बाढीपीडितका लागि चौदण्डीगढी नगरपालिकाद्वारा ४४ लाख सहयोग

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विद्यालयका शिक्षकहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ४४ लाख ६२ हजार ५ सय ५२ रुपैयाँ १८ पैसा सहयोग गरेका छन् ।

नगरपालिकाले विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रत्यक्ष–परोक्ष रूपमा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनस्र्थापना र सहज जनजीवनको कामना गरेको छ ।

बाढीका कारण घर, परिवार, सम्पत्ति तथा जीवनयापनको आधार गुमाएका नागरिकको पीडा अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै नगरपालिकाले विपद्को पीडा कुनै एक भूगोल वा समुदायको मात्र नभई सिंगो राष्ट्रको साझा पीडा भएको जनाएको छ ।

विपद्को समयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, विभिन्न संघ–संस्था तथा आम नागरिकले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्नेमा नगरपालिकाले जोड दिएको छ । संकटका बेला सहानुभूतिसँगै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि सहयोग, सहकार्य तथा एकताबद्ध प्रयास आवश्यक रहेको नगरपालिकाको भनाइ छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाको निर्णय अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४४ लाख ६२ हजार ५ सय ५२ रुपैयाँ १८ पैसा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख कालुमान लामाले बताए ।

विपदमा परेका नागरिकको पीडामा साथ, ऐक्यबद्धता र मानवीय संवेदना प्रकट गर्ने उद्देश्यले गरिएको नगर प्रमुख लामाले उल्लेख गरे । नगरपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उनीहरूको सुरक्षित पुनस्र्थापनाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट गरिएको सहयोगले विपद्का बेला स्थानीय तहबाट सामूहिक रूपमा राहत तथा पुनस्र्थापनाका लागि योगदान गर्ने प्रयासलाई समेत प्रतिबिम्बित गरेको नगरपालिकाले जनाएको छ ।

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । बाढीबाट प्रभावित परिवारहरू अहिले कठिन परिस्थितिबाट गुज्रि रहेको उल्लेख गर्दै नगर प्रमुख लामाले मानवीय संवेदनाका आधारमा पीडितको साथमा उभिन सबैलाई अपिल गरेका हुन् । उनले आफूले पनि आङ्खनो तर्फबाट राहत, उद्धार तथा पुनःस्थापनाका लागि सानो सहयोग गर्ने प्रयास गरेको बताएका छन् ।

नगर प्रमुख लामाले विपद्को यस दुःखद् घडीमा सरकारी निकाय, विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा आम नागरिकले आ–आङ्खनो क्षमता अनुसार सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । तत्काल राहतसँगै बाढीबाट विस्थापित तथा प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि पनि सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

उनले देशभित्र रहेका नेपालीसँगै वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई समेत बाढीपीडितको सहयोगमा जुट्न आग्रह गरेका छन् । विपद्को समयमा एकले अर्कालाई सहयोग गर्नु नेपाली समाजको मानवीय संस्कार भएको भन्दै लामाले पीडित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

दोहोरो अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार