‘परीक्षण, परीक्षण, परीक्षण’ खोइ ?

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन नसकेको पाइएको छ । देशभर २ हजार ३ सय ६६ जनाकोे कोरोना परीक्षण भएको छ । जबकि, १८ फागुनदेखि ९ चैतसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८० हजार ५ सय नेपाली स्वदेश फर्किएका थिए ।

कोरोना परीक्षणको दायरा अत्यन्तै न्यून भएको भन्दै सरकारले ‘कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ’ मा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ ।

२३ जनवरीमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भइसकेको थियो । पुष्टि भएयता कोरोना परीक्षण संख्यालाई आधार मान्दा दैनिक २७ जनाको कोरोना परीक्षण भएको देखिन्छ । यही हिसाबले नमुना परीक्षण गर्दै जाने हो भने ३ हजार ५ सय जनाको कोरोना परीक्षण गर्न मात्रै अझै तीन महिना लाग्ने देखिन्छ । पछिल्ला दिनमा दैनिक देशभर सय बढीको नमुना परीक्षण गरिँदै आइए पनि परीक्षणको दायरा बढाउन नसकेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

विश्व स्वास्थ्य संगठनले समेत ‘परीक्षण, परीक्षण, परीक्षण’ भनेको छ ।’ त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्रा.डा. निरञ्जन पराजुलीले ‘फिबर क्लिनिक’मा आएका सबैको कोरोना परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् ।

– चैतमा भित्रिएका थिए ८० हजार ५ सय नेपाली

– १३४ जना आइसोलेसनमा

– संक्रमित आठ जनाको स्वास्थ्य सामान्य बन्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चैतभित्र विदेशबाट आएकाहरूको नमुना संकलन गरिने योजना रहेको बताए । उनले भने, ‘चैतमा विदेशबाट आएकाहरूको पनि कोरोना परीक्षण गर्ने सरकारको तयारी छ । क्वारेन्टाइनमा बसेकाहरूको नमुना संकलन गर्ने कार्य जारी छ ।’

हाल प्रदेश १ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवा, कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालवाट कोरोना परीक्षण हुँदै आएको छ । केन्द्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा बसेका छन् । कैलाली, कञ्चनपुरमा ¥यापिड डायग्नोस्टिक कीट र स्वाब दुवै तरिकाले नमुना संकलन भएको छ । कञ्चनपुर र कैलालीमा १ सय ९८ वटा नमुना संकलन भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । जुम्ला र अछाममा पनि क्वारेन्टाइनमा बसेका ८ सय जनाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

काठमाडौं उपत्यकाभित्र १२ जना र उपत्यकाबाहिर १ सय २२ जना आइसोलेसनमा उपचाररत छन् । कोरोना पोजेटिभ रिपोर्ट आएका आठ जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छैनन् । सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन आफ्नो तर्फबाट तयारीलाई तीव्र पारेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

विपदमा कुन मन्त्रालयको तयारी के छ ? सरकार भन्छ : उच्च सतर्कता अपनाइएको छ