स्याङ्जा । स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।
२६ दिन अघि कतारबाट आएका चापाकोटका एक पुरुषको श्रीमतीलाई एकहप्तादेखि ज्वरो आउने तथा खोकी लाग्ने समस्या देखिएपछि उपचारका लागि वालिङ स्थित गह्रौ अस्पताल आएका थिए । ज्वरोको चाप अत्यन्तै देखिएपछि दम्पती तथा बुवाको स्वाबको नमूना परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाईएको प्रजिअ कुरुम्बाङ्ले बताए ।
यस अगाडी फेदिखोला र पुतलीबजारका गरी ३ जनाकोे स्वाब परिक्षणका लागि पठाइएको थियो । उनीहरुको स्वाब परिक्षणपछि नेगेटिभ देखिएको कुरुम्बाङले बताए । जिल्लामा अहिले स्वाब परिक्षण गर्नेको संख्या ७ पुगेको छ ।
वालिङका पुरुष विदेशबाट संक्रमित ब्यक्ति सवार जहाजमा आएका बताईएको छ । हाल उनकोे स्वास्थ्य अवस्था सामान्य रहेको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताए । उनलाई अहिले पनि होम क्वारेन्टाईनमा राखिएको छ भने चापाकोटका व्याक्तिहरु वालिङमा रहेको आईसोलेसनमा राखेर निगरानी गरिएको नगर प्रमुख खाँणले जानकारी दिए ।






