पूर्वमन्त्री सञ्जय साहका परिवारका प्राय सदस्यलाई जेल सजाय

जनकपुरधाम । ज्यान मुद्दामा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’ समेत उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई जेल सजाय भएको छ । विशेष अदालतले गरेको फैसलामा साहलाई ५ वर्ष कैद, उनकी पत्नी रंगीला देवी साहलाई अढाई वर्ष, पिता साधुशरण साह सुडीलाई अढाई वर्ष र भाई रामकुमार साहलाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।

त्यसैगरी साहका तत्कालीन सहयोगीहरु छेदी राउत र सुजीत पाण्डेलाई अढाई÷अढाई वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले हाल सम्म गरेको फैसलामा राजनीतिकर्मी एकै परिवारका दाजुभाई, पिता, पत्नीलाई अकुत सम्पत्ती राखेको अभियोगमा जेल सजाय गरेको सम्भवतः यो नै पहिलो हो ।

सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दाको फैसलामा साह सहितलाई १९ करोड बिगो र उत्तिकै जरिवानाको फैसला भएको छ । सम्पत्ती शुद्धिकरण विभागले साहमाथि ३२ करोडको विगो र उतिके जरिवानाको माग गरेको थियो । साहबिरुद्ध सम्पत्ती शुद्धिकरण विभागले २०७४ साल चैत १६ गते मुद्दा दायर गरेको थियो । त्यस अघि नै २०७३ साल पुस २५ गते अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायधिशहरु कृष्ण गिरि, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले साह, उनका पिता, पत्नी, भाई र तत्कालिन सहयोगीहरुलाई कैद र जरिवानाको सजाय सुनाएको छ ।

यस अघि फागुन १५ गते विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहरगर्दै ४ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा साहलाई भ्रष्टाचारी ठहरगर्दै साढे १९ करोड बिगो र उतिकै जरिवानागरि करिब ३८ करोडको बिगो जफ्त हुने फैसला अदालतले गरेको थियो ।

अख्तियारले साढे ३१ करोड र सम्पत्ती शुद्धिकरणले ३२ करोड सम्पत्तीको स्रोत नखुलेको दाबीगर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई सजाय भएको थिएन् । सम्पत्ती शुद्धिकरणको मुद्दा बाहेकमा साह बाहेकका सदस्यहरुलाई सजाय भएको थिएन् ।अख्तियारलेपनि उनकी आमा दुलारी देवी सुडी, पिता साधु साह सुडी, पत्नी रंगीला देवी, भाई रामकुमार साह समेतमाथि मुद्दा गरेको थियो ।तर त्यसमा साह बाहेक अन्यलाई सजाय भएको थिएन् ।

साह, उनका पिता साधु साह सुडी, पत्नी रंगीला देवी र भाई रामकुमार साहको नाउँमा रहेका सम्पूर्ण सम्पत्ती रोक्का रहेकोछ । विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिन जरिवाना भएको बराबरको धितो राखेर मात्र जान पाउने प्रावधान रहेको कानुन व्यवसायीहरु बताउँछन् ।

सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या र रामानन्द चोक बम काण्ड मुद्दामा धनुषा जिल्ला अदालतबाट साहलाई जन्मकैदको सजाय भएकोछ । काठमाडौं जेलमा रहेका साहका लागि फागुन महिनामा १५ दिन भित्र आएको विशेष अदालतको दुईवटा फैसलाले थप जेल सजाय भएको छ ।

धनुषा जिल्लाको तत्कालिन निर्वाचन क्षेत्र ४ बाट उनी दुवै संविधान सभामा निर्वाचित भएका थिए । पहिलो संविधान सभा चुनावमा उनले तत्कालीन नेकपा एमालेका नेता रघुबीर महासेठ र दोस्रो संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामसरोज यादवलाई पराजित गरेका थिए ।

तत्कालिन नेकपा एमालेका नेता माधवकुमार नेपालको सरकारमा सञ्जय साह लोकतान्त्रिक फोरमबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री थिए ।लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार मन्त्री थिए ।

संजयको दबदबा
एकताका जनकपुरधाममा संजय साहकै चल्थ्यो । कुन हाकिम जनकपुरधाममा रहनेसम्म पनि निर्णय संजयले नै गर्ने गर्थे । देशमा सरकार जो कोहीको भएपनि जनकपुरधामका सरकार संजय नै थिए । यतिसम्म की प्रहरीको अधिकारीहरु पनि कुनै कार्य गर्दा संजय यो निर्णयसंग खुशी छन वा दूखी यतिसम्म ख्याल गरिन्थ्यो ।

कसैले जनकपुरधामका राजा, कसैले एकमात्र नेता कसैले डन कसैले ठूला प्रभावशाली नाउँहरु जे जे हुन्छ त्यो राख्ने गर्थे । संजयको लोकप्रियाको परकाष्ठा यसलाई भन्न सकिन्छ । संजयको ईच्छा विपरीत कार्य गर्दा केही वर्ष अघि धनुषाका एक प्रहरी उपरीक्षकलाई जनकपुरधामकै रेल्वे स्टेशन प्रहरी चौकीमा कुटाई मात्रै भएन २४ घण्टा भित्रै सरुवा गरियो । एसपीलाई प्रहरी चौकीमै कुटियो र कुटनेलाई केही भएन समान्य कुरो होइन । घर घरमा संजयको चर्चा हुनेगथ्र्यो । तर समय परिवर्तशील हुन्छ एकताकाका डन आज सबैभन्दा कमजोर अवस्था रहेका छन । संजय आज दयाका पात्र बनेका छन । वर्षोदेखि जेलमा छन छुटने आशा कतैवाट छैन फेरी दोषीमाथि दोषी वनि नै रहेका छन ।

प्रगति वाटोको चर्चा
कबारीको कारोबारबाट ठेक्केदार बनेका पूर्व राज्यमन्त्री साह करोडौँ रुपैयाँ आर्जन गरेका थिए । शुरुका दिनमा सानो तिनो विवादमा पैसा लिएर एकको पक्षमा कार्य गर्दै आएका संजयको एकताका जनकपुरधाम क्षेत्रमा आतंकनै थियो । संजयको नाउँ मात्रले नै धेरै डराउँथे । हिन्दी सिनेमाको खलनायक जस्तो छबी बनाएका संजय कुनै खुशी हुँदा फायरिगं गर्थे । फेरी फायरिगं गर्दापनि उनलाई कारवाही गर्न प्रहरीले आँट देखाउन सकिरहेको थिएनन् ।

जिल्ला विकास समिति धनुषाका तत्कालीन सभापति रामचरित्र साहले आर्थिक रुपले संजयको भाग्य बनाएको जानकारहरु बताउँछन् । संजयलाई जिल्ला विकास समितिका महत्वपूर्ण ठेक्काहरु दिलाउन रामचरित्रले भूमिका खेलेका थिए । पैसा र गुण्डागर्दीकै प्रभावमा जनकपुरधामबाट दुई पटक उनी सांसद भएका थिए । केही दिनका लागि भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत उनी भए । जनकपुरधाममा कुनै ठूलो कार्य हुँदा संजयको आदेश बिना हुँदैनथ्यो । ठेक्काहरुमा पनि संजयकै चल्थ्यो । पारिवारिक विवादहरु पनि संजय मिलाउने गर्थे । केही व्यक्तिका लागि उनी अवतरित नै भएको जस्तो लाग्थ्यो ।

चुनाबको शक्ति

प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति मतको हुन्छ । उनले पैसा कमाएपछि त्यतैतर्फ भाग अजमाउने प्रयास गरेका थिए । मधेश आन्दोलनमा संजयको खासै योगदान थिएन । मधेशी जनअधिकार फोरमका तत्कालिन अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी खोजी रहेका थिए । कतिले जनकपुरधाम जित्न कुनै साह थरको व्यक्ति चाहियो उहाँलाई सल्लाह दिइरहेका थिए यतिसम्म कि सोही पार्टीका प्रभावशाली नेता जेपी गुप्ताको पनि यहि चाहना रहेको थियो । जेपीकै दबाबमा संजय सो पार्टीले टिकट दिएका थिए । वि.सं. २०६४ साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय साह पहिलो पटक निर्वािर्चत भएका थिए ।

ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचन टिकट लिएको निकै चर्चा चलेको थियो ।
मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए। महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए । काँग्रेसबाट प्रभावशाली नेतृ लीला कोइराला चुनाब लडेकी थिइन् । उनलाई पनि पराजित हुनु परेको थियो ।

त्यसैगरी २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वािर्चत भएका थिए । तत्कालिन सद्भावना पार्टीबाट टिकट पाएका साहले नेपाली कांग्रेसका प्रभावशाली नेता रामसरोज यादवलाई पराजित गरेका थिए । साह नै त्यस्तो नेता बन्न सफल भए जो कि जनकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जित्न सफल भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 814 times, 1 visits today)

epaper

ताजा समाचार

सुनको मूल्य तोलामा ५ हजारले बढ्यो