफलतापूर्वक अघि बढाइरहेको छ । नेपालमा पनि पछिल्लो चरणमा देखिएका कोरोनाका विभिन्न भेरियन्ट र तीनको असरलाई हेर्दा अब यो महामारी नियन्त्रणका लागि सरकारले पहिलो एजेन्डाका रूपमा जनस्वास्थ्यलाई राखेन भने यसले झन् भयावह स्थिति निम्त्याउनेछ । त्यसैले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?