कोरोनाविरुद्धको लडाइँमा योगदान गरौं : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले योगदान गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्न सबै देशवासीमा आग्रह गरेकी छन् । शुक्रबार साँझ देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।

‘यस महामारीविरुद्धको लडाइँमा आ–आफ्नो तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई हार्दिक आह्वान गर्दछु ।’ सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मानव जातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको तर नेपालमा आन्तरिक संक्रमण नदेखिए पनि संसारका सबैजसो मुलुकमा फैलिरहेको महामारीबाट नेपाल अछुतो रहन नसकेको भनेकी छन् ।

‘अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन, बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था छ, सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन,’ सम्बोधनमा राष्ट्रपतिले भनेकी छन् । उनले सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनुपर्ने बताएकी छन् ।

‘कुनै भावनामा बगेर नभई रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु,’ राष्ट्रपतिले सम्बोधनका क्रममा भनेकी छन् ।

संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर सरकारले देशमा लकडाउन गरिएकाले दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?