काठमाडौं । आगामी ११ कात्तिकमा रिलिज हुने भनिएको चलचित्र ‘महापुरुष’को ट्रेलर सोमबार रिलिज गरिएको छ । पारिवारिक तथा सामाजिक कथामा यो चलचित्र आधारित रहेको ट्रेलरमा उल्लेख छ ।
यसमा दुई पुस्ता बुबा र छोराको प्रेम प्रसँग प्रस्तुत गरिएको छ । छोराको लागि बुहारी खोज्दै गरेका पीताले छोराको भन्दा आफ्नो विवाह गर्न चाहेको कथा सिनेमामा भएको ट्रेलरले देखाउँछ । एकल जेष्ठ नागरिकले सहाराको लागि पनि बुढेसकालमा अर्को विवाह गर्छन भन्ने कथा ट्रेलर मार्फत प्रस्तुत छ ।
माया, घृणा, संवेदना, हुटहुटी, रोमान्स र विद्रोह समेटिएको यो फिल्मको ट्रेलर ३ मिनेट ८ सेकेण्डको छ । यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
निर्देशक प्रदीप भट्टराईले नै यो चलचित्र लेखेका हुन् । फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री, कार्यकारी निर्मातामा रविन्द्र सिंह बानियाँ रहेका छन् ।
यो चलचित्रमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, सिरु विष्ट मुख्य भूमिकामा छन् । चार वर्षपछि महजोडी फेरी यो चलचित्रबाट सिनेमा बृत्तमा फर्किएका हुन् ।






