टेलिभिजनमा हास्य शृंखलाका पुरानै एपिसोड

काठमाडौं । विभिन्न टेलिभिजनबाट प्रसारण हुँदै अधिकांश हास्य शृंखलाका नयाँ एपिसोड केही साताबाट आएका छैनन् । टेलिभिजनमा पुरानै एपिसोड प्रदर्शन गर्न थालिएको छ । मुलुकमा कोरोनाको संक्रमण फैलिएपछि लकडाउनका कारण घरमा बसेका दर्शकले अहिले टेलिभिजनबाट पनि यस्ता हास्य सिरियलका पुरानै एपिसोड हेर्नुपर्ने बाध्यता छ ।

नेपाल टेलिभिजनबाट हरेक बिहीबार प्रसारण हुँदै आउने हास्य सिरियल भद्रगोलको गत साताबाट नयाँ शृंखला आउन सकेको छैन । पाँच वर्षदेखि यो शृंखला प्रायः हरेक साता सो टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । भद्रगोलका निर्देशक तथा कलाकार ज्योति काफ्लेले राजधानीसँग यसै विषयमा भने, ‘कोरोना भाइरसको संक्रमण विश्वव्यापी बढेपछि हामीलाई दुई साताअघि नै भद्रगोलको सुटिङ गर्न धिताल गाउँ छिर्न गाउँलेले रोक लगाएका छन् । त्यसैले, अब कोरोनाको संक्रमण महामारी हटेपछि मात्र नयाँ शृंखला सुटिङ गर्न सक्ने अवस्था छ ।’ घरमै क्वारेन्टाइनमा बसेका निर्देशक कलाकार ज्योतिले आफ्ना कतिपय प्राविधिक गाउँ फर्किएका र कलाकारहरू पनि घरमै क्वारेन्टाइनको अवस्थामा रहेको बताए । यस्तो बेला घरमै बसेर नयाँ शृंखलाका लागि कथा सिर्जना र लेखनको काम मात्र गरिरहेको पनि यी कलाकारले जानकारी गराए । मुलुक लकडाउनका कारण नयाँ शृंखला बनाउन नसक्ने भएकाले अहिलेलाई पुरानै शृंखला हेरेर चित्त बुझाउन पनि उनले दर्शकलाई अनुरोध गरेका छन् ।

नेपाल टेलिभिजनबाटै प्रसारण हुँदै आएका कमेडी शृंखला ‘सक्किगो नि’को अबस्था पनि भद्रगोलको जस्तै छ । यो हास्य शृंखलाको नयाँ एपिसोड टेलिभिजनबाट प्रसारण नभएको दुई साता बित्यो । काभ्रेको पाँचखाल क्षेत्रमा छायांकन हुँदै आएको यो शृंखलाको छायांकन पनि दुई साताअघि नै कोरोना संन्त्रासका कारण त्यो क्षेत्रमा नगर्न गाउँलेले अनुरोध गरेका छन् ।

कोरोना संक्रमणको त्रासका कारण आफूहरूले दुई साता अगाडि नै ‘सक्किगो नि’को छायांकन रोकेको यसका निर्देशक एवं कलाकार दीपक आचार्य (काकु)ले राजधानीलाई बताए, ‘यस्तो बेलामा हामीले नै घरभित्र रहेर सेल्फ क्वारेन्टाइनको सन्देश आमदर्शकलाई दिन आवश्ययक छ । त्यसैले, सरकारको निर्देशनलाई पालना गर्दै आत्मरक्षाका लागि हामी १० दिनदेखि ‘सक्किगो नि’को केही काम पनि नगरी घरभित्रै सुरक्षित बसेका छौं ।’ अहिले संसार नै कारोना भाइरस संक्रमणको महामारीमा परेको बेला आफूहरूले पनि सोही कारण ‘सक्किगो नि’को नयाँ एपिसोड बनाउन नसकेको निर्देशक एवं कलाकार दीपकले बताए । टिभीमा दुई साताबाट पुरानै एपिसोड पुनः प्रसारण गर्नुको कारण पनि लकडाउन नै भएको निर्देशक आचार्यले स्पष्ट पारे । अब लकडाउन खुलेपछि मात्र नयाँ एपिसोड आफूहरूले ल्याउने भएकाले त्यतिबेलासम्मको लागि धैर्य गर्न उनले दर्शकलाई अनुरोध गरेका छन् ।

हास्य टेलिशृंखला मेरी बास्सैको पनि अहिलेको अवस्थामा अर्को साताबाट नयाँ एपिसोड आउन अवस्था नरहेका यो शृंखलाका कलाकार पल्पसा डंगोलले बताइन्, ‘हामीले यसअघि दुई एपिसोड खिचेकै कारण यो सातासम्म दर्शकले मेरी बास्सैको नयाँ एपिसोड हेर्न पाउनुभएको छ । अब लकडाउन खुलेपछि मात्र नयाँ एपिसोड खिचेर हामी दर्शकमाझ ल्याउनेछौं ।’ नत्र भने दर्शकले पुरानै शृंखला हेर्नुपर्ने अवस्था आउने पनि उनले बताइन् ।

मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र उनको टिमका हास्य टेली शृंखला हल्का रमाइलोको नयाँ एपिसोड पनि दुई सातायता टेलिभिजनमा प्रसारण हुन सकेको छैन । परिवारसँग गृह क्वारेन्टाइनमा बसेका मरिचमानले पनि लकडाउन नखुलेसम्म नयाँ एपिसोड ल्याउन गाह्रो हुने बताएका छन् । २९ भागसम्म प्रसारण भइसकेको यो शृंखलाको पुरानै एपिसोडहरू हेर्नुपर्ने अवस्था रहेको पनि उनको कथन छ । यस्त केही केही हास्य शृंखलाको पनि अहिले कोरोनाकै कारण नयाँ एपिसोड आउन सकेका छैनन् ।

नौ वर्षयता नियमित प्रसारण हुँदै आएको हास्यव्यंग्य टोली सिरियलको नयाँ एपिसोड शुक्रबार बेलुका प्रसारण हुन सकेन । यो शृंखलाका निर्देशक विष्णु सापकोटा यतिबेला आफ्नो घर हेटौंडामा परिवारसँग होम क्वारेन्टाइनमा छन् ।

कान्तिपुर टिभीबाट आउने आफ्नो हास्य रिसियल हर्के हल्दारको नयाँ शृंखला अब लकडाउन नखुलेसम्म नआउने उनले बताए, ‘बुबाको श्रद्धा भएकाले एकैसाथ दुई भाग खिचेर टिभीलाई बुझाई दुई साताअघि घर आएको थिए । अहिलेसम्म घरमै छु र यो साताबाट अब टेलिभिजनमा पुरानै शृंखला प्रदर्शन गर्नुपर्ने अवस्था छ । ‘हर्के हल्दार’मा दोहोरो भूमिकानिर्वाह गर्दै आएका विष्णुले अहिले नयाँ शृंखला सुटिङ गर्न नसक्ने अवस्था रहेकाले नयाँ शृंखला आउन अब केही समय कुर्नुपर्ने अनुरोध दर्शकलाई गरेका छन् ।

हर्के हल्दार मात्र हैन, विभिन्न टेलिभिजनबाट प्रसारण हुँदैै आएका सबैजसो हास्य टेली सिरियलको नयाँ एपिसोड प्रसारण हुन छाडेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

सुक्खा पहिरोले म्याग्दीको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते