काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै कम्पनीले यस सातादेखि नै अनलाइनबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु गर्न लागेको हो । लकडाउनको समय उपभोक्तालाई खाद्यान्न खरिदका लागि असहज नहोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।
खाद्य कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले अनलाइन होम डेलिभरी सेवा सञ्चालनका लागि आन्तरिक परीक्षण भइरहेको बताए । उनले भने, ‘हप्ता दिनदेखि अनलाइनबाट होम डेलिभरी गर्न कम्पनीले अभ्यास गरिरहेको छ ।’ आन्तरिक परीक्षण सफलपछि यो सातादेखि नै सेवा सुरु हुन्छ । खनालले भने, ‘पहिलो चरणमा रिङरोडभित्र मात्र अनलाइनबाट होम डेलिभरी हुने । त्यसपछि उपभोक्ताको मागअनुसार रिङरोड बाहिर पनि जाने योजना रहेको छ । उनले भने, ‘तर अहिले भने रिङरोडभित्र मात्र डेलिभरी हुन्छ । कम्पनीसँग भएको मोबाइल भ्यानबाट होम डेलिभरी गर्ने तयारी छ । अहिले हामीसँग भएको खाद्यवस्तु चामल जिरा मसिनो, बास्मती, जापानी चामल र कर्णालीका गेडागुडी छन् ।
उनले ५ लाख रुपैयाँ लगानीमा स्टिम गरेको चामल, रहरको दाल र मुसुराको दाल थप्ने तयारी भएको बताए ।
पहिलो चरणमा रिङरोडभित्र मात्र अनलाइनबाट होम डेलिभरी गर्ने र त्यसपछि उपभोक्ताको मागअनुसार रिङरोड बाहिर पनि लैजाने योजना रहेको
स्टिम चामल पहिलोपटक बिक्री गर्ने तयारी गरेको उनले बताए । परीक्षणका लागि स्टिम चामल पहिलो चरणमा दुई ट्रक ल्याएर बिक्री गर्ने बताए । खाद्य कम्पनीले आफैं बित्तामोडमा तयार गरेको स्टिम चामल ढुवानी गरेर बिक्री गर्ने तयारी गरेको उनले बताए । उपभोक्ताको माग बढेपछि थप चामल ल्याएर बिक्री वितरण गर्ने खनालको भनाइ छ । नायब महाप्रबन्धक खनालका अनुसार लकडाउन अवधिसम्म होम डेलिभरी निःशुल्क हुनेछ । त्यसपछि भने उपभोक्ताको र दूरीका आधारमा शुल्क लिइने उनले बताए ।
खाद्य व्यापार कम्पनीका सूचना अधिकृत शर्मिला सुवेदीले अनलाइन होम डेलिभरीका लागि आन्तरीक परीक्षण तयारी भएको बताइन् । उनले भनिन्, ‘अनलाइन होम डेलिभरी सेवाका लागि हामीले हाम्रो कर्मचारीलाई प्रशिक्षण गराइराखेका छौं ।’ बुधबार साँझसम्म अनलाइन परीक्षण सफल भएपछि एउटा सूचना टाँसेर उपभोक्ताका लागि अनलाइन अर्डर गर्न सक्ने वेबसाइट पोर्टल निर्धारण गर्ने बताइन् ।
सूचना अधिकारी सुवेदीका अनुसार कम्पनीको अनलाइन सेवामार्फत सेवा लिन कम्तीमा २ हजार रुपैयाँसम्मको खाद्यान्न अर्डर गर्नुपर्नेछ । लकडाउनको अवधिभर रिङरोडभित्र निःशुल्क होम डेलिभरी गर्नेछ । उनले खाद्यान्न अर्डरका लागि नेपाल फुड डट जीओभी डट कम डट एनपी अनलाइन एप्स तयार भइसकेको बताइन् । यसलाई केही प्रक्रिया बाँकी रहेको हुँदा बुधबार साँझैसम्म सञ्चालनमा आउन सक्ने उनले बताइन् । उनले लकडाउन अवधिभर कम्पनीले बिक्री गर्दै आएको सबै सामानमा १० प्रतिशत छुट दिने उनले बताइन् ।






