काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी मुद्राको सञ्चितिमा देखिएको संकटपूर्ण अवस्थाबाट पार पाउन भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी वस्तुहरूको आयातमा कडाइ गरे पनि आयात रोकिएको छैन ।
विलासिताका वस्तुलाई त पूर्ण रूपमा भित्रिनै नदिने नीति लिएको सरकार प्रयासभन्दा विपरीत चालू आर्थिक वर्ष २०७८÷७९ को बितेको ११ महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेको ११ महिना गत जेठ मसान्तसम्मको तथ्यांक विभिन्न देशबाट नेपाल भित्रिने वस्तुको आयातको अवस्था यस्तो देखिएको हो । विभागको तथ्यांकअनुसार सो अवधिमा आयातको अवस्था गत आवको तुलनामा २७ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
११ महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु भित्रियो
यो तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा अहिलेसम्म आयात नियन्त्रणका लागि सरकारका विभिन्न निकायबाट भएका प्रयास नै विफल भएको पाइएको सम्बन्धित सरोकारवालाले बताएका छन् । उनीहरूले यसलाई सरकारी अकर्मण्यतासमेत भनेका छन् ।
दैनिक उपभोग्य वस्तुदेखि देशको हरेक क्षेत्र आयातमै निर्भर भएर मुलुकको ढुकुटी नै रित्तिएर वैदेशिक मुद्रा सञ्चितिको चरम संकटबाट पार पाउन नेपाल राष्ट्र बैंकले यसअघि दुई पटक सूचना जारी गरेर विभिन्न वस्तुको आयातमा कडाइ गरेको थियो ।
यसैगरी, उद्योग मन्त्रालयले पनि आयात नियन्त्रणका लागि विभिन्न दस वस्तुको सूची नै राजपत्रमा प्रकाशन गरेर त्यस्ता वस्तु नेपाल भिœयाउन प्रतिबन्ध नै लगाए पनि अझै आयात घट्नुको साटो उल्टै बढ्दै गएको देखिएकाले आफूहरूलाई अचम्म लागेको भनाइ छ । यसअघि सरकारले गरेको अनेक प्रयासभन्दा बाहिर गएर दैनिक आयात बढ्नु सरकारकै कमजोरी भएको सम्बन्धित सरोकारवालाको दाबी छ ।
भन्सार विभागले जानकारी गराएअनुसार चालू आवको बितेको ११ महिनाको अवधिमा नेपालले विभिन्न देशबाट कुल १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको विदेशी वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले जम्मा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात गरेको थियो ।
विभागका अनुसार सो अवधिमा करिब ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय गाडी नेपाल भित्रिएको छ । सो अवधिमा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्यांकअनुसार १ हजार ७ सय ४ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आवमा विद्युतीय सवारीसाधनको आयातमा ७ सय प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को एघार महिनाको अवधिमा जम्मा २ सय १३ विद्युतीय गाडी आयात भएका थिए ।
विभागका अनुसार यो अवधिमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका छन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएका छन् ।
यसैगरी, यूकेबाट १०० देखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २०० किलोवाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२, जापानबाट ७८, युकेबाट चार गाडी नेपाल आएका छन् । युकेबाट २००देखि ३०० किलोवाट क्षमताका चार र यूकेबाटै ३०० क्षमताभन्दा माथिका दुई विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
गत वैशाखमा न्यून मात्रामा विद्युतीय गाडी भिœयाइएकामा जेठमा वृद्धि भएको छ । गत वैशाखको तुलनामा जेठमा मात्रै १५३ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । वैशाखमा ७८ मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।
५ अर्ब रुपैयाँ बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म १ हजार ७ सय ४ विद्युतीय गाडी नेपाल भित्रिँदा ५ अर्ब ५ करोड १६ लाख १३ हजार रुपैयाँ बाहिरएको थियो । यसरी भन्सार नाकाबाट भित्रिएका विद्युतीय गाडी आयातबाट सरकारले १ अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व संकलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ ।
यस अवधिमा तेल आयातको अवस्था पनि बढेको छ । यसरी वृद्धि भएको आयातसँगै राजस्वसमेत वृद्धि भएको विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार गत वैशाख महिनामा यस्ता आयातबाट राजस्व संकलनमा कमी आएको देखिए पनि पुनः जेठ महिनामा राजस्व संकलन वृद्धि भएको छ ।
गत वैशाखसम्म ३४ अर्ब ३५ करोड ८ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जेठ महिनामा ४१ अर्ब १८ करोड ५३ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । एक महिनामा यस्ता वस्तु आयातबाट राजस्व संकलन १९ दशमलव ८२ प्रतिशतले बढेको छ ।
गत वैशाख महिनाको तुलनामा जेठ महिनामा मात्रै ६ अर्ब ८३ करोड ४५ लाख १९ हजार रुपैयाँ संकलन भएको देखिएको छ । फागुन महिनामा मात्रै ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएकोमा चैत महिनामा ३८ अर्ब २४ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । त्यसैगरी, गत महिनाको तुलनामा चैत महिनामा १ अर्ब ८ करोड ४१ लाख २१ हजार रुपैयाँले राजस्व संकलनमा कमी आएको छ । गत माघ महिनामा ३६ अर्ब ७ करोड र गत पुस महिनामा ४० अर्ब २७ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो ।
यसैगरी, नेपालले चालू आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालू आवमा ५३ दशमलब ३ प्रतिशतले निर्यातमा वृद्धि भएको देखिएको छ ।
भन्सार विभागका अनुसार निर्यात पनि हाल सम्मकै उच्च देखिएको छ । ११ महिनाको तथ्यांकअनुसार कुल ११ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो आवको सोही अवधिको तुलनामा निर्यात ५३ दशमलव ३ प्रतिशतले बढी हो ।






