उदयपुर । वर्षासँगै आएको पहिरोले गर्दा मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट कटारी खण्डको सडक अबरुद्ध भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका– ६ मौवासी पुल नजिकै शुक्रवार बिहान माथिबाट झरेको पहिरोले सडक पुरिदा बाटो अबरुद्ध भएको हो ।
पहिरोपछि नेपालटार कटारी खण्डको यातायात शुक्रवार बिहानैदेखि अबरुद्ध हुन पुगेको छ । मौवासी खोला पुल नजिक माथिबाट एउटा सिङ्गै डाँडो खसेर सडकमा थुप्रिएकोले पहिरो पन्छाउन प्रयास भइ रहेको भए पनि निकै समय लाग्ने हुँदा सडक खुल्न समय लाग्ने गाईघाट दिक्तेल सडक योजना कार्यालयका प्रमुख डिइ गोपालप्रसाद खकुरेलले जानकारी दिए ।
सडकमा थुप्रिएको माटो, लेदो, रुख र ढुङुगाहरु पन्छाउन योजना कार्यालयबाट जेसिबी, एक्स्काभेटर लगायतका मेसिनहरू पहिरो गएको स्थानमा पुगि सकेको तर निरन्तरको वर्षातले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । पानी परि रहेकाले पहिरो हटाउन समस्या भएको जनाएका छन । त्यहाँ करिब ७० मिटर भन्दा बढी पहिरोले पुरिएको जनाएका छन ।
पहिरो हटाउन सशस्त्र र नेपाल प्रहरी लगायतका सुरक्षा निकायको समेत सहयोग लिए जतिसक्दो चाँडो अवरुद्ध सडक सुचारु गराउने प्रयास भई रहेको डिई खकुरेलले जानकारी दिए । गत १० दिन अघि साउन २८ गते आईतवार पनि सोही स्थानमा पहिरो गएको थियो । पहिरो पन्छाएर २ दिन पछि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।






