संक्रमितसँगै यात्रा गरेका यात्रु खोज्दै प्रहरी

काठमाडौं । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरू छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरूले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग गरेको पाइएको छ ।

केन्द्रीय प्रहरी डेस्कका अनुसार ४ चैतमा कतार एयरको क्यूआर ६५२ उडानमार्फत १ सय ५८ यात्रु नेपाल आएका थिए । तीमध्ये १ सय ५६ जना प्रहरी सम्पर्कमा आएका छन् भने अझै दुई यात्रु सम्पर्क बाहिर छन् ।

यस्तै, ६ चैतमा यूएईबाट एयर अरेबियाको जी ९५३७ उडानमार्फत १ सय ६९ जना नेपाल आएकामा १ सय ६७ जना सम्पर्कमा तथा दुई जना सम्पर्क बाहिर रहेको प्रहरी बताउँछ ।

यस्तै, ७ चैतमा भारतीय विमान विस्तारामार्फत १ सय ३० जना यात्रु काठमाडौं उत्रिएकामा १ सय १४ यात्रु सम्पर्कमा रहेको तथा १६ यात्रु अझै सम्पर्कमा नभेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी, ४ चैतमा नै कतार एयरलाइन्सको क्यूआर ६४४ विमानमार्फत १ सय ५३ यात्रु नेपाल आएकामा ९४ जना मात्रै सम्पर्कमा छन् । बाँकी ५९ जना भने अझै सम्पर्क बाहिर छन् । सोही विमानमार्फत आएका राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा पछिल्लोपटक संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, संक्रमितमध्ये केहीले स्वदेश आएपछि समेत आन्तरिक उडानमार्फत यात्रा गरेको र उनीहरू सवार विमानको पहिचान गरेर प्रहरीले खोजी गरिरहेको छ । जसमध्ये ४ चैतमा काठमाडौं पोखरा उडान भरेको यती एयरको विमानमा ५६ जना यात्रु सवार रहेकामा ५० जना यात्रु प्रहरी सम्पर्कमा आइसकेका छन् । सो विमानमा सवार ६ जना अझै सम्पर्क बाहिरै छन् ।

यसैगरी, ८ चैतमा काठमाडौं–नेपालगन्जको उडान भरेको बुद्ध एयरमा ७१ जना यात्रु रहेकामा ६५ यात्रु सम्पर्कमा रहेको तथा ६ यात्रुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीको केन्द्रीय डेस्कका अनुसार हालसम्म संक्रमित भएकाहरूले चार अन्तर्राष्ट्रिय र दुई आन्तरिक विमान प्रयोग गरिएको देखिएको हो । जसमा कुल ७ सय ३७ यात्रु सवार रहेकामा ६ सय ४६ जनालाई प्रहरीले सम्पर्कमा ल्याइसकेको दाबी गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले संक्रमितसँगैको उडानमा आएका धेरै यात्रु सम्पर्कमा रहेको र बाँकीलाई विभिन्न संयन्त्रमार्फत सम्पर्कमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

‘संक्रमितसँगैको उडानमा आएका धेरै यात्रु सम्पर्कमा आइसकेका छन् । बाँकीलाई विभिन्न संयन्त्रमार्फत सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ,’ प्रहरी प्रवक्ता जोशीले राजधानीसँग भने ।

प्रहरीले विदेशबाट आएर घरमा बसेकालाई समेत सम्पर्कमा आउन आग्रह गर्दै आइरहेको छ भने छिमेकमा कोही भए खबर गर्न सबैमा आग्रह गरेको छ ।

नेपालमा गत १० माघमा पहिलोपटक चीनको वुहानबाट फर्किएका एक ३२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । १७ माघमा पुनः परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसैगरी, १० चैतमा एक युवतीमा संक्रमण पुष्टि भएको थियो । उनी कतार हुँदै फ्रान्सबाट ४ चैतमा नेपाल आएकी थिइन् । १२ चैतमा तेस्रो संक्रमित भेटिएका थिए । उनी युनाइटेड अरब इमिरेट्स (यूएई) बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन् । उनी १० चैतमा शुक्रराज एयर अरबियाको फ्लाइट नम्बर जी९५३७ बाट यूएईको सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए ।

संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका धनगढीका ३४ वर्षीय पुरुष चौथो संक्रमित हुन् । १४ चैतमा संक्रमण पुष्टि भएका उनको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

बागलुङकी १९ वर्षीया युवती पाँचौं संक्रमित व्यक्ति हुन् । १५ चैतमा संक्रमणको पुष्टि भएकी उनी कतार एयरको क्यूआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । उनको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

४ चैतमा कतार एयरबाटै नेपाल आएकी बागलुङकी महिलामा २० चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी छैटौं संक्रमित हुन् । हाल उनको धौलागिरि अस्पतालमा उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
गत २० चैतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये एक जनामा अन्तर्राष्ट्रिय उडानबाट आउने आफन्तबाटै कोरोना सरेको पाइएको थियो ।

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा आरडीटी टेस्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । लगत्तै आरटी– पीसीआरमा दुई जनाको रिपोर्ट पोजेटिभ देखियो । ४ चैतमा बेलायतबाट फर्केका ५८ वर्षीय ती पुरुषको २ वैशाखमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १६ पुगेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार