सबको ‘जय’ चिताउने मान्छे

कल्कत्ते काइँयो केस मेरो बांगियो
टेबुलमा एैना छ
पिरतीले मैले नला’को हैन
तकदिरमा रैन’छ

धानकै बाला झुलौंला
मायालाई भुलौंला…

चार दशक नाघिसक्न लाग्यो यो लोकगीत उत्पति भएको । अझै पनि उस्तै । अहिले भर्खरै सुनेजस्तो । जो कोहीलाई जुरुकजुरुक पार्ने यो गीत नेपाली लोकसंगीत फाँटको कोशेढुंगामध्ये एक हो ।

गाउँगाउँका कुनाकाप्चा चहार्दै ‘ठेट’ शब्द र भाका संलकन गरेर जनजिब्रोमा च्वाँट्ट झुन्ड्याउने ‘सर्बदा तन्नेरी’ स्रष्टा जयनन्द लामा अब हामीबीच रहेन भन्दा ‘अलि कसोकसो’ लाग्छ । माथिको अजम्बरी गीत उनैले गाउँका कुना–कन्दराबाट संकलन गरी ल्याएका थिए । जसमा उनलाई विक्रम कार्की, सरिता लामा, बाबा बस्नेतले साथ दिएका छन् ।

केको साँचो डल्ली रेशम
फलामको साँचो
झुटो हैन डल्ली रेशम
यो कुरो साँचो
तिमेरुजस्तो नक्कली मैयाँ
हाम्लाई केको खाँचो…

लामा गायकमात्रै थिएनन्, अभिनयमा समेत पोख्त थिए । जीवन्त अभिनयकै कारण उनी पछिल्लो समय संगीतभन्दा चलचित्र वा टेलिशृंखलातिर बढी व्यस्त रहे । ‘मसँग जीवरभर गाउन पुग्ने गीत छन्,’ उनी भन्थे, ‘तर, लगानी कसले गर्ने ? हेरौं, के हुन्छ ?’

सिन्धुपाल्चोक बाह्रबिसे धार्पामा जन्मिएका लामा कक्षा ५ पढ्दैदेखि संगीत भनेपछि हुरुक्कै हुन्थे । रेडियो सुन्न पाएपछि सबै थोक भुल्थे । छमछमी नाच्दै भाका हाल्थे । गाउँले–छरछिमेक उनको प्रतिभा देखेर चकितै पर्थे । गाउँले उतिबेलै अड्कल काटेथे रे, ‘यो केटोले केही गरेर देखाउँछ है †’

सूर्तीको ठुटो खाउँ भने जुठो
नाखाउँदा तल्तली
शेर्पिनीसँग माया नललाउँ भने
आँखामा झल्झल्ती…

हुन पनि त्यस्तै भयो, २०२६ सालमा नृत्य निर्देशक भैरवबहादुर थापा बाह्रबिसे पुगेछन् । गाउँठाउँमा ‘स्टार’ भइसकेका थिए, जयनन्द । विद्यालयका सांस्कृतिक कार्यक्रममा उनको नाम कहिल्यै छुट्दैथ्यो । प्रत्येक कार्यक्रममा उनको माग हुन्थ्यो । सोही क्रममा भैरवबहादुरको नजर प¥यो, उनीमाथि ।
अनि, सुरु भयो किशोर जयनन्दको ‘काठमाडौं यात्रा । सहर पसेपछि रेडियो नेपालमा भटाभट गीत रेकर्ड हुन थाले । उनको ठेट गायकी र शब्द दरबारसम्मै पुग्यो । राजदरबार नजिकै भएर होला, सिर्जना फाइन आर्ट कलेजमा आबद्ध हुन पुगे । र, यहीँबाट सुरु हुन्छ, जयनन्दको औपचारिक संगीत यात्रा ।

बाल्यकाल धार्पा गाउँमा बिते पनि काठमाडौं प्रदर्शनी मार्गस्थित पद्मोदय माविबाट प्रवेशिका उत्तीर्ण गरे । स्कूल छँदा रेडियो नेपाल हुँदै लोकगायनमा लागेका उनी नृत्य निर्देशक भैरवबहादुर थापाको संगतकै कारण अभिनयतिर पनि होमिए । २०३९ सालमा छायांकृत ‘मनको बाँध’मा उनको अभिनय क्षमता देख्न सकिन्छ । सयभन्दा बढी चलचित्रमा उनले अभिनय गरे । अझ ‘छक्का पञ्जा’को उनको हाँस्यप्रधान अभिनय सर्वाधिक मन पराइयो ।

पछिल्लो समय हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’मा देखिँदै आएका जयजन्दले ‘माया गर्छु म’, ‘कर्मको फल’, ‘यथार्थ’लगायत फिल्म निर्देशनसमेत गरे । नामजस्तै उनी सबैको ‘जय’ चिताउँथे । छिट्टै घुलमिल हुन्थे । रसिक र हँसिला जयनन्द झन्डै दुई सयभन्दा टेलिशृंखलामा देखिए । लोकदोहोरी रियालिटी सो ‘नेपाल लोकस्टार’मा त उनी निर्णायक भूमिकामै थिए ।
चूईंचूईं चुईंकने जुत्ता लगाउँदा फुत्त
सालीको खुट्टा न यता न उता…

संगीत सिद्धान्त’bout पुस्तकै लेख्ने नेपालमा जयनन्द पहिलो लेखक मानिन्छन् । दशकअघि ‘संगीत सिद्धान्त र नेपाली संगीत वर्णमाला’ नामक पुस्तक प्रकाशनमा ल्याएर उनले ‘दस्तावेज’ खडा गरेका छन् । यिनै अग्रज लोककर्मीको ६६ वर्षको उमेरमा निधन भएको छ ।

गएको राति मंगलबार बौद्धबाट घर फर्किएका उनी बुधबार बिहान आफ्नै घर परिसरमा कारबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएका थिए । खुट्टा ब्रेकमा अड्केको र शरीर बाहिर लडेको अवस्थामा थिए, उनी । कारबाट ढोका खेलेर निस्कनेक्रममा ब्रेकमा खुट्टा अड्केर लडेको र सँगैको पर्खालमा टाउको ठोक्किएको प्रहरी अनुसन्धानबाट देखिएको छ । पोष्टमार्टम रिपोर्टअनुसार टाउकोमा गम्भीर चोट र हृदयघातसमेत भएको थियो ।

पुग्नु त पुग्थ्यो मुलुक संसार
तक्दिरमा रैन’छ
ठेकीको दही मही
अर्काको आइमाई
छुनुलाई डर लाग्छ…

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क