काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसिरहेका आमनेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले अब दैनिक चारवटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ चैत बिहीबारबाट दैनिक चारपटक फरकफरक चलचित्र देखाउन लागेको स्टेसन म्यानेजर विष्णु सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीका अनुसार हरेक दिन बिहान ६ः३० बजे, बिहान १० बजे, दिउसो १ः३० बजे र राति ८ बजे ‘टिभी फिल्मी’ले चलचित्र देखाउनेछ । इन्टरनेटको खपत बढेकाले स्लो हुनुका साथै भिडियो स्ट्रिमिङ साइटले भिडियो क्वालिटीसमेत घटाइरहेको अवस्थामा चलचित्र हेर्ने दर्शकहरुका लागि टिभी फिल्मी उपयुक्त माध्यम हुने विश्वाससमेत सुवेदीले लिएका छन् ।
केही दिनमा लकडाउन खुले पनि २०७७ वैशाख १८ गतेसम्म चलचित्र हलहरू बन्द रहने भएकाले दर्शकको मनोरञ्जन प्राप्तिको अधिकारको सम्मान गर्दै यस्तो निर्णय लिइएको समेत स्टेसन म्यानेजर सुवेदीले जनाएका छन् । सुवेदीका अनुसार स्याटेलाइट प्रसारणमा रहेको देशको एक मात्र फिल्मी च्यानल ‘टिभी फिल्मी’ केही समयमै एचडी प्रसारणमा अपग्रेड हुँदै छ ।






