बलात्कार, पीडित र सामाजिक प्रभाव

विगतका बलात्कारका घटना, शृंखलाबद्ध रूपमा उजागर हुँदै छन् । पीडितको मौनतमा ७÷८ वर्षसम्म गुपचुप रहँदै आएका घटना एक्कासी सार्वजनिक गरिँदा कतिपयको निम्ति काल्पनिक जस्तै देखिन्छन् भने कतिका निम्ति आश्चर्यजनक । तथापि, लामो समयपछि उजागर हुने यस्ता घटना आफैंमा रहस्यमय हुन्छन् । यस क्रममा हालै एक युवतीले आठ वर्ष अगाडि आफू १६ वर्षकै हुँदा काठमाडौंको एभरेस्ट होटलमा बलात्कृत भएको तथ्य उजागर गरेकी छन् । उनकै भनाइअनुसार आठ वर्ष पहिले १६ वर्षकै उमेरमा भएको घटनाको कानुनी प्रावधानअनुसार उजुरी दिने हदम्याद नै ५ वर्ष बितिसकेको देखिन्छ ।

पीडित युवतीले मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका सञ्चलक मनोज पाण्डेले सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेसनल’ नामक प्रतियोगिता आयोजना गरेको, उक्त प्रतियोगितामा आफू सफल भएपछि सक्सेस पार्टीको नाममा होटलमा बोलाई बलात्कार गरेको आरोप लगाएकी छन् । युवतीको आरोप जति संवेदनशील छ, उत्ति नै आशंकाजनक छ भन्नमा अत्युक्ति हुँदैन । यस घटनालाई आश्चर्यजनक मान्नुपर्ने कारण पनि अनेक छन् । त्यसमध्ये पनि मिस ग्लोबल इन्टरनेसनलमा सफल बन्ने पीडित १६ वर्षकै भए पनि चेतनारहित थिइन भन्न मिल्दैन । प्रतिस्पर्धामा उत्तीर्ण भएको आधारले उनी निरक्षर पनि थिइनन् । पीडित युवतीले आयोजक मनोज पाण्डेले आफूलाई लेमोनेडमा बेहोस हुने औषधी खुवाई होटेलको कोठामा बलात्कार गरेको, बेहोसमै नग्न भिडियो खिची सार्वजनिक गरिदिने धम्की दिँदै छ महिनासम्म यौन शोषण गरेको खुलासा गरेकी छन् ।

घटनाको ६ महिना पछिसम्म आफू यौन शोषणमा पर्दा परिवारका सदस्य, साथीसंगति र विश्वासी व्यक्तिसँग घटना’bout जानकारी नगराएको आधारले नाबालिकाको मञ्जुरी थिएन भन्ने अवस्था पनि छैन । यसको साथै १८ वर्षको उमेर पुगेपछि वा सबालक भएको १ वर्षभित्र गर्नुपर्ने उजुरी हदम्याद गुज्रेको ५ वर्षपछि मात्र गरेको आधारमा पीडितकै भनाइ रहस्यमय देखिन्छ । यसैले यो घटना पीडित पीडक दुवै पक्षलाई उत्तिकै संवेदनशील ठानी अनुसन्धान गर्नुपर्ने देखिन्छ । निकट भविष्यमा प्रहरी अनुसन्धानले नै यसलाई उजागार गराउने नै छ । राजीखुसीको सम्बन्धलाई बलात्कारमा परिणत गराउने, वास्तविक बलात्कारलाई होइन भनी ढाकछोप गर्ने प्रवृत्तिले गर्दा बलात्कारका हरेक घटनालाई विभिन्न कोणबाट हेर्नुपर्ने भएको छ । हाम्रो सामाजिक वातावरण पनि आपराधिक पवृत्तिविरुद्ध दृढ नबन्दा उल्टै बलात्कारी प्रोत्साहित हुँदै आएका छन् ।

अपराधलाई विशुद्ध अपराधकै नजरले नहेर्ने प्रवृत्ति बढ्दै आएकाले यसैको कारण पीडितले झन् पीडित बन्नुपर्ने, कसुरदारले उन्मुक्ति पाउने अवस्थाले राज्यलाई नै चुनौती दिएको छ । तथापि, बलात्कारको घटना सार्वजनिक हुनासाथ समाजमा देखापर्ने पीडित र पीडक दुवै पक्षको मास गतिविधिले छानबिनमा दबाब दिएको देखिए पनि कारबाही नै गराउने वा छुटाउने उद्देश्यमा होइन केवल औपाचारिकताकै निम्ति मास गतिविधि देखिने गरेको छ । यसो हुनुको मुख्य कारण पनि अपराधीप्रति कठोर बन्नुपर्ने राज्य नै अपराधीप्रति लचिलो हुनु तथा त्यस्तै राजनैतिक वातावरणको प्रभावले समाज प्रभावित बन्नु हो । अधिकांश बलात्कारका मुद्दा उत्थान हुँदा चिन्ता र चासो दिने समाज, सत्ता शक्तिको प्रभावमा क्रमशः निस्तेज बन्दै अन्ततः बलात्कारै होइन भन्ने अवस्थामा पुग्छ । बलात्कारका अधिकांश घटनामा देखिने मुख्य चुनौती नै यही हो ।

दृष्टान्तको निम्ति यस अघिकै अत्यधिक चर्चामा ल्याइएको कलाकार पल शाह सम्बद्ध बलात्कार अन्ततः बलात्कार होइन भन्ने अवस्थामा पुग्यो । चलचित्रकर्मी पल शाहलाई कारबाहीको दायरामा ल्याउने भनी सडकमा आवाज बुलन्द पार्ने समाज नै पछि ‘तैँचुप मैचुप’ भयो । पीडित युवती र उनकै बुबाले समेत अर्काको बहकाउमा परी उजुरी दिएको तर घटना भएको होइन भनी अदालतमा बयान फेरे । पीडित होस्टाइल गराइएको यो पछिल्लो दृष्टान्त हो । यस्तो गलत प्रवृत्ति नहटेसम्म यस्ता घटनाका पीडितले न्याय पाउने, पीडकले दण्ड सजाय पाउने अवस्था हुँदैन । घटना सार्वजनिक हुनासाथ पीडकलाई कठोर दण्ड सजाय दिलाउन पीडितको पक्षमा सडकमा देखापर्ने मासलाई सकारात्मक ठान्नुपर्दछ । बलात्कारमा मात्र होइन अधिकांश आपराधिक घटनामा मास प्रदर्शन नभए पीडकलाई कारबाही होइन मुद्दा नै दर्ता नहुने अवस्था देखापर्दै छ । अपराधविरूद्ध राज्य कठोर नभएको यो दृष्टान्त हो ।

अपराधीप्रति कठोर बन्नुपर्ने राज्य नै लचिलो हुनु र राजनीतिक वातावरणले समाज प्रभावित हुन जानुले बलात्कारका घटना मास गतिविधिमा रुमलिन पुगेका छन्

यदि अपराधीविरुद्ध राज्य कठोर बन्ने हो भने मास गतिविधिको आवश्यकै पर्दैन । कसुरदारलाई दण्डित गराउन राज्य आफैं सक्रिय बन्छ । तर, मुलुकको राजनैतिक वातावरण नै अपराधीप्रति नै लचिलो बन्दा मुद्दा दर्ता गर्न नै दबाब दिनुपर्ने, कसुरदार पक्राउ गर भन्नु पर्ने, दण्ड सजायगर भन्नुपर्ने अवस्था सिर्जना भएको छ । कतिपय सत्तासिन नेताले नै अपराधीलाई संरक्षण गरेको दृष्टान्त नभएका होइनन् । राज्यका काम जनहितकरभन्दा दलीय एवं गुटगत हितमा आकर्षित बन्दा राज्यप्रतिकै जनविश्वास खस्कँदै आएको छ । पीडितकै इज्जत र प्रतिष्ठाप्रतिको अघात भएकोले अन्य मुद्दाको तुलनामा बलात्कार अत्यधिक संवेदनशील मानिन्छ । यसैले घटना थाहा पाउने जोसुकैले पनि पीडितप्रति सहानुभूति राखी पीडक उपर कडा कारबाहीको माग गर्नु स्वाभाविक हो ।

पछिल्लो समयमा अधिकांश बलात्कार प्रारम्भमा चर्चित तर अन्त्यमा क्रमशः चर्चारहित बन्न पुग्छन् । यसको पछिल्लो दृष्टान्त चलचित्रकर्मी पल शाह सम्बद्ध बलात्कार हो । अनलाइन टिभी, प्रेस, गाउँसमाज, अधिकारकर्मी र नाता सम्बन्धका व्यक्ति एकत्रित भई बलात्कारीलाई दण्डसजाय दिलाउने उद्देश्यले स्वेच्छिक रूपमा सडकमा उत्रनु अस्वाभाविक होइन । यो अपराधविरुद्ध समाज एक भएको संकेत पनि हो । यसरी अपराधविरुद्ध एकत्रित हुने मास गतिविधिले अपराधीलाई दण्डित गराउन सरकारलाई दबाब दिन्छ । हाम्रो जस्तो अपराध संरक्षित समाजमा सडक मास आवश्यक पनि छ । तर, मुद्दा दर्ता भई कसुरदार पक्राउ परेपछि भने खबरदारी गर्दै आएको त्यही मासले आफ्नो दायित्व पूरा भएको ठानी वास्ता गर्दैन । अनुसन्धान सही तबरले भएको छ÷छैन ? अनुसन्धानको अवस्था, घटनाको पुस्ट्याइ गर्ने खालकै छ वा कमजोर छ तथा अपराधीप्रतिको सामाजिक दृष्टिकोण कस्तो छ ? भन्ने’bout पनि उत्तिकै चासो र खबरदारी हुँदैन । यदि अपराधीप्रति नै सरकार नरम बनेको अवस्थामा कसुरदारले फाइदा लिन सक्छ भन्ने कुरामा अन्तिमसम्म नै पीडित र अधिकारकर्मीले चासो दिइहरनुपर्छ ।

प्रारम्भमा अत्यन्त चर्चित बनाउने, कसुरदार पक्राउपछि सेलाउँदै जाने, अनुसन्धानको चरणमा पीडितभन्दा कसुरदार सक्रिय हुने, राज्यले घटनालाई अपराधको नजरलेभन्दा स्वार्थको नजरले हेर्ने, अनुसन्धानलाई सत्ता शक्तिले प्रभावित बनाउने, अन्ततः पीडित मात्र होइन पीडितकै परिवारका सदस्य नै पीडककै प्रभावमा परी बलात्कार नभएको अरूको करकापमा परी उजुरी दिएको भनी आफ्नै इज्जत र प्रतिष्ठाप्रति नै सम्झौता गर्न पुग्छन् । पीडित नै अन्ततः पीडक पक्ष बन्न पुग्नु लज्जास्पद मात्र होइन समाजकै अपमान हो । पछिल्लो समयमा सिँगो समाज र पीडितलाई नै पीडकले खेलौना बनाउँदै आएको पछिल्लो दृष्टान्त पल शाह प्रकरणको बलात्कार हो । तथापि, यो प्रकरण अझैसम्म अदालती प्रक्रियामै रहेको हुँदा पीडकले उन्मुक्ति पाउन सक्ने अवस्था छैन किनकि पीडितलाई होस्टायल गरे पनि घटना सम्बद्ध तथ्यगत प्रमाण होस्टायल गराउने सामथ्र्य कसैमा हुँदैन । बहकाउमा लागेर उजुरी दिने पछि कसुरदारकै पक्षमा लाग्ने पीडितलाई सामाजिक बहिष्कार गर्नुपर्दछ ।

कन्सलटेन्सी सञ्चालक मनोज पाण्डे प्रकरणको पछिल्लो घटनामा विद्यमान कानुनी आधारअनुसार हदम्याद गुज्रेका कारण कारबाही हुने सम्भावना देखिँदैन । पीडित युवतीकै भनाइअनुसार मास दबाबकै भरमा हालको लागि मानव बेचबिखन तथा ओसारपसारको प्रकृतिसँग घटना मेल खाने देखिएको कारण मुद्दा दर्ता भएको छ तर पुष्टि हुने सम्भावना न्यून छ । हदम्यादको हकमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा जहिलेसुकै लागे पनि यो मुद्दाको हदम्याद स्वदेशमै रहेको पीडित लक्षित नभै विदेश पु¥याइएको र लामो समयसम्म विदेशमै बिताएको व्यक्ति लक्षित हो भन्ने हामी सबैले बुझ्नुपर्छ । घटनापछि स्वदेशमै रहे बसेको पीडितले जहिले पनि उजुरी दिए लाग्छ भनी ढुक्कले बस्नुहुँदैन । किनकि, आपराधिक घटनामा पीडितको कथनमात्र सर्वोपरी हुँदैन । घटनालाई पुष्टि गर्ने आधार यथेष्ट हुनुपर्दछ । सबुद प्रमाणले नै अपराध यो व्यक्तिद्वारा यसरी भयो भनी देखाउने भएकाले जनुसुकै मुद्दाको पनि यथाशक्य चाँडो उजुरी दिइहाल्नुपर्दछ ।

आफैं दुविधामा पर्ने, घटना बढाइचढाइ गरी उजुरी दिने, प्रलोभन र प्रभावमा पर्ने पीडित सम्बद्ध घटना समयमै उजागर नहुँदा तनावपूर्ण बन्दै आएका छन्

मनोज पाण्डेले आफूलाई लेमोनेडमा बेहोस हुने औषधी ख्वाई बलात्कार गरेको पीडितले उल्लेख गरेकी छन् । तत्कालै उजुरी भएको भए लेमोनेडको भाँडो, बेहोस हुने कुन पदार्थ हो त्यसको भाँडो, होटल परिसरबाटै बरामद हुन सक्थ्यो । यसैगरी उनीहरू होटलको कति नम्बर कोठामा बसेका थिए, दुई जना मात्र थिए वा अरू पनि थिए, अरू भए को को थिए ? होटलको बुकिङ अभिलेख तथा के कति बजे उनीहरू होटलमा पुगेका हुन् सीसी टिभीको फुटेज रेकर्ड, रिसेप्सनका कर्मचारी र सुरक्षा गार्ड सबैसँग उतिखेरै कागज गरी प्रमाणको लागि बुझ्नुपर्दथ्यो ।

यसको अलावा होटल परिसरमा प्रवेश गर्नु पहिले उनीहरूलाई अन्तिमपटक चिनेको कोही भए निजसँग र नभए घरबाट उनीहरू कति बजे होटलतर्फ प्रस्थान गरे कुन बाटो हुँदै गए, कस्तो सवारी प्रयोग गरे, सवारीको प्रकार नम्बर प्लेट तथा चालक भए ऊसँग समेत घटना पुष्टि हुने कागज गरिनुपर्दथ्यो । उनीहरूले प्रयोग गरेको सवारीमार्गको सीसीटीभी फुटेजको रेकर्ड यथाशीघ्र चेक गर्नुपर्दथ्यो । जसले मानव बेचबिखन तथा ओसारपसार भएको प्रमाणित गर्दछ ।

आठ वर्ष पहिलेको घटनामा घटना पुष्टि हुने यी आधारभूत तथ्य फेला पर्ने सम्भावना न्यून छ । यसैले जुनसुकै आपराधिक घटनामा हदम्याद छ भनेर उजुरी दिन ढिलाइ गर्नु मुद्दाको प्रमाण आफैंले गुमाउनु हो भन्ने कुरा सबैले बुझ्नुपर्दछ । युवतीको कथात्मक बयानले मात्र घटना प्रमाणित गर्दैन । उल्टै आशंकाको घेरामा पीडितलाई राखी अनुसन्धान गर्नुपर्ने अवस्था आउँछ ।

मास गतिविधिकै दबाबमा बलात्कारको हदम्याद परिवर्तन गर्ने प्रसंग चलिरहेको छ । संसद्मा प्रवेश गरिसकेको यो विषय’bout अन्तिम निर्णयकर्ता संसद् नै हो । तथापि, घटनाको संवेदनशीलता, सबुद गुम्न सक्ने अवस्था तथा पीडित नै पीडकको पक्षधर बन्ने क्रममा विशेष घटनालाई आधार मानी हदम्याद मात्र बढाउने, समयमै उजुरी नदिने अवस्था मुद्दाको महत्वपूर्ण आधार हुन सक्दैन । संक्षेपमा भन्ने हो भने बलात्कारको मुद्दा त अहिले राजनैतिक मुद्दामा परिणत भइसकेको छ । अन्तिम अवस्थामा आएर पीडित र उसकै परिवारले बलात्कार भएको होइन भनी बकपत्र गर्ने कसुरदारलाई नै साथ दिने अवस्था देखिए कसुरदारलाई हुने दण्ड सजाय बराबरै पीडितलाई दण्ड सजाय गर्नुपर्दछ । यसतर्फ राज्य सजग बन्नुपर्ने भएको छ । अन्यथा, सिंगो समाज मात्र होइन राज्य नै पीडितको कठपुतली बन्नुपर्ने अवस्थाको अन्त्य हुँदैन । बलात्कार सन्दर्भमा देखिएको यो संवेदनशील पक्ष हो ।

यदि सत्ता शक्तिको प्रभावमा नपर्ने, विशुद्ध अपराधीलाई कारबाही गराउने मानसिकताका वास्तविक पीडितले घटना भएको केही घन्टामै उजुरी दिन्छन् । यो अवस्थामा पीडक रंगेहात पक्राउ पर्न सक्छ । पीडित र पीडकको शरीरबाट घटना प्रमाणित गर्ने यथेष्ट सबुद बरामद हुन सक्छ । मौकामा प्राप्त भएको सबुद कसैले पनि निष्क्रिय बनाउन नसक्ने भएकोले त्यसैको आधारमा कसुरदारलाई कारबाही हुन्छ । बलात्कारीलाई समाजले प्रश्रय दिएसम्म पीडितले न्याय पाउँदैन । आफैं दुविधामा पर्ने, घटना बढी चढाउ गरी उजुर दिने, प्रलोभन र प्रभावमा पर्ने पीडित सम्बद्ध घटना समयमै उजागर नहुँदा तनावपूर्ण बन्दै आएका छन् । यसतर्फ सबैले सचेत बन्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 551 times, 1 visits today)

epaper

ताजा समाचार

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा