काठमाडौं । विवाद मुछिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोलिपल्ट (बिहीबार) एनएसएल आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
एनएसएल आयोजकको मागअनुसार नै चैत २५ देखि २०७९ जेठ १ गतेसम्म सञ्चालनका लागि स्वीकृति दिएको थियो । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि र सहभागी १० टोलीको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा एन्फासँग केही सर्तहरू राखेको छ ।
प्रतियोगिता सञ्चालनका लागि सहजीकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि उनीहरूले असमर्थता जनाएका हुन् । ‘एन्फाकै जिम्मेवार पदाधिकारीले एनएसएललाई अन्य गोल्डकपजस्तै भएको बताउनु, एनएसएलकै समयमा मोफसलमा गोल्डकप आयोजनाका लागि समय दिइनु र तयारीका लागि समय पर्याप्त नभएको भन्दै एनएसएलका टोलीहरूले खेल्न असमर्थता जनाएका छन् ।’ ‘केही ‘ए’ डिभिजन क्लबहरूको मागलाई पनि सुनुवाइ गरेर जानुपर्छ र वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ भनेर उचित निष्कर्ष निकाल्न हामीले पनि निरन्तर त्रिपक्षिय वार्ताका लागि अनुरोध ग¥यांै तर कुनै पनि वार्ता समयमा हुन नसक्नु र कार्यदल निमार्ण गरी यस विषयलाई समाधान गर्न धेरै ढिलो हुन गएको कारणले हामी आयोजक र १० वटै क्लबको प्रतियोगिता तयारीका लागि ठूलो धनराशि खर्च गरिसकेको र समय अभावका कारण खेलाडीहरूको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भीर असर पुगेकाले निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन असमर्थ भएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना खेलाडी क्लबको स्वीकृतिबिना अक्सनबाट लिनु उपयुक्त नभएको भन्दै ४ ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबले असन्तुष्टि जनाएका थिए । ‘एन्फाको जिम्मेवार पदाधिकारीबाट मिडियामा सार्वजनिक रूपमा गोल्डकपकै शैली हो, यो दोस्रो संस्करणपछि सम्झौता नै खारेज हुने जस्ता विषयमा सञ्चारमाध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्नुले विविध आशंका जन्माएको छ । साथै एनएसएल र आबद्ध १० क्लबहरूले यति ठूलो लगानी किन र केका लागि गर्ने भन्ने गम्भीर प्रश्नसमेत उठेको छ,’ विज्ञप्तिमा भनिएको छ । एनएसएलको सम्झौता स्वतः नवीकरण हुनुपर्ने र यसलाई एन्फाको क्यालेन्डरमा राख्दै अन्य प्रतियोगितासँग जुधाउन नहुने तर्क एनएसएल आयोजक र क्लबहरूको सर्त राखेका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘हाल कायम रहेको सम्झौता स्वतः नवीकरणीय सम्झौता हुने र आगामी दिनमा यस प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा कुनै अन्य प्रतियोगितासँग नजुध्नेगरी पर्याप्त तयारीसमेतको समयसीमा छुट्याएर भदौअसोज महिना प्रतियोगिता सञ्चालनका लागि एन्फाको वार्षिक क्यालेन्डरमा आवश्यक व्यवस्था गरिदिन हुन एन्फासमक्ष अनुरोध गरिएको छ,’ खेलाडीका विषयमा पनि एनएसएलका सहभागी र क्लबहरूले सर्त अघि सारेको छ ।






