जनताको सहयोगमा अक्सिजन प्लान्ट निर्माण

काठमाडौं । सत्तामा रहेका पहुँचवालाले आआफ्नो निर्वाचन क्षेत्रमा कोरोना महामारीका बेला विभिन्न स्वास्थ्य सामग्री र सरकारी बजेट रकमान्तरण गर्दै लगिरहेको बेला भक्तपुरका जनप्रतिनिधिहरू भने स्वास्थ्य बिमाअन्तर्गत पाउनुुपर्ने स्वास्थ्य मन्त्रालयसँग लिनुपर्ने ५ करोड ५० लाख रूपैयाँ मात्र निकासा गर्न आग्रह गरिरहेका छन् ।

अरू जनप्रतिनिधि सरकारी कोषको दुरूपयोग गर्दै चुनावी अभियान शैलीमा काम गरिरहँदा भक्तपुरका जनप्रतिनिधि भने नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उपचार गराएका बिरामीहरूको स्वास्थ्य बिमाको रकम निकासा गर्न आग्रह गरिरहेका हुन् ।

‘हामीले अरूले जस्तो आफ्नो भोट सुरक्षित गर्न आवश्यक नपरे पनि बाँड्नका लागि बजेट मागेका हैनौं,’ एक जनप्रतिनिधिले भने, ‘नियमानुसार प्रस्तावित ख्वपः अस्पतालमा सञ्चालित केन्द्रले पाउनुपर्ने रकम मात्र माग गरेका हौं ।’

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य बिमा बोर्डमा वार्षिक ३ हजार ५ सय रूपैयाँ तिरेर बिमा गरेका उपभोक्ताले बिमा कार्डबाट परिवारको १ लाख बिमा हुने गर्दछ । सोबाट उपचार गराइसकेका बिरामीको उपचारका लागि जनस्वास्थ्य केन्द्रले सरकारको बजेट नआए पनि आफैले खर्च गरेर ५ करोड ५० लाखभन्दा बढीको उपचार दिइसकेको भक्तपुर नगरपालिका–९ का अध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालय, च्यामासिँहमा कोरोना महामारीबीच पनि १० महिनाको अवधिमा ९६ हजार १ सय ५७ जना बिरामीले औषधि उपचार पाइसकेका छन् । यो कठिन समयमा पनि नगरपालिकाले स्वास्थ्य बिमाअन्तर्गत स्वास्थ्य मन्त्रालयसँग लिनुपर्ने बक्यौता ५ करोड ५० लाख रूपैयाँ नदिएपछि प्रस्तावित ख्वपः अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक समस्या भएको थाहा पाएपछि भक्तपुुरवासी सहयोग गर्न ओइरो लागेका हुन् ।

स्वास्थ्य बिमाको बक्यौता साढे ५ करोड दिन सरकारको आनाकानी

‘साइनबोर्ड मात्रका अस्पताललाई पनि कोरोनाका महामारीका नाममा करोडौं रूपैयाँ दिने तर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्यको बक्यौतासम्म नदिई यो एमाले सरकारले अत्यन्त पक्षपाती र निर्लज्ज काम गर्दै आएको छ । १५ लाखको हिसाबले ४० वटा भेन्टिलेटर किन्नुपर्ने पैसा अड्काएर यो निरंकुश सरकारले भक्तपुरका जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ,’ स्थानीय रामसुन्दर बासीले आक्रोशित हुँदै भने ।

कोरोना महामारीसँग लड्नका लागि सरकारी सहयोगबिना नै उदाहरणीय रूपमा निःशुल्क खाना र उपचारसहित स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आइसोलेसन र एचडीयू युनिट सञ्चालन गरिरहेको ख्वपः अस्पतालले अक्सिजन प्लान्ट खरिदको सम्झौता गरिसकेको छ ।

भक्तपुर नगरका कोरोना पीडितलाई मात्र नभई अन्यत्रका जोकोहीलाई पनि निःशुल्क सेवा दिँदै आएको ख्वपः अस्पताललाई सरकारको मुख नताक्न आग्रह गर्दै स्थानीयवासीले संस्थागत रूपमा र व्यक्तिगत रूपमा सहयोग गर्न थालेको छ ।

यसैंबीच बागीश्वरी उमाविले ६ लाख रुपैयाँ र बागीश्वरी कलेजले ४ लाख रुपैयाँ दिन लागेको थाहा पाएपछि शिक्षक कर्मचारीले पनि व्यक्तिगत रूपमा सहयोग दिन थालेको र मंगलबार १ घण्टाको अवधिमा मात्र ५ लाख उठेको प्राचार्य कृष्णप्रसाद धन्छाले जानकारी दिए ।

अक्सिजन प्लान्ट राख्नलाई सहयोग गर्नेमा बोरिस हेस, सिद्धि गणेश सहकारी, भक्तपुर साकोस, संगम साकोस, जिल्ला साकोस छन् । सहयोग गर्ने सहकारीमा भक्तपुर श्रमिक साकोसबाट २ लाख, डायमन्ड साकोसबाट ५० हजार, केदारनाथ साकोसबाट १ लाख ११ हजार, श्वेतभैरव साकोसबाट १ लाख ७२ हजार, समय साकोसबाट १ लाख १५ हजार र कमलविनायक साकोसबाट १ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, दीक्षा हाडा स्मृति प्रतिष्ठानबाट १ लाख, ५ नम्बर वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यबाट १ लाख, जनकवि चन्द्रबहादुर उलकबाट १ लाख, पुुरुषोत्तम प्रजापतिबाट ५० हजार, ज्ञानप्रसाद न्यौपानेबाट २५ हजार, हरिगोपाल साँयजुबाट १० हजार, न्हुुछेराम भेलेबाट ५ हजार प्राप्त भएको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ ।

यसैंगरी, एसबीएस इन्भेस्टमेन्ट कम्पनीबाट १ लाख ११ हजार, घनश्याम देउजाबाट १० हजार, आरम्भ नेपालबाट २५ हजार, निओ फ्युजनबाट ५ हजार, न्हुइन्टरप्राइजेजबाट १ हजार प्राप्त भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

मनाङ र मुस्ताङ जिल्ला नेपालले गुमाउन सक्ने दुर्गा प्रसाईंको चेतावनी