काठमाडौं । सरकारले अति आवश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योग चल्न दिने निर्णय गरेको छ भने किसानलाई खेती गर्न नरोक्ने बताएको छ । तर, उद्योगले कामदारहरूलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर उद्योगभित्रै राख्ने व्यवस्था गर्नुपर्ने छ ।
यसका लागि स्थानीय सरकारले सहजीकण गर्नेछ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी अहिले गहुँ बाली काटने र तरकारी खेती लगाउने समय भएको हुँदा किसानलाई बालीनाली काट्न र रोप्नेबेला भएकाले किसानलाई अवरोध नगर्ने निर्णय बैठकले गरेको हो ।
किसानले स्थानीय श्रमिक वा परिवारको सदस्य प्रयोग गरेर निर्वाध रूपमा कृषि कार्य गर्न पाउनेछन् । तर, बैठकले किसानलाई कृषि कार्यका लागि बाहिरी श्रमिक नल्याउन आग्रह गरेको छ ।
तामाकोसी, मेलम्चीलगायत ठूला आयोजनाले पनि बाहिरी आवागमन रोकेर आफूसँगै भएका कामदारमार्फत काम सुचारु गर्न सक्ने निर्णय बैठकले गरेको छ । सरकारले ती ठूला आयोजनासँग अहिले ठूलो संख्यामा कामदार रहेको भन्दै बाहिरी आवगमनलाई रोकेर काम गर्न सक्ने बताएको हो ।







