स्वर्ण जित्नेलाई मासिक भत्ता

काठमाडौं । अर्काे महिना गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा बाग्मती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले स्वर्ण जितेमा मासिक भत्ता दिने घोषणा गरेको छ । गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कार्तिकसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । जसमा ३६ खेल समावेश छन् । बाग्मती प्रदेशले ३६ वटै खेलमा भाग लिने निर्णय यसअघि नै गरिसकेको छ । बाग्मतीले ४५ दिन खेलाडीलाई बन्दप्रशिक्षणमा राखेको बताएको छ । बाग्मती प्रदेशबाट ७ सय ९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

बाग्मदी प्रदेश युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा स्वर्ण पदक विजेतालाई मासिक ६ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । नवौंमा स्वर्ण जित्ने खेलाडीले दसौं राष्ट्रिय खेलकुदसम्म भत्ता पाउने बताइएको छ ।

‘नवौंमा स्वर्ण पदक जित्ने हाम्रा खेलाडीलाई दसौं राष्ट्रिय खेलकुदको अगाडिसम्म भत्ता उपलब्ध गराउनेछौं । समग्र खेलकुदमा नै यो महत्वपूर्ण घोषणा हो ।’ उनले जिकिर गरे । बाग्मती प्रदेशले भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, पौडी र ब्याडमिन्टन खेललाई प्राथमिकतामा राखेको छ ।

प्रदेश खेलकुद विकास परिषद् बाग्मतीका सदस्यसचिव सूर्यलाल भण्डारीले खेलहरूको प्राथमिकता निर्धारण गरेर ९ खेलका स्वर्ण विजेता खेलाडीलाई भत्ता उपलब्ध गराउन सुरुवात गर्न लागेको बताए । उनले खेल र खेलाडीको दायर बढाउँदै लग्ने बताएका छन् । उनले भने, ‘यो सुरुवात मात्र हो । खेल र खेलाडीको दायरा बिस्तारै बढाउँदै लैजाने लक्ष्य छ । बिस्तारै अन्य प्रदेशले पनि खेलाडीको प्रोत्साहनमा ध्यान दिनेछन् भन्ने विश्वास लिएका छौं ।’

बाग्मती प्रदेशले २० देखि २५ भदौभित्र सबै खेलका खेलाडी छनोट गरी राष्ट्रिय खेलकुद आयोजक समितिलाई बुझाउने योजनासमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदको सहभागितालाई ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने अनुमानित बजेट प्रदेशले सार्वजनिक गरेको छ । प्रदेश सरकारले त्यसका लागि ५ करोड रकम विनियोजन गरेको मन्त्री ढकालले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताका लागि ४९ लाख रुपैयाँ निकासा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौं आइपुग्ने