एमबीबीएस परीक्षामा नै नक्कलीको बिगबिगी

चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेका छन् भने सेटिङमा लाखांैको लेनदेन हुने गरेको पुष्टि भएको छ । सक्कली परीक्षार्थीको नाम तर फोटो भने नक्कलीको राखेर परीक्षा दिने र सोहीवापत ती नक्कली परीक्षार्थी र विचौलियाले लाखौं रुपैयाँ असुल गर्ने धन्दाको पर्दाफास भएको छ । हरेक परीक्षामा रकम ‘डिल’ गरेर परीक्षा उत्तीर्ण गराइदिने र सोअनुसार डिल गरेको रकम लिने यी नक्कली परीक्षार्थीको पेसा रहेको खुलेको छ । परीक्षामा पास गराएवापत ५ देखि १८ लाखसम्म रकम असुल गर्ने यिनीहरूले परीक्षा दिँदाकै बखत ५० हजारदेखि २ लाखसम्म अग्रिम रकम लिने गरेको खुलेको छ ।

नक्कली परीक्षार्थीको यो बिगबिगी आजदेखिको होइन । यसले भूमिगत तर संस्थागत रूप लिइसकेको छ । यसको सेटिङ चिकित्सा सेवा आयोगसम्म नै रहने गरेको छ । सारा सेटिङमा हुने यी काममा विदेशी परीक्षार्थी आएर परीक्षा दिने र बाचाअनुसारको रकम लिएर जाने गरिरहेका छन् । भारत र बंगलादेशका टपरहरू यसमा जोडिएको अनुसन्धानबाट खुल्न आएको छ । सबै अधिकार चिकित्सा शिक्षा आयोगमा दिइएको र प्रहरीले बाहिरबाट सुरक्षा ड्युटी मात्र गर्ने गरेकाले यस्तो बेथिति भूमिगत रूपमा संस्थागत भई मौलाएको देखिन्छ । एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थीको चर्चा आजको होइन । यो पहिलेदेखि नै चल्दै आएको हो । यो सेटिङमा हुने गरेकाले ‘ओपन सेक्रेट’का रूपमा रहँदै आएको थियो । तर, चिकित्सा शिक्षा आयोग नै यसको संरक्षक र भागिदार भएकाले यसले मौलाउने वातावरण पाउँदै आएको हो । शिक्षा अधिकार र सेवाभन्दा पनि व्यापारका रूपमा लिइँदा यो नाफा, मुनाफा र कालो धनआर्जन गर्ने स्रोत र माध्यम बन्न जाँदा यसले हालको बिकराल रूप लिन पुगेको हो ।

शिक्षादीक्षा भनेको व्यक्तिले आर्जन गर्ने भन्दा पनि अरूले कमाएर दिने उपहार जस्तो हुनपुगेको छ । अब त ‘चिप्स’ टाउकोमा घुसारेर काम गर्ने जमाना पनि आइसकेको छ । दिमागको काम पनि चिप्सले गरिदिने भएको छ । केही समयपछि डाक्टर पनि यी चिप्सको माध्यमबाट काम गर्ने नहोलान् भन्न सकिने अवस्था छैन । यो कुराको छनक एमबीबीएस प्रवेश परीक्षामा भइरहेको नक्कली परीक्षार्थीको बिगबिगीले देखाइसकेको छ । राज्य संयन्त्र भनेको यस्ता काम हुने र गरिने प्रक्रियामा ‘सहजकर्ता’को भूमिकामा मात्र देखापर्ने अवस्थामा पुगेको छ । राज्य सत्ता पनि आफ्नो कार्यकारी भूमिकाबाट च्युत हुँदै छ । सरकारको बेवास्ताका कारण पनि यस प्रकारका अनियमित काम हुने क्रम बढिरहेको छ । यसले सरकार अभिभावकको भूमिकामा रहन नसकेको देखिन्छ ।

यसले आफ्नो दलगत, गुटगत, पारिवारिक र नितान्त निजी स्वार्थ मात्र हेर्न थालेको छ । देशमा विदशी शक्तिको बोलवाला छ । सबै नक्कली बन्दै गइरहेका छन् । आ–आफ्नो उत्तरदायित्व बहन गर्न कोही पनि सक्षम र तत्पर छैनन् । एमबीबीएसको प्रवेश परीक्षामा त्यस्तो बदमासी भएको पाइएपछि शिक्षा मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाउनुपथ्र्यो तर, मन्त्रालय यो विषयमा कानमा तेल हालेर बस्न पुग्नु विडम्बना भएको छ । अब मन्त्रालय र चिकित्सा शिक्षा आयोगले परीक्षा प्रणालीमा नै सुधार गरेर त्यस्तो बदमासी र सेटिङ गर्न नसक्ने बनाउन सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

epaper

ताजा समाचार

मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?