इलाम । नेकपा एमाले इलामको ११औं जिल्ला अधिवशेन आजबाट सदरमुकाममा सुरु हुँदै छ । बिहीबार र शुक्रबार हुने अधिवेशनमा दुई लाइनको नेताहरूको गुट देखिन थालेको छ । हुन त यसअघिका निर्वाचनमा पनि गुट नदेखिएको होइन ।
अघिल्लो निर्वाचनमा पनि गुटको छिटा उछिटिएको थियो । यसपटक इलाममा गृह जिल्ला इलाम नै भएका आफ्ना ‘हेभिवेट’ नेताहरू बिना नै निर्वाचन हुँदै छ । पार्टीका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र तत्कालीन एमाले केन्द्रीय उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङबिनाको पहिलो अधिवेशन हुँदै छ ।
खनाल र नेम्वाङ रहुन्जेल पनि दुवै नेता पार्टीभित्र फरक ‘लाइन’का रहेकाले त्यसको असर नेतृत्व चुन्ने ठाउँसम्म प्रत्यक्ष रूपमा आइपुग्ने गरेको थियो । खनाल अहिले एमालेमा छैनन् भने नेम्वाङको गत वर्ष निधन भएको छ । अहिले खनाल र नेम्वाङको अनुपस्थितिमा हुने अधिवेशनमा नेतृत्व लिने होडबाजी अझ पेचिलो देखिएको छ ।
इलामको पार्टी नेतृत्वमा केन्द्रीय नेतृत्वको सोझो प्रभावसमेत देखिने गरेकाले यसपटकको अधिवेशनमा नेताहरूबीच रस्साकस्सीझैं देखिएको छ । एमाले केन्द्रीय अध्यक्ष भइसकेका झलनाथ खनाल र पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ हुँदा अघिल्ला अधिवेशनमा पनि जिल्ला तहका नेता दुई धारमा विभाजित भएर अधिवेशनमा होमिने गरेका थिए ।
यसपटक नेता खनाल एमालेमा नहुँदा नेता नेम्वाङको पनि निधन भइसकेको अवस्थामा पनि जिल्ला तहका नेताहरू भने विभाजित भएरै उम्मेद्वारी दिने चर्चा बाहिर आएको छ । एमाले जिल्ला कमिटी पूर्वअध्यक्ष महेश बस्नेत र अर्का पूर्वअध्यक्ष राम रानाका फरकफरक समर्थक तथा जिल्ला तहका नेताहरू पदाधिकारीको पाँचवटा पदमा आआफ्नो मौखिक दाबी प्रस्तुत गर्न थालेका छन् । केही नेताहरूले आफूहरूबीचको अर्थात् यी दुई धारको मध्य बिन्दुबाट पनि उम्मेदवार दिने बताएका छन् ।
अध्यक्षमा बराल र भट्टराई
पार्टीको जिल्ला अध्यक्ष बन्न अहिलेसम्म गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराईको नाम चर्चामा छ । बराल अब हुने ११औं जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्ष र कोशी प्रदेश कमिटी सदस्य पनि हुन् । पार्टीको जिल्ला सचिव भइसकेका बराल आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमै रामबहादुर रानासँग पराजित भएका थिए ।
२०४९ देखि २०५२ सालसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भएका बराल २०५४ सालमा तत्कालीन जितपुर गाविसको अध्यक्ष भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनबाट उनी इलामको जिल्ला समन्वय समिति प्रमुखसमेत भए । उनले आफू अबको अधिवेशनमा अध्यक्षको उम्मेदवार हुने बताए । उनी हाल रानाको लाइनमा छन् ।
त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार नरेन्द्रनाथ भट्टराई लामो समयदेखि एमालेको राजनीतिमा क्रियाशील छन् । उनी अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य छन् । पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टराई सातौं जिल्ला अधिवेशनमा मणिकुमार लिम्बूसँग अध्यक्षमै पराजित भएका थिए ।
उनले २०४३ सालको निर्वाचनमा इलामको प्रधानपञ्चको जनपक्षीय उम्मेदवार भए पनि विजय हासिल गर्न सकेका थिएनन् । उनी बस्नेतको लाइनबाट अध्यक्ष बन्न लागेको चर्चा छ ।
उपाध्यक्षमा चार जना
जिल्ला कमिटीको एक उपाध्यक्ष पदका लागि अहिलेसम्म चार जनाको नाम चर्चामा छ । वर्तमान उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
वर्तमान उपाध्यक्षसमेत रहेका उपाध्यक्ष पदकै उम्मेदवार उदय राई अनेरास्ववियु, राष्ट्रिय युवा संघलगायत भ्रातृ संगठनका जिम्मेवारी सम्हाल्दै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनी लामो समय एमालेका तत्कालीन नेता झलनाथ खनालको स्वकीय सचिवसमेत भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिको अध्यक्ष पदमा निर्वाचित राई पार्टीको जिल्ला कमिटीमा तीनपटक सदस्य भएर १०औं अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदकै अर्का उम्मेदवार उमेश गुरुङले आफू पटकपटक जिल्ला कमिटी सदस्य, उपसचिव र सचिव हुँदै अब उपाध्यक्ष पदमा आकांक्षी रहेको जनाए । गुरुङ २०४५ सालदेखि नै विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय भएका हुन् । पार्टीको दुई कार्यकाल जिल्ला सदस्य, एक कार्यकाल उपसचिव भएका गुरुङ अहिले पार्टीको जिल्ला सचिव पदमै कार्यरत छन् ।
प्रेस चौतारी इलाम शाखाको अध्यक्ष, मेची अञ्चल कमिटी अध्यक्ष हुँदै गुरुङ नेपाल पत्रकार महासंघ इलाम शाखाको समेत अध्यक्ष भएका थिए । गुरुङ स्वाभाविक हिसाबले पनि अब आफू उपाध्यक्ष पदको हकदार भएको दाबी गरिरहेका छन् । उपाध्यक्षकै उम्मेदवारका आकांक्षी बुद्धिप्रसाद खनाल लामो समय विद्यार्थी राजनीतिबाट पार्टीमा सक्रिय भएका हुन् ।
खनाल अनेरास्ववियुको जिल्ला उपाध्यक्ष, मेची संयोजक हुँदै अहिले पार्टीको जिल्ला सचिवालय सदस्य छन् । लामो समयसम्म तत्कालीन एमाले नेता सुवासचन्द्र नेम्बाङको स्वकीय सचिव भएका खनाल अहिले माई नगरपालिका वडा ७ का वडाध्यक्ष पनि हुन् ।
खनालले आफूले लामो समयदेखि पार्टीमा योगदान गरेकाले आफूलाई उपाध्यक्ष बनाउन सबैमा आग्रह गरिरहेको जनाए । खनालले आफूलाई सबै प्रतिनिधिले उपाध्यक्षमा निर्वाचित गर्ने विश्वास गरेको भन्दै आफ्नो अवधारणा प्रतिनिधिसामु राखिरहेको सुनाए ।
उपाध्यक्षका अर्का उम्मेदवार सूर्याेदय नगरपालिका घर भएका रमेश राई लेखक पनि हुन् । पार्टी जिल्ला सचिवालय सदस्यसमेत रहेका राईले आफू व्यक्तिगत रूपमा नभई प्रतिनिधिसभा क्षेत्र १ को प्रतिनिधिकै रूपमा उपाध्यक्षमा उम्मेदवारी दिने बताए ।
उनले यस’bout १ नम्बर क्षेत्रीय कमिटीले नै आफूलाई उपाध्यक्षको उम्मेदवार बनाउने दाबी पनि गरे । तर, उपाध्यक्षका आकांक्षी उदयबहादुर राई र अर्का आकांक्षी उमेश गुरुङ पनि इलाम क्षेत्र १ कै बासिन्दा हुन् । रमेश राई १०औं जिल्ला अधिवेशनमा उपसचिवमा रवीन्द्र सुवेदीसँग पराजित भएका थिए
सचिवमा अधिकारी र सुवेदी सचिव पदमा
अहिलेसम्म वर्तमान उपसचिव रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले दाबी गरेका छन् । प्रकाश अधिकारीले लामो समय पार्टीको जिल्ला कमिटीलगायत विभिन्न भ्रातृ संगठनमा काम गरेका छन् । अनेरास्ववियु र प्रेस चौतारी नेपालको जिल्ला अध्यक्षसमेत भइसकेका अधिकारी नेपाल पत्रकार महासंघ इलाम शाखाको पूर्वउपाध्यक्ष पनि हुन् ।
अधिकारी पार्टीको १०औं जिल्ला अधिवेशनमा सचिव पदमै पराजित भएका थिए । उनले आफ्नो लामो अनुभव पार्टीमा प्रयोग गर्न चाहे पनि अवसर नपाएकाले यसपटक सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । सचिवका अर्का उम्मेदवार रवीन्द्र सुवेदीले पनि आफू विद्यार्थीको जिल्ला र केन्द्रीय नेतृत्वमा रहँदै पार्टीमा समेत अनुभव हासिल गरेको बताए ।
अहिले पनि पूर्णकालीन रूपमा पार्टीमै क्रियाशील रहेको भन्दै सुवेदीले सचिव पदमा आफूलाई निर्वाचित गराउन आग्रह गरे । सुवेदी अनेरास्ववियुको जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य हुँदै १०औं अधिवेशनबाट पार्टीको जिल्ला उपसचिव भएका थिए । अधिकारीले राजनीति गर्दा जन्मिएका सुवेदीबीच निकै रोचक हुने देखिएको छ ।
उपसचिवमा ९ उम्मेदवार
उपसचिव पदमा भने नौ जनाको नाम चर्चामा छ । हेमन्त राई, दिलकुमारी लिम्बू, सरु राई, विष्णुमाया भुजेल, विष्णुमाया आचार्य, छवि श्रेष्ठ, प्रेम लिम्बू, याम यावारा थुलुङ, मनकुमार बराइलीलगायतले उपसचिव पदमा आकांक्षा देखाएका छन् । सदरमुकामको सिटी हलमा हुने अधिवेशनको तयारी धमाधम भइरहेको छ ।
अधिवेशनका लागि कात्तिक २१ गते नै ५ सय ८३ प्रतिनिधि छानिएका छन् । अहिले अधिवेशन प्रतिनिधिको परिचयपत्र बनाउने, नाम रुजु गर्नेलगायतका काम भइरहेको एमालेले जनाएको छ ।
जिल्लाका सबै ८१ वटै वडा, २१ जनसंगठन तथा पेसागत संगठन, तीन इलाका, शाखा र एउटा विशेष वडा कमिटीबाट प्रतिनिधि छानिएको प्रतिनिधि व्यवस्थापन समिति संयोजकसमेत रहेका जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए ।
धेरजसो वडा र कमिटीहरूमा सर्वसम्मत रूपमा प्रतिनिधि छानिए पनि कतिपयमा निर्वाचन प्रक्रियाबाटै छानिएका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।