वीरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्नु भन्दा पनि व्यापारीहरुको धान खरिद गरेको रहस्य खुलेको छ ।
किशानलाई आत्मनिर्भर बनाउन किसानले उत्पादन गरेको बाली बजार मूल्य भन्दा महंगो दरमा खरिद गर्ने संस्थाको रुपमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगंजले कमिशनको भरमा किशानको सट्टा व्यापरीको धान खरिद गरेको प्रमाण फेला परेको हो ।
कम्पनीले आर्थिक बर्ष २०७६/०७७ मा कुल २५ हजार क्विन्टल धान खरिद गर्नुपर्ने थियो । जय मध्ये मंसुरी ३४ क्विन्टल ५० केजी र सोना मंसुरी १९ हजार ९ सय ९९ क्विन्टल २० केजी धान खरिद गरिएको कम्पनीका प्रमुख नरनाथ अधिकारीले वताए ।
प्राप्त सुचना अनुसार खरिद गरिएको धान कुनै पनि किशानबाट प्रत्यक्ष खरिद नगरिएको र खरिद गरिएको धानमा प्रति क्विन्टल रु ५ सयका दरले कमिशन लिएको कम्पनी कै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । खरिद गर्ने तथ्यांकको रुपमा खडा गरिएको दर्ता रजिष्टरमा जे सुकै नाम उल्लेख गरिए पनि विभिन्न व्यापारीबाट खरिद गरिएको उनले वताए ।
पोखरियाका स्थित रहेको धर्मेन्द्र साहको गोला, बसन्तपुरको जयगुरुदेव गोला, चिल्झपटीका धान व्यापारी मंजु यादव, पोखरिया कै प्रेम साह लगायतका व्यापरीहरुबाट कम्पनीले धान खरिद गरेको कर्मचारी स्रोतले जनाएको छ ।
गत आर्थिक बर्ष २०७५/०७६ मा पनि कम्पनीले २५ हजार क्विन्टल खरिद गर्नुपर्नेमा लक्ष्य अनुसार नै धान खरिद गरेको देखाए पनि उक्त धान पर्सा र बाराको किशानबाट खरिद नगरी जुम्लाको किशानबाट खरिद गरेको तथ्यांकमा देखाइएको थियो ।
जुन कल्पना भन्दा बाहिरको बिषय भएपछि त्यहीका कर्मचारीले उक्त धान खरिदमा करोडौको भ्रष्टाचार भएको भनी राष्ट्रिय सतर्कता केन्द्र काठमाडाैंमा उजुरी दिएका थिए । उक्त उजरीको आधारमा शतर्कता केन्द्रले कम्पनीको शाखा कार्यालय वीरगंजबाट धान खरिद गरिएको कागजातहरु झिकाउदा जुम्लाको किशानहरुको किर्ते तथ्यांकदेखि व्यापक भ्रष्टाचार भएको प्रमाणित समेत गरेको थियो ।
स्थानिय कुनै पनि किशानको नाम उल्लेख गर्दा सहजै पहिचान गर्न सकिने भएको हुँदा कम्पनीका सुचना अधिकारी मुनीलाल कुशवाहाले जुम्लाको किशानहरुको किर्ते नामावली तयार गरेका थिए । उक्त तथ्यांकबाट पनि भ्रष्टाचार भएको सतर्कता केन्द्रले प्रमाणित गरिसकेको भए पनि अधिकारी कुशवाहाले आर्थिक चलखेल मार्फत हाल सम्म कारवाहीबाट जोगिएका छन् ।
किर्ते गर्नमा कृतिमानी हासिल गरेका कुशवाहाले फेरी थप किर्ते गरेको पुष्टी भएको छ । उक्त कार्यालयबाट आर्थिक बर्ष २०७५/०७६ मा खरिद गरिएको धानको तथ्यांक र किशानको नामावली माग गर्दा सतर्कता केन्द्रमा पेश गरिएको जुम्लाको नमावलीको सट्टा स्थानिय बारा र पर्साका किशानहरुको किर्ते दर्ता रजिष्टर तयार गरि दिएको हुनाले उनले भ्रष्टाचार लुकाउन एक पछि अर्काे किर्ते कार्य गर्न तल्लिन देखिएका छन् ।
कम्पनीको विभिन्न कागजात र तथ्यांकहरुलाई आफ्नो निजी पेवा ठान्ने सुचना अधिकारी कुशवाहाले पटक पटक आफ्ना अनुकुल कागजातहरु खडा गरेर कारवाहीबाट उम्किन खोजी रहेको बेला राष्ट्रिय सतर्कता केन्द्रले चासो नदेखाउनुले कुशवाहाको भ्रष्टाचारको चासनीमा सतर्कता केन्द्र पनि चुर्लुम्म डुबेको समेत प्रमाणित हुन्छ ।