तिहारमा ५० करोड रुपैयाँबराबरको फूलको व्यापार

काठमाडौं । यसपालिको तिहारमा लगभग ५० करोड रुपैयाँबराबरको फूलको माला बिक्री भएको छ ।

३ लाख माला विदेश निर्यात

फ्लोरिकल्चर एसोसिएसन नेपालसम्बन्धी पुष्प व्यवसायी दिलीप बाडेले यस वर्ष ४० लाख सयपत्री माला बिक्री भएको प्रारम्भिक अनुमान रहेको बताए । उनका अनुसार यस वर्ष सयपत्री फूल सालाखाला सय रुपैयाँका दरले ४० करोड रुपैयाँबराबरको व्यापार भएको हो ।

यसपटक सयपत्री फूल राम्रोसँग फक्रेका कारण लगभग सयपत्रीमा पनि आत्मनिर्भर देखिएको उनले बताए । उनका अनुसार मखमली फूलका ६ लाख माला बिक्री भएको छ ।

यस वर्ष मखमली जापान, कोरिया, अस्ट्रेलिया, अमेरिकालगायतका नेपाली भाषी अधिक रहेका देशमा निर्यात भएको तथ्यांक छ । एसोसिएसनका अनुसार २ लाख माला निर्यात भएको छ ।

यसैगरी साउदी अरब, युनाइटेड अरब इमिरेटलगायतका खाडी मुलुकमा पनि १० हजार माला निर्यात भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले १६ किसिमका रोगमुक्त भएको प्रमाण नगरेसम्म आयातमा रोक लगाएका कारण सयपत्रीको फूल विधिवत रूपमा आयात भने नभएको जनाइएको छ ।

यद्यपि, भन्सार छलेर २ लाख मालाजति चोरी निकासी भएर सयपत्री फूल भारतबाट आयात भएको अनुमान रहेको छ । यसपटक तिहारका लागि फूल यथेष्ट मात्रामा काठमाडौंलगायतका सहरी इलाकामा आइपुगेका कारण फूलको मूल्य भने बढेको थिएन ।

गत १०, ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण पुष्पखेतीमा समेत क्षति पु¥याएका कारण यथेष्ट मात्रामा फूल आयात नहुने अनुमान गरिएको थियो ।

फूल फूल्ने समयमा भएको अविरल वर्षाले पुष्पखेतीमा क्षति पुगेको र गत वर्षको तुलनामा फूलको उत्पादन कम भएका कारण मूल्य बढ्ने आँकलन गरिए पनि बजार सन्तुलित देखिएको थियो ।

गत वर्षजस्तै अधिक फूल फुलेर बाटोमै फाल्नुपर्ने हो कि भनेर अनुमान गरिएकामा भारतबाट आयात नभएका कारण फूल खेर नगएको अनुमान गरिएको छ । यस वर्षको वर्षालगायतका यावत कारणले प्रतिमाला ८० देखि ८५ रुपैयाँ पर्ने अनुमान गरिए पनि प्रतिमाला सालाखाला सय रुपैयाँमा बिक्री भएको थियो । गत वर्ष एउटा मालालाई ६५ देखि ७० रुपैयाँसम्म परेको थियो । यस वर्षकोे उत्पादनले अबदेखि फूल विदेशबाट आयात गर्नुनपर्ने देखिएको एसोसिएसनले उल्लेख गरेको छ ।

भक्तपुर गुण्डुका राम कार्कीले यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको र एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्दा घाटा परेको दुखेसो पोखे । प्रतिमाला मूल्य विगतको झैं यस वर्ष पनि २० देखि २५ रुपैयाँ नै रहेको बताए । आफूसँग किनेर लैजानेहरूले बढी नाफा खाने गरेको तर किसानलाई २५ रुपैयाँभन्दा बढी नदिने गरेको गुनासो उनको छ ।

अविरल वर्षाका कारण यसपटक करिब १५ करोड रुपैयाँको फूल नोक्सान भएको तथ्यांक रहेको छ । यद्यपि, सो नोक्सानीका बाबजुद पनि तिहारमा भने फूलको अभाव नभएको बताइएको छ ।

गत वर्षको तिहारमा ३३ लाख माला खपत भएकामा यसपटक ४५ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौं उपत्यकामा प्रयोग हुने गरेको छ । चितवनमा यस वर्ष ४० बिघा क्षेत्रफलमा करिब ३ लाख माला सयपत्री उत्पादन भएको थियो ।

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा विस्तार भइसकेको छ ।

नेपालमा अहिले व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । हाल ५२ जिल्लामा लगभग २ सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय हुने गरेको छ भने १ हजार १ सय ७४ भन्दा बढी पुष्प व्यवसायी संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

आर्थिक वर्ष २०७५–७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकामा आव २०७९–८० मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा आव २०८०–८१ मा १९ दशमलव ८६ प्रतिशतले वृद्धि भई ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

एसोसिएसनका अनुसार आव २०७५–७६ मा ६० करोड ५९ लाख रुपैयाँको फूल आयात भएको थियो भने आव २०७९–८० मा ६८ करोड १८ लाख रुपैयाँको आयात भएको थियो ।

यसैगरी, आव २०७५–७६ मा २३ करोड ७७ लाखको फूल निर्यात भएको थियो भने आव २०७९–८० मा ३३ करोड ६ लाख रुपैयाँको फूल निर्यात भएको थियो । भन्सार विभागको तथ्यांकनुसार गत आव २०८०–८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ भएको थियो भने आयाततर्फ २७ करोड ७९ लाख ५ हजार रुपैयाँको कारोबार रहेको छ ।

नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएको एसोसिएसनको तथ्यांक छ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी