मदनमान सिंह बस्नेत, काठमाण्डौको प्रसिद्ध दक्षिणकाली क्षेत्र नजिक फर्पिङ सत्तिखेलमा हुर्के बढेर सामाजिक अभियन्ताका रुपमा परिचित नाम हो । २०१० बैशाख १३ गते जन्मेका मदन पिता ललितमान सिंह बस्नेत र माता चन्द्रकुमारी बस्नेतका चार सन्तान मध्येका माहिलो हुन् । एकाघरका आफ्ना एक दाजु, एक भाइ र एक बहिनीलाई छाडेर सधैंका लागि बिदा हुने ललित र चन्द्रकुमारीका पहिलो सन्तान भए । २०७८ जेठ १५ गते कोरोना भाइरससँगको लामो संघर्ष हारेर उनी घर परिवारका सदस्य, दौंतरी र आफन्तलाई सधैंका लागि छाडेर अनन्त यात्रामा निस्के । शायद भगवानलाई पनि समाजका राम्रा मानिस नै प्रिय हुन्छन् । मदनका हकमा पनि यही लागू भयो ।
अब मदनका दौतरीहरु उनको सानैदेखिको भद्र, शालीन एवं कम बोल्ने तथा एकछिन काम नगरी नबस्ने स्वभाव सम्झदै प्रशंसा गर्दैछन् । उनको प्रशंसा नहोस् पनि किन ? गाउँमा अरुणोदय प्राथमिक विद्यालय मात्र थियो । त्यसभन्दा माथि पढ्न गाउँमा कुनै विकल्प थिएन । यो विद्यालयलाई माध्यमिक स्तरमा लैजान उनले निर्वाह गरेको भूमिका उनका समकालीनका लागि बिर्सन नसक्ने प्रेरणा नै बनेको थियो । शुरुमा उनी २०२८ सालदेखि त्यही प्राथमिक विद्यालयमा चार वर्षसम्म निरन्तर स्वयंसेवकको रुपमा कार्यरत रहे र २०३३ सालदेखि लेखापालका रुपमा काम गर्न थाले र लामो समयसम्म सेवा दिइरहे ।
खेलकुदप्रति मदनको असाध्य रुची थियो । विद्यालयमा खेलकुदको उचित प्रवन्ध नभएकोमा खिन्न मदनले गाउँघरका दाजुभाइ, दिदीबहिनीलाई प्रेरित गर्दै भिरालो डोलवारी सम्याएर खेल मैदान बनाएका थिए । राजधानीको नजिक भएर पनि नागरिक चेतना कम नै रहेको त्यो समयमा मदनले युवा जोशका साथ २०३६ सालमा नर्वदेश्वरमा ज्ञानज्योति पुस्तकालय स्थापना गराए । यस अतिरिक्त सामाजिक काममा पनि उनको निकै रुची थियो । स्थानीय स्रोतहरुको संरक्षण गर्दै बासुकीकुण्ड बनाउनमा मदनको सक्रियता उत्साहप्रद थियो । अहिले पनि फर्पिङ सतिखेलका नागरिक यही बासुकीकुण्डको स्वच्छ, सफा र मूलको पानी पिउनमा आनन्द मान्छन् ।
मदनले जीवनका महत्वपूर्ण समय गाउँमै बिताए र गाउँघरकै सेवामा आफूलाई समर्पण गरे । उमेरको उत्तराद्र्धमा उनले पनि शहरको जीवन रोजे र २०७६ सालमा फर्पिङ छाडेर बानेश्वरमा बसोवास शुरु गरे । तर गाउँघर, दाजुभाइप्रतिको मोहमा उनले कुनै कमी आउन दिएनन् । उनी बेलाबखत गाउँ आइरहन्थे र छरछिमेकी, दाजुभाइ र छरछिमेकको ’boutमा चासो राखिरहन्थे । एउटा नेपाली उखान छ – गाई भए गोरस, भाइ भए भरोस । शायद यसमा उनको बढी नै बिश्वास थियो ।
उनी बेलाबखत गाउँ आइरहन्थे र छरछिमेकी, दाजुभाइ र छरछिमेकको ’boutमा चासो राखिरहन्थे । एउटा नेपाली उखान छ– गाई भए गोरस, भाइ भए भरोस ।
यही उखानलाई मदनले काठमाण्डौमा बस्ने दाजु भाइका हकमा पनि लागू गर्दै थिए । दाजु भाइहरु बसेकै ठाउँ लाजिम्पाटमा बस्ने योजनाका साथ उनले आफ्नो जीवनको अन्तिम इच्छाका रुपमा मनको महल बनाउन थालेका थिए । त्यो ‘महल’ बन्दै गर्दा पिताजी ललितमानले देहत्याग गर्नु भयो । घरका सबै सजावट सकिए पनि उनी घर सर्ने समयको पखाईमा थिए । तर कालले उनलाई पर्खन तयार भएन । उनी आफ्ना आकांक्षालाई अधूरै छाडेर लुसुक्क कालको पछि लागे । वास्तवमा पिताजीको बर्खीभर घर नसर्ने र शान्ति सेनामा कंगोमा रहेको छोरा फर्किएपछि लाजिम्पाटको घरमा सर्ने उनको सोच थियो । छोरा स्वदेश फर्केपछि बाबुछोरा मिलेर घर सजाउन मदनले त पाएनन् नै, छोरा अजितमान पनि घर सजाउनेमा एक्लै परे ।

घर परिवारमा पत्नी र बुहारीले कोरोनालाई जित्नसके, तर मदनआफैं भने हारे । उनको अस्पताल बसाइको लामो समय रेखदेख गर्दै गर्दा धर्मपत्नी लक्ष्मी स्वयंलाई कोरोनाले समात्यो । घरमा दुई चिचिला सन्तानको स्याहार सम्भारमा लागेकी बुहारी प्रिया पनि कोरोनाले इन्तु न चिन्तुको अवस्थामा पुगिन् । यस्तो बेला आफन्त र छिमेकीले हुनेसम्मको सहयोग गरेकै हुन् । आमा र भाइबुहारी दुबै आफैं पीडित भएपछि पोखरामा रहेकी जेठी छोरी अर्चनाले काठमाण्डौ आएर सबै रेखदेख गरिन् । मेजर कञ्चना सिंहले पनि सैनिक अस्पताल छाउनीका सम्पूर्ण चिकित्सक टोलीलाई हरेक पल मदनको स्वास्थ्यको ख्याल राख्न प्रेरित गरिरहिन् । मदनको जीवन बचाउने प्रयासमा कान्छी छोरी अञ्जना र ज्वाई अमृत केसीले गरेका हरेक अथक प्रयास पनि कोरोना सामु निरर्थक बन्यो । जेठ १५ गते मदनलाई कसैले रोक्न सकेन, उनी एक्लै महायात्रामा प्रस्थान गरे । न मलामी, न दागवत्ती – सयौं आफन्त कमाएका मदनलाई थाहा भएन, उनको अन्तिम बिदाइमा चाहेर पनि धेरै आफन्त आउन पाएनन् ।
दाह संस्कारको जिम्मा लिएको सैनिक टोलीले हिन्दू संस्कारको सामान्य कर्म त पूरा गरिदियो । तर कंगोमा रहेका छोरा उतै रोकिए । पिताजीको क्रियाकर्ममा समेत उनी सहभागी हुन पाएनन् । न त उनले बुवाको अनुहार अन्तिम पटक हेर्न नै पाए । मदनका भाइ रमेशमानसिंह बस्नेतले दाजुको काजक्रिया उतारेर आफ्नो कर्तव्य पूरा गरे । तर फेरि कोरोना पोजिटिभ देखिएपछि पत्नी लक्ष्मीले काजक्रिया छाडेर एकान्तवास शुरु गर्नु प-यो । पतिवियोगको पीडा भोगिरहेका बेला एकान्तवास बस्नु परेकी पत्नी लक्ष्मीको अवस्था कस्तो रह्यो होला ? यो जो कोहीले अनुमान पनि गर्न सक्दैन । शत्रुले पनि भोग्नु नपरोस् भन्ने खालको पीडा पत्नी लक्ष्मीले आफैं भोग्नु प-यो । हुने हार, दैव नटार । मदनको अन्तिम जीवन यस्तै भयो ।
अन्त्यमा मदनका दौंतरी केदारनाथ आचार्यले सम्झना स्वरुप कोर्नु भएको यो कविताः
कोभिडे दुष्टले आज हाम्रो साथी चुँडिलग्यो
प्यारो मदन सम्झेर बस्न वाध्य गराइयो ।
गर्न पाउ तिमी प्यारा स्वर्गमाझ ढलिमली
बुझेर दैवको लीला दिन्छु हार्दिक श्रध्दाञ्जली ।।
(लेखिका स्वर्गीय मदनमानसिंह बस्नेतकी भाञ्जी हुन् ।)






