वातावरण संरक्षणमा स्थानीय तह उदासीन

काठमाडौं । वातावरण संरक्षणमा स्थानीय तह उदासीन हुँदा विश्व मञ्चमा नेपालले गरेका प्रतिबद्धता अलपत्र पर्ने भएका छन् । दिगो विकास लक्ष्य २०३० मा नेपालले जनाएका प्रतिबद्धता हासिल गर्न कठिनाइ हुने संकेत गर्दै वातावरणविद्हरूले सम्भावित विपद् र वातावरणीय संकटप्रति ध्यानाकर्षण गराएका छन् ।

दिगो विकास लक्ष्यदेखि वातावरणमैत्री स्थानीय सरकार रणनीति अलपत्र

स्थानीय तहहरूले आन्तरिक आम्दानीको लोभमा जथाभाबी ढुंगागिट्टी उत्खनन र निकासीमा लोभ गर्दा थेग्नै नसक्ने वातावरणीय संकट निम्त्याउन लागेको देखिएको छ । आन्तरिक आम्दानी वृद्धिका लागि बाढी सफा गर्ने नाममा खोला किनार तथा बगरको ढुंगागिट्टी उत्खनन गर्दा वातावरणीय संकट निम्तिन सक्ने वातावरणविद्हरूले चेतावनी दिएका छन् ।

महालेखापरीक्षकको कार्यालयले गर्ने वातावरणसम्बन्धी कार्यमूलक लेखा परीक्षणको प्रतिवेदनसमेत कार्यान्वयन नगरेको भन्दै २०८३ को प्रतिवेदनमा समेत गम्भीर खतरा औँल्याएको छ । स्थानीय तहहरूले औद्योगिक फोहोर व्यवस्थापनमा कानुनको पालनामा कमजोरी भएको, औद्योगिक प्रतिष्ठानहरूले उत्पादन गर्ने फोहोर र फोहोरपानीको व्यवस्थापन आफैंले गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरै उद्योगले तोकिएका मापदण्ड पालना नगरेकोलगायतका विषयमा महालेखाले स्थानीय तहलाई जिम्मेवार बनाएको छ ।

स्थानीय तहले वातावरण संरक्षणका सवालमा शहरमा फोहोरमैला र गाउँमा विपद् व्यवस्थापनका विषयमा मात्रै चासो दिने गरेको जनप्रतिनिधिहरू नै बताउँछन् । स्थानीय तहले उद्योगबाट निस्कने फोहोरपानी नदी, नाला तथा सार्वजनिक ढल प्रणालीमा मिसिँदा वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर पर्ने जोखिम रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

महालेखा परीक्षकको कार्यालयले स्थानीय तहमार्फत फोहोरमैला व्यवस्थापनका लागि साझेदार छनौट र शुल्क निर्धारणमा समेत चासो देखाएको छ । विभिन्न स्थानीय तहहरूको फोहोरमैला संकलन तथा व्यवस्थापनसम्बन्धी र ल्याण्डफिल साइटको विषयमा समेत टिप्पणी उठाइएको छ । महालेखाले स्रोतमै फोहोर वर्गीकरण, पुनः प्रयोग, पुनः चक्रीय प्रयोग र प्रशोधनको व्यवस्था पर्याप्तरूपमा कार्यान्वयन नभएको देखिएको औँल्याएको छ ।

महालेखा परीक्षकको कार्यमूलक तथा विशेष लेखापरीक्षण प्रतिवेदन २०८२ ले औद्योगिक प्रतिष्ठानबाट निस्कने फोहोर व्यवस्थापनलाई वातावरणीय जोखिमका रूपमा औँल्याउँदै कानुनी व्यवस्था, अनुगमन प्रणाली र प्रशोधन संरचनामा गम्भीर कमजोरी रहेको निष्कर्ष निकाले पनि अझै सुधार नभएको २०८३ को प्रतिवेदनमार्फत औँल्याइएको छ ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन २०८३ ले भने वातावरण, दिगो विकास र सार्वजनिक स्रोत व्यवस्थापनका क्षेत्रमा अझै संरचनागत कमजोरी कायम रहेको देखाएको छ । प्रतिवेदनले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारी निकायबीच समन्वय, तथ्यांक व्यवस्थापन, सूचना प्रणाली र कार्यान्वयन संयन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता दोहो¥याएको छ ।

दिगो विकास लक्ष्य २०३० र वातावरणमैत्री स्थानीय सरकार रणनीति अलपत्र
सरकारले दिगो विकास लक्ष्य २०३० का महत्वपूर्ण लक्ष्य र सूचकमा वातावरणका सवालहरू राखेपनि स्थानीय तहहरूले त्यसको आन्तरिकीकरण र कार्यान्वयन नगर्दा वातावरणमैत्री स्थानीय सरकार बनाउने संघीय सरकारको प्रतिबद्धता अलपत्र बन्ने देखिएको छ । संघीय सरकारले २०७८ सालमै दिगो विकास लक्ष्य अनुरूप वातावरणमैत्री स्थानीय सरकार बनाउने प्रतिबद्धतासहित स्थानीय तहलाई आन्तरिक रणनीति र कार्यक्रम तय गर्न निर्देशन गरे पनि स्थानीय तहले अटेर गर्दै आएका छन् । स्थानीय तहले विशेषगरी ढुंगागिट्टी उत्खनन तथा निकासीमा कर संकलन मार्फत आन्तरिक आम्दानी बढाउने लोभले यस्तो कमजोरी गरिरहेको हुनसक्ने विज्ञहरूले औँल्याएका छन् ।

नेपालले दिगो विकास लक्ष्यअन्तर्गत स्वच्छ पानी, सरसफाइ, दिगो शहर, जिम्मेवार उपभोग तथा उत्पादन र जलवायु कार्यजस्ता लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि वातावरणमैत्री स्थानीय सरकार रणनीति र कार्ययोजना नहुँदा प्रतिबद्धताहरू अलपत्र पर्ने खतरा बढेको हो । महालेखा परीक्षकले यस सम्बन्धमा स्थानीय तहले योजना निर्माण तथ्यांक व्यवस्थापन र कार्यान्वयन संरचनाको कमजोरीले लक्ष्य प्राप्तिमा चुनौती थपिएको जनाएको छ ।

स्थानीय तहहरूले जथाभाबी डोजर सञ्चालन तथा उत्खननजन्य उद्योगहरूलाई नियमन गर्ने, वातावरणीय मापदण्डअनुसार फोहोर तथा फोहोरपानी प्रशोधन गर्ने जस्ता मापदण्ड बनाउनुपर्ने औँल्याएको छ । महालेखाले वातावरण विभाग, उद्योग विभाग, स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयको अभाव भएको समेत औँल्याएको छ ।

२०८३ को प्रतिवेदनले के देखायो ?
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन २०८३ ले प्रत्यक्षरूपमा औद्योगिक फोहोर व्यवस्थापनको पुनः वातावरणीय लेखापरीक्षण नगरे पनि दिगो विकास लक्ष्य, सार्वजनिक स्रोत व्यवस्थापन र सूचना प्रणालीका क्षेत्रमा देखिएका कमजोरीमार्फत वातावरणीय शासनको अवस्था संकेत गरेको छ ।

प्रतिवेदनले दिगो विकास लक्ष्य हासिल गर्न संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र तथा गैरसरकारी संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरेको छ । त्यस्तै लक्ष्यअनुसार प्रगति मापन गर्न आवश्यक सूचकांक, तथ्यांक संकलन तथा एकीकृत सूचना प्रणालीको विकासमा कमजोरी रहेको औँल्याइएको छ ।

सरकारले हालै वायु स्वच्छता मापन यन्त्र जडान गर्ने कार्यक्रम राखे पनि विगतमा सोचेजस्तो सुधार हुन नसकेको देखिएको छ । प्रदूषण मापन, फोहोर उत्पादन, पुनर्चक्रण तथा उत्सर्जनसम्बन्धी भरपर्दो तथ्यांक नहुँदा नीति निर्माण र अनुगमन प्रभावकारी बन्न सकेको छैन ।

वातावरणविद्हरूका अनुसार औद्योगिक फोहोर व्यवस्थापन सुधार नगरी दिगो विकास लक्ष्यका वातावरणीय सूचक हासिल गर्न कठिन हुनेछ । विशेषगरी बागमती, विष्णुमती, मनोहरालगायतका काठमाडौं उपत्यकाका नदी खोला, तिनाउ, सेती, कोशी र नारायणीलगायतका नदी प्रणालीमा मिसिने औद्योगिक फोहोरपानी नियन्त्रण अहिले पनि प्रमुख चुनौती बनेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत