युद्ध समुन्द्रपार, हाम्रो ढुकुटीमा प्रहार

आफ्नो भान्साघरमा दैनिक प्रयोग हुने चिनी, गहुँ, तेल, दाल, मसला, ग्यास आदि कहाँबाट आउँछ भन्ने थाहै नपाई वर्षौदेखि उपभोग गर्दै आएका कतिपय गृहिणीहरू पहिलोपटक झस्केका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य दिन दुई गुणा अनि रात चार गुणा वृद्धि भएसँगै कतिपय गृहिणीले अहिलेसम्म नसुनेका राष्ट्रको नाम पहिलोपटक सुनेका छन् । विशेषतः पूर्वी युरोपका प्रमुख दुई राष्ट्र रुस र युक्रेनबीच चलेको युद्धले विश्वव्यापी मूल्य वृद्धि र इन्धन संकट निम्त्याएको छ । यस असहज परिस्थितिको सामना युद्धमा होमिएका मुलुकका नागरिकले मात्र नभई विश्वका सबैजसो मुलुकका नागरिकले गरिरहेका छन् । अहिले विश्वव्यापीकरणको युगमा कुनै एक मुलुकमा हुने आर्थिक, सामाजिक तथा राजनैतिक उतारचढावको अन्य मुलुकमा सामान्य असर पर्नु स्वाभाविक नै हो । तर, पनि, सयौं माइल टाढा रहेका र निकट सम्बन्ध पनि नरहेका देशमा भएको द्वन्द्वले कुनै मुलुकका बासिन्दाको भान्छाघरमै प्रहार गर्नुलाई भने सामान्य मान्न सकिँदैन । यही असामान्य परिस्थितिबाट गुज्रिरहेका मुलुकको सूचीमा पर्ने दक्षिण एसियाली मुलुकमध्ये नेपाल पनि एक हो ।

सयौं माइल टाढा रहेका र निकट सम्बन्ध पनि नरहेका देशमा भएको द्वन्द्वले कुनै देशका वासिन्दाको भान्छाघरमै प्रहार गर्नुलाई भने सामान्य मान्न सकिँदैन


नेपाल प्राकृतिक संसाधनका दृष्टिले सम्पन्न भनिए पनि केही स्रोतहरूबाहेक अन्यलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकेको अवस्था छैन । दैनिक प्रयोग हुने वस्तुदेखि विकास निर्माणका लागि आवश्यक पर्ने सामानको धेरै हिस्सा आयतमै निर्भर देखिन्छ । विशेषतः पेट्रोलियम पदार्थमा हामी शतप्रतिशत नै आयातमा निर्भर छांै । रुस–युक्रेन युद्धले पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रूपमा आकासिँदै गएपछि नेपाल जस्ता परनिर्भर अर्थतन्त्र भएका मुलुक यसबाट बढी प्रभावित भएका छन् । एकातर्फ वस्तु तथा सेवाहरू उत्पादन र वितरणका लागि आवश्यक पर्ने इन्धनको मूल्य वृद्धिले बजार महँगिएको छ । अर्कोतर्फ बजारमा आपूर्ति कम हुनु र यह िमौकामा व्यापारीले आफू खुसी मूल्य बढाएपछि यसको प्रत्यक्ष असर सर्वसाधारण जनताको भान्छाघरमा परेको छ । पछिल्लो समय खाना पकाउने एलपी ग्यासमा भएको मूल्य वृद्धिले यसमा झन् समस्या थपिदिएको छ ।

विश्वबजारमा रुस ठूलो परिमाणमा तेल र ग्यास कारोबार गर्ने राष्ट्रमध्ये एक हो । युद्ध सुरु हुनुआघि एक दिनमा अन्तर्राष्ट्रिय बजारमा ५५ लाख ब्यारेल तेल रुसले आपूर्ति गर्दथ्यो । त्यो भनेको विश्वआपूर्तिको १२ प्रतिशतभन्दा बढी हो । रुस र युक्रेनबीच जारी युद्धका कारण पछिल्ला केही महिनामा आपूर्तिमा असहजताका कारणले विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । बजारमा कच्चा तेलको मूल्य ८ वर्षकै उच्च बिन्दुमा पुगेको जनाइएको छ  । २०७८ साल साउनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५६ डलर आसपास रहेकामा चैत मसान्तसम्म आउँदा यो १०८ डलर आसपास रहन पुग्यो । अहिले प्रतिब्यारेल १ सय २० देखि १ सय २२ डलरसम्ममा कारोबार भइरहेको छ । आफैंले इन्धन उत्पादन नगर्ने मुलुकका निम्ति बढेको मूल्य स्विकार्नुको अर्को विकल्प छैन । नेपालले भारतको इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा उक्त कर्पोरेसनबाट प्राप्त मूल्य सूची उच्चदरले बढेको देखिन्छ । पेट्रोलमा प्रतिलिटर ५५, डिजेलमा प्रतिलिटर ६५, मट्टीतेलमा ४५, हवाई इन्धनमा ६२ र खाना पकाउने एलपी ग्यासमा ३ सयभन्दा बढी रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब ५५ करोडको सामान आयात हुँदा पेट्रोलियम पदार्थ मात्र २ खर्ब १८ अर्ब ३५ करोडको भित्रिएकोे तथ्यांक छ  । यो कुल आयातको १४ दशमलव ८८ प्रतिशत हो । भन्सार विभागको तथ्यांकअनुसार आयात हुने वस्तुमध्ये पहिलो नम्बरमै पेट्रोलियम पदार्थ पर्छ । जेठ महिनामा मात्र सरकारले तीनपटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपालको आन्तरिक बजारमा पेट्रोलियम पदार्थमा समायोजन भएको मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ सय ७० पुगेको छ भने डिजल र मट्टितेलको मूल्य १ सय ५३ रुपैयाँ प्रतिलिटर पुगेको छ, खान पकाउने एलपी ग्यासको मूल्य १८ सय रुपैयाँ तिर्नु परेको छ । पछिल्लो समायोजनपछि पनि निगमलाई करिब ४ अर्ब रुपैयाँ घाटा हुने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै प्रभावित आफ्नो वित्तीय स्वास्थ्य व्यवस्थापन गर्न निगमले विभिन्न निकायबाट ऋणका लागि आह्वान गरेको छ । यसरी धुवाँमा लगानी गर्न राज्यकोषबाट अर्बाैं रुपैयाँ बाहिरिने क्रम रोकिएको छैन ।

देशभित्रकै आन्तरिक उत्पादन र स्रोतसाधन परिचालनलाई पहिलो प्राथमिकतामा राखी नीति तथा योजना बनाई अर्थतन्त्रलाई आत्मनिर्भर तर्फ लाने प्रयास गर्नुपर्छ


रुस र युक्रेनको द्वन्द्वले पेट्रोलियम पदार्थमा मात्र नभई अन्य दैनिक प्रयोग हुने घरायसी वस्तु तथा सेवामा समेत नराम्ररी प्रभाव पारेको छ । रुसको आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनबाट कच्चा पदार्थ आउन बन्द भएका कारण नेपालका तेल उत्पादन गर्ने उद्योग प्रभावित भएका छन् । नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक पर्ने करिब ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ भने अन्य रुसलगायतका देशबाट आयात हुन्छ । सूर्यमुखी र तोरीको दाना युक्रेन र रुसबाट आयात गरी नेपालका तेल उद्योगले प्रयोग गर्छन् । गत आर्थिक वर्षमा युक्रेनबाट १७ अर्ब रुपैयाँभन्दा बढीको भटमास, कच्चा तोरी र सनफ्लावर तेलको कच्चा पदार्थ र रुसबाट २ अर्ब ४० करोड रुपैयाँभन्दा केही बढी रकम बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । तर, अहिले युद्धका कारण नेपालमा तोरी, सनफ्लावरको दानालगायतका सामान आयात हुन नसक्दा बजारमा खाने तेलसहित सबै वस्तुहरूको मूल्य वृद्धि भएको छ । छिमेकी मुलुक भारतले समेत गहुँ र चिनीको निर्यातमा कडाई गरेसँगै यसको सहजतामा समेत आँच आउने अनुमान गरिएको छ ।

केही समय पहिले राष्ट्र बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदनलाई आधार मान्ने हो भने गत चैत महिनामा मुलुकको वार्षिक उपभोक्ता मूल्य वृद्धिदर औसत ७ दशमलव २८ प्रतिशत छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चैतको मूल्य वृद्धिदर ४ दशमलव १८ प्रतिशत बिन्दुले बढी हो । यसमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य वृद्धिदर ७ दशमलव ४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि ७ दशमलव १८ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार २०७७ साल चैतको तुलनामा गत चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्य वृद्धि सबैभन्दा धेरै २८ दशमलव ३६ प्रतिशत बढेको छ । यस्तै, दुग्धपदार्थ तथा अन्डाको ११ दशमलव ५६, दाल तथा गेडागुडीको १० दशमलव ५३ र सूर्तीजन्य पदार्थको ८ दशमलव ९१ प्रतिशतले बढेको छ । सोही अवधिमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य वृद्धिदर सबैभन्दा बढी २० दशमलव १६ प्रतिशत छ । शिक्षाको ८ दशमलव ७९ र विविध वस्तु तथा सेवाका मूल्य वृद्धिदर ८ दशमलव १७ प्रतिशत छ । यसबाट हामी सजिलै अनुमान लगाउन सकिन्छ कि नेपाली जनताको दैनिकी दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ ।

रुस–युक्रेन युद्धका कारण निम्तिएको परिस्थिति र अन्य विविध कारणले नेपाली मुद्राको दिनप्रतिदिन अवमूल्यन हुँदा नेपालमा डलर हालसम्मकै बलियो भएको अर्थविद्ले बताएका छन् । यसले गर्दा आयातीत सामानमा पहिलेभन्दा धेरै खर्च गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकसँग हाल करिब ९ अर्ब जति मात्र अमेरिकी डलर सञ्चित छ जुन आहिलेको बजार मूल्यमा करिब ६–७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बताइएको छ । २०७८ असार मसान्तको तुलनामा यो १७ प्रतिशतको गिरावट हो । एकातिर विदेशी मुद्रा सञ्चितिमा आएको असन्तुलन र अर्कोतर्फ बढ्दो शोधनान्तर र व्यापार घाटालगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा रहेको भनिएका बेला निरन्तरको मूल्य वृद्धि थप चुनौतीका रूपमा देखिएको छ । यसको समयमै उचित तवरले सम्बोधन गर्नुपर्ने जरूरी छ ।

कृषिप्रधान मुलुकका नामले चिनिए पनि अधिकांस कृषिजन्य वस्तु अन्य मुलुकबाट आयात गरेको पाइन्छ । देशमा कृषि विकास’bout ठुलै चर्चा भए पनि अपेक्षित लाभ उठाउन सकेको अवस्था छैन । कृषिमा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य हरेक नीति तथा कार्ययोजनामा उल्लेख गरिए पनि कार्यान्वयन पक्ष फितलो हुँदा अहिले राज्यको ढुकुटीबाट अर्बौ रुपैयाँ बाहिरिन पुगेको छ । अर्कोतर्फ कृषिप्रधान मुलुकका जनताले कृषिजन्य वस्तुहरू चर्को मूल्यमा बाहिरी मुलुकबाट आयात गरी उपभोग गर्नु परेको छ । यसैगरी, देशमा जलविद्युत्को प्रचुर सम्भावना भए पनि अहिलेसम्म ऊर्जा स्रोतका रूपमा पेट्रोलियम पदार्थमै निर्भर रहिरहनुले कुनै पनि समय अर्थतन्त्रमा दुर्घटना ल्याउन सक्छ । यसको गतिलो उदाहरण छिमेकी मुलुक श्रीलंकाको आर्थिक संकटलाई लिन सकिन्छ ।
तसर्थ, देशभित्रकै आन्तरिक उत्पादन र स्रोतसाधनको परिचालनलाई पहिलो प्राथमिकतामा राखी नीति तथा योजना बनाउनुपर्नेछ । अर्थतन्त्रलाई परनिर्भर नभई आत्मनिर्भरतर्फ लाने प्रयास गर्नुपर्ने आवश्यकता छ ।
(लेखक अर्थशास्त्र विषयका प्राध्यापक हुन्)

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी