काठमाडौं । चलचित्र लाज शरणमको मंगलबारबाट काठमाडौंमा दोश्रो चलचित्रको छायाँकन सुरु भएको छ । यो चलचित्रमा अभिनेता बिजय बराल शिर्ष भूमिकामा हुने भएका छन् । त्यसो त नेपाली चलचित्र पूर्ण बहादुरको सारंगीले बक्स अफिसमा सर्वाधिक सफल व्यापार गरिरहेको बेला यो चलचित्रका शिर्ष अभिनेता विजय बराललाई एकपछि अर्को गर्दै नयाँ नयाँ चलचित्रमा प्रस्ताव आईरहेको छ । तर अहिले आफु नयाँ चलचित्र ‘लाज शरणम’को छायाँकनमा व्यस्त रहेको यी अभिनेताले बताएका छन् ।
लाज शरणमपछि अरु दुई वटा चलचित्रमा केही समय अघि नै अनुबन्धित भईसकेका बिजय यसपछि ती दुई चलचित्रको छायाँकन सक्ने पक्षमा छन् । त्यसपछि मात्र नयाँ चलचित्रमा अनुबन्धित भएर काम गर्ने यी अभिनेताको कथन छ ।
लाज शरणममा बिजय बराल यस अघि समानान्तर भूमिकामा थिए । तर उनको चलचित्र पूर्णबहादुरको सारंगी हिट भएपछि विजयको भूमिकामा केही परिमार्जन गरिएको युनिटका एक सिनेकर्मीले बताएका छन् । यो चलचित्रमा उनी विजय नामको चरित्रमै प्रस्तुत हुँदैछन् ।
यो चलचित्रको दशैं अघि डोल्पामा छायाँकन गरिएको थियो । बाँकी काठमाडौंमा गर्नु पर्ने दोश्रो चरणको छायाँकन मँगलबारबाट सुरु गरिएको हो । यो चलचित्रलाई सुदीप बरालले छायांकन गरिरहेका छन् । यो चलचित्रको हालसम्म ९५ प्रतिशत छायांकन सम्पन्न भईसकेको पनि यसका निर्देशक कुमार कट्टेलले जनाएका छन् । विजय वराल र केही कलाकारको बाँकी पाँच दिनको छायाँकन सकेर यसको पोष्ट प्रोडक्सनको कार्यमा निर्माण पक्ष जुट्ने बताईएको छ ।
यो चलचित्रको निर्माण टिमले छायांकनमा निस्कनु अगावै लाज शरणमलाई १४ फागुनमा रिलिज गर्ने घोषणा गरेको थियो । अभिनेता बिजयको पूर्ण बहादुर सारंगीपछि अब आगामी शिवरात्रीमा लाज शरणम् रिलिज हुने भएको छ । लाज शरणमले शिवरात्रीमा अर्को एउटा नेपाली चलचित्रसँग जुध्नु पर्ने भएको छ ।
यो चलचित्रमा विजय वराल, मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ ।