काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हु“दै छ । अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम छ । केही हिमाली जिल्लाबाहेक सबैको अधिवेशन आजै हुनेछन् ।
वातावरणीय प्रभावका कारण हिमाली केही जिल्लामा पछि अधिवेशन हुनसक्ने उपप्रमुख रिजाल बताउँछन् । एमाले १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ हुन लागेको हो । प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ । यसैबीच, एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा ‘सर्कुलर’ गरेको छ ।
कमिटीसम्बन्धी मापदण्डअनुसार पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ । त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । त्यस्तै, एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसार हुनेछ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । उता, प्रदेश २ का केही विवादित जिल्लामा अधिवेशन पछि हुने बताइएको छ । एमाले सचिव एवं प्रदेश २ इन्चार्ज रघुवीर महासेठले आफूखुसी सदस्य मनोनित गर्न थालेपछि विवाद चर्किएको हो । प्रदेश २ कमिटीका साथै सो प्रदेशका आठ जिल्ला कमिटीमा महासेठले मनोमानी रूपमा सदस्य मनोनित गर्न थालेपछि विवाद चर्किंदै केन्द्रसम्म पुगेको स्रोतले बतायो ।






