दिक्तेल–चखेवा सडक खण्ड श्रमदानमार्फत मर्मत

कच्ची अवस्थामा रहेको बाँझेच्यानडाँडादेखि चखेवाभञ्ज्याङसम्मको दिक्तेल–चखेवा सडक खण्ड ।

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ दिक्तेल–चखेवा सडक खण्ड श्रमदानमार्फत मर्मत गरिएको छ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको हो ।

कच्ची अवस्थामा रहेको बाँझेच्यानडाँडादेखि चखेवाभञ्ज्याङसम्मको लगभग दश किलोमिटर लामो सडक खण्ड लगातार वर्षाका कारण क्षतिग्रस्त भई अवरुद्ध भएको थियो । स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायलगायतका विभिन्न पक्षहरूले दुई दिन लगाएर सडक मर्मत गरेका हुन् । प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ को नेतृत्वमा सडक मर्मत गरिएको हो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईका अनुसार, सर्वपक्षीय टोलीले दुई दिन लगाएर मर्मत गरेपछि सडक पुनः सञ्चालनमा आएको छ । मर्मत कार्यमा विभिन्न निकायहरूले सहयोग गरेका छन् । डिभिजन वन कार्यालय खोटाङ, सिँचाइ, स्वास्थ्य कार्यालय, हलेसी पेट्रोल पम्पलगायतले मेसिनरी औजारमा प्रयोग हुने इन्धन उपलब्ध गराएका थिए ।

यसैगरी, निर्माण व्यवसायी, साकेला गाउँपालिका, मध्यपहाडी लोकमार्ग, सडक डिभिजन कार्यालय लगायतले टिपर, डोजर, ट्याक्टर जस्ता उपकरणहरू उपलब्ध गराएका थिए । मर्मत कार्यले चाडपर्वको समयमा यातायात सुविधा सुचारु गर्न सहज भएको छ । गत असोज १२ गते आएको भीषण बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बगाएपछि पूर्वी तराईका जिल्लाहरूसँगको सिधा यातायात सेवा विच्छेद भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता