सुनसरीमा लकडाउन उल्लंघन गरी सवारी चलाउने अत्याधिक

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

इटहरी । प्रदेश १ को ठूलो जिल्लाका रुपमा चिनिने सुनसरीमा लकडाउन उल्लंघन गरी सवारी चलाउँनेको संख्या दिनानुदिन बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाउँन थालेको छ । विभिन्न बहाना बनाएर सवारी चलाउने बढेको भन्दै सुनसरी प्रहरी र प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले सवारी नियन्त्रणमा लिई कारबाही गर्नका लागि तीब्रता दिएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल भन्छन्, ‘लकडाउनको अवधिमा आजका दिनसम्म हामीले प्रदेश १ भरीबाट १ हजार ३ सय भन्दा बढी सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरिसकेका छौँ ।’ उनका अनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने सुनसरी रहेको छ । सुनसरीमा मोटरसाइकल र स्कुटी गरेर ४ सय ३७ वटा, अटो ट्याम्पु २८, ट्याक्टर ४ र साइकल ६२ वटा नियन्त्रणमा लिई कारबाही गरेको दाहालले जानकारी दिए ।

सुनसरीमा ५ सय ३१ वटा सवारीलाई कारबाही गरिदाँ झापामा भने जम्मा ३ सय ६ वटा सवारीलाई कारबाही गरिएको उनले बताए । झापामा मोटरसाइकल स्कुटर गरी २ सय ५८, अटो ट्याम्पु १०, ट्रिपर ट्रयाक्टर ८ र कार, जीप, बोलेरो ४ तथा अन्य विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिईएको छ ।

त्यस्तै, मोरङमा मोटरसाइकल स्कुटर १ सय ४३, अटो ट्याम्पो २, कार, जीप, बोलेरो ५ गरी जम्मा १ सय ५०, उदयपुरमा अटो ट्याम्पो १२, कार, जीप, बोलेरो १, मोटरसाइकल स्कुटर ४८ र साइकल ७१ गरी १ सय ३२ वटा सवारी नियन्त्रणमा लिएर कारबाही गरिएको एसपी दाहालले बताए । ‘यसअघि पक्राउ परेका सवारी साधनलाई सचेतना तथा कारबाही गरी हामीले फिर्ता दिएको अवस्था थियो,’ दाहालले भने, ‘४ दिन यता पक्राउ परेका सवारी साधन भने अब लकडाउन सकिएपछि मात्रै फिर्ता दिने छौँ ।’

प्रदेश १ कै सबैभन्दा बढी सवारी उल्लंघन गरेको सुनसरीमा यसअघि जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माले सडकमा निस्कने जो कोही भएपनि आँफूहरुले सिधै मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाउने चेतावनी दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

epaper

ताजा समाचार

के हात्तीले वर्षौँसम्म रिस राख्छ ?