हाम्रो राजनीतिको भ्रष्टीकरण !

राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ । सतारूढ गठबन्धन भनिएको दलका तर्फबाट उम्मेदवारी दिएका १९ जना महानुभावमध्ये १८ जना र एक जना एमाले उम्मेदवार विजयी बनिसकेका छन् । राष्ट्रिय सभाको लोगो भिरेलगत्तै यी माननीयहरूको राष्ट्रिय झन्डाका लागि लबिइङ सुरु हुनेछ । आशा गरौं त्यसबेला बोल कबोल र लीलाम बढाबढको घिनलाग्दो तमासा सुरु हुनेछैन । यस्तो शंका व्यक्त गर्ने अवस्था हुनु भनेको आफैंमा उदेकलाग्दो विषय हो ।

मुलुकको शासन प्रणाली होस् वा एउटा सानो कम्पनीको ब्यवस्थापन नै किन नहोस्, कुनै निश्चित उद्देश्य प्राप्तिबाट निर्देशित हुन्छ वा हुनुपर्छ । निर्दिष्ट लक्ष प्राप्तिका लागि नीति वा रणनीति बन्छ । राजनीति पनि उद्देश्य प्राप्तिबाटै निर्दिष्ट हुनुपर्ने हो । राजनीतिक व्यवस्था र यसका सम्पूर्ण अंग–प्रत्यंगको आचार व्यवहार त्यही निर्दिष्ट उद्देश्यलाई केन्द्रमा राखेर हुने हो । स्पष्ट बुझिने शब्दमा भन्ने हो भने राजनीतिक अंग–प्रत्यंगका सञ्चालक भनेको राजनीतिकर्मी नै हुन् र तिनीहरूको प्रत्येक आचार व्यवहारको केन्द्रबिन्दु पनि त्यही निर्दिष्ट उद्देश्य नै हुनुपर्ने हो ।

आजका मितिमा कुनै पनि दलका कुनै राजनीतिकर्मीलाई ‘तिमीले गर्दै गरेको काम के उद्देश्य प्राप्तिका लागि हो ?’ भन्ने प्रश्न गर्ने हो भने सायद जवाफ पाउन मुस्किल होला । अलि चतुरले चाहिँ आलंकारिक शब्दले भरिएको आदर्श वाक्य बोल्लान् पनि ! कतिपय कथित ‘दलित, पीडित, उत्पीडित’का पक्षधरले ‘समाजवाद उन्मुख व्यवस्था कायम गर्न’ भन्नेखाले सुन्दैमा भारी लाग्ने वाक्यांशसमेत बोल्लान् ! अलि सोझा र इमानदारले चाहिँ सोझो ‘मन्त्री बन्न’ भन्ने जवाफ देलान् ! अब मन्त्री किन बन्ने भन्ने प्रश्न गरियो भने स्पष्ट र चित्तबुझ्दो जवाफ पाइने सम्भावना अत्यन्तै कम छ ।

यस आलेखको सुरुवातमै ‘बोल कबोल’ र ‘लीलाम बढाबढ’को कुरा गरियो । राजनीतिक पद प्राप्तिका लागि एउटा निर्माण कम्पनीको ठेकेदारले झैं बोलकबोल प्रथामा जान तयार किन हुन्छ ? समस्या यहीँनेर हो । कुनै पनि ब्यापारीलाई मुनाफाका लागि लगानी गर्नुपर्छ भन्ने राम्ररी थाहा छ । लगानीको जोखिमका ’boutमा आफ्नो बरकतले भ्याएसम्म मूल्यांकन गरेपश्चात् जोखिमभन्दा सम्भावित प्रतिफल उच्च देखिएपछि जोखिम मोलेर लगानी गर्ने हो । हाम्रा राजनीतिकर्मीमा पनि ठ्याक्कै यही प्रवृत्ति देखिन्छ । पद प्रदान गर्ने र प्राप्त गर्ने दुवैथरी आफ्नो व्यक्तिगत लगानीको उच्चतम प्रतिफल कमाइ गर्ने कर्ममा व्यस्त देखिन्छन् । सबैलाई सोलोडोलो एउटै डालोमा राख्न नमिले पनि हाम्रा ९० प्रतिशतभन्दा बढी सानाठूला सबैखाले राजनीतिकर्मीहरूमा यो मनोवृत्ति व्याप्त छ भन्दा धेरै अत्युक्ति नहोला । लगानीको स्वरूपचाहिँ विभिन्नखाले व्यक्तिमा फरकफरक पनि देखिन्छ । स्पष्ट नगदमा आर्थिक लगानी गर्ने एउटा ठूलो वर्ग विकसित भइसकेको छ । वर्षौंको जेलनेल र कष्ट नै लगानी हो भन्नेहरू पनि थोरै छन् । यस्तोखाले मनस्थिति बोकेकाहरूलाई धेरै आलोचना गर्न पनि नमिल्ला । तर, यी जेलनेल भोगेकाहरूसमेत अब थोरै नै भए पनि नगद प्रवाह गर्नुपर्छ भन्ने मानसिकतामा पुगिसकेका छन् । जेजस्तो लगानी गरे पनि वा लगानीको बनावट फरकफरक भए पनि प्रतिफलचाहिँ व्यक्तिगत मुनाफा नगदमै हुनुपर्छ भन्ने मानसिकताचाहिँ लगभग स्थापित नै भइसकेको छ । समस्याको जड नै यही हो । लगानी गर्नेले व्यक्तिगत प्रतिफल खोज्ने हो भन्ने कुरो राजनीतिक क्षेत्रमा पनि स्थापित हुनु वास्तवमा राजनीतिक क्षेत्रको हदैसम्मको भ्रष्टीकरण हो ।

राजनीतिलाई व्यवसाय मान्ने प्रवृत्ति मौलाउँदै जाँदा देखापर्ने विकृतिको रूप यस्तै नै हो । व्यक्तिगत लाभहानीको सूक्ष्म विश्लेषण अनि त्यसैका आधारमा लगानीको निर्णय व्यवसायमा चल्छ । राजनीतिमा व्यापारिक हरहिसाबको रणनीति हावी हुनुहुन्न । हुन त यसो भनिँदा ‘सन्यासी बन्न राजनीति गरिँदैन’ भन्ने कथित व्यावहारिक वाक्यांश व्यक्त गरिने सम्भावना प्रवल छ । तर, राजनीति भनेको गणितीय दृष्टिकोणले व्यक्तिगत लाभ हुनेगरी प्रतिफलको आशा गर्ने विधा होइन भन्ने बुझ्नु जरुरी छ । राजनीतिले पनि लगानी खोज्छ । त्यो लगानी श्रम, कष्ट र बलिदानका रूपमा पनि हुनसक्छ वा त्यसले व्यक्तिगत सम्पत्तिको लगानीसमेत खोज्छ । तर, आदर्श राजनीतिले समाजका लागि लाभको अपेक्षा गर्छ, व्यक्तिका लागि होइन । त्यसकारण राजनीति एकप्रकारले निष्काम कर्म गर्नसक्ने सच्चा महात्माका लागि मात्र उपयुक्त पेसा हो । मूलतः राजनीति मुनाफा प्रेरित व्यवसाय हुनसक्दैन ।

तर, जतिसुकै चिच्याउँदा वा कराउँदा पनि राजनीति आज नाफामूलक व्यवसाय बनिसकेको छ । यो यथार्थ कटुसत्य हो । यस्तो परिवेश र परिप्रेक्ष्यमा आदर्शका कुरा गर्नु सायद मुर्खता ठहरिन्छ । यस्ता कुरा गर्नेलाई ‘आध्यात्मिक पागल’ वा ‘अव्यावहारिक’कै संज्ञा दिइएला । तर, आज मुलुकमा व्याप्त अव्यवस्था र विकृतिको मूल कारणचाहिँ राजनीतिको बदलिँदो परिभाषा नै हो । राजनीति गर्ने व्यक्तिले समाज हितका लागि निर्दिष्ट लक्ष्य प्राप्त गर्ने उद्देश्य राख्नुपर्नेमा आफ्नो वा परिवार अथवा सन्तानको हित गर्ने निहित उद्देश्य राख्ने र त्यस्तो उद्देश्य बोकेको व्यक्तिलाई समाजले पनि पछ्याउने र मान्यता दिने काम गरेपछि राष्ट्र अधोगतितर्फ नै लाग्ने हो । प्रश्न उठाउँदा वा कसैप्रति लक्षित गरेर चोरऔंला तेस्र्याउँदा बाँकी तीन औंला आफैंतर्फ फर्किएको तथ्य नबिर्सनु ठीक होला ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी