काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको रिक्त ४४ पदका लागि १६ मंसिरमा उपनिर्वाचन सम्पन्न गरेको छ । सोमबार साँझसम्ममा विभिन्न ४० पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । सो मत परिणामलाई हेर्दा केही दलले ‘बोनस’ पाएका छन् भने नेपाली कांग्रेसले नोक्सानी बेहोर्नुपरेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेस यसअघि विभिन्न २७ पदमा निर्वाचित भएको थियो । तर, उपनिर्वाचनबाट कांग्रेसले १८ स्थानमा मात्रै विजयी हासिल गरेको छ । कांग्रेसलाई नोक्सान हँुदैगर्दा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बोनस पाएका छन् ।
केही ठाउँमा यसअघि २०७९ सालको निर्वाचनमा विजयी भएको दल उपनिर्वाचनमा पराजित भएको छ । त्यस्तै, यसअघिको निर्वाचनमा केही स्थानमा पराजित दल अहिले विजयी भएको देखिन्छ । एमाले यसअघि विभिन्न ७ पदमा विजयी भएको थियो । यस उपनिर्वाचनमा एमालेले ८ पदमा जित हासिल गर्दै बोनस पाएको छ । यस्तै, माओवादी केन्द्र यसअघि ८ पदमा विजयी भएको थियो । यस उपनिर्वाचनमा माओवादी ८ पदमा विजयी भइसकेको छ । दुई पदमा माओवादीले अग्रता लिएको छ । माओवादी पनि बोनस निकाल्ने कसरतमा रहेको छ ।
उपनिर्वाचनको नतिजा हेर्दा विशेषगरी माओवादी केन्द्रमा बढी उत्साह देखिएको छ । यस्तै, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) यसअघि एक पदमा विजयी भएको थियो । उपनिर्वाचनमा जसपा दुई पदमा विजयी भएको छ ।
उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एक–एक सिट थप गरेको छ । रास्वपाले पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको हो ।
अघिल्लो निर्वाचनमा स्वतन्त्रतर्फ एक उम्मेदवार विजयी भएका थिए । उपनिर्वाचनमा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जाजरकोटको नलगाडको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने ४ हजार २ सय ७२ मत मत ल्याई विजयी भएकी छन् । कांग्रेसकी इन्द्राचन्द सिंह ३ हजार १ सय ४७ मत ल्याएर दोस्रो र एमालेकी सुनिता बोहरा २ हजार ५ सय ४२ मत ल्याउँदै तेस्रो भएकी छन् । यहाँ २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो । गठबन्धनबाट नगरप्रमुखमा माओवादीका डम्मरबहादुर रावत र उपप्रमुखमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए ।
रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस र एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३ हजार ६ सय २७ मत ल्याउँदा एमालेकी तुलाचनले २ हजार १ सय २८ मत ल्याएकी छन् । यहाँ एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रूख लिएर प्रतिस्पर्धामा रहेकी थिइन् ।
यसअघि पनि २०७९ सालमा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि कांग्रेस र एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् ।
माओवादीले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा जित हात पारेको छ । यहाँ माओवादी केन्द्रका नमोनारायण माझी ६९ सय ६९ मत ल्याएर विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत ल्याएका छन् भने एमालेका तुलसीराम विश्वास ४१ सय ५९ मत ल्याएर तेस्रो भएका छन् ।
यहाँ २०७९ सालको निर्वाचनमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । त्यसबेला कांग्रेसका जयप्रकाश गच्छदार थारू विजयी भएका थिए । एमालेका शिवनारायण माझी दोस्रो र माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
मतगणना जारी रहेको हुम्ला सर्केगाड गाउँपालिकाको उपाध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । ती पालिकामा माओवादीले जित निकालेमा उपनिर्वाचन भएको दुई गाउँपालिका अध्यक्षमध्ये एउटा, एक नगरपालिका उपप्रमुखका लागि भएको उपनिर्वाचनमा माओवादीकै जित र चार गाउँपालिका उपाध्यक्षमध्ये माओवादी तीन ठाउँमा विजयी हुनेछ ।
तर, माओवादी केन्द्रको आधार इलाका भनिएको रुकुम र रोल्पामा माओवादी निकै कमजोर देखिएको छ । माओवादी केन्द्रका प्रभावशाली भनिएका तीन जना नेताको वडामै माओवादी कमजोर देखिएको छ । पार्टी केन्द्रमा निरन्तर शक्तिमा रहेका उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतको शक्ति उनीहरूको गृहजिल्लाका वडामा कमजोर देखिएको छ ।
माओवादी केन्द्रको आधार इलाकाका रूपमा चिनिएका रुकुम पश्चिम, रोल्पा र जाजरकोटकै वडामा माओवादीले हार बेहोर्नुपरेको छ । यी नेताको गृहजिल्लाको वडामा कांग्रेसले विजयी हासिल गर्दैगर्दा उनीहरू आफ्नै वडामा कमजोर भएको देखिन्छ । तर, माओवादीले आफ्ना आधार इलाकाको वडा गुमाउँदा अन्यन्त्र कांग्रेस र एमालेले निर्वाचन भएको ठाउँमा विजयी भएको छ ।
एमाले पनि विगतमा चुनाव नजितेको ठाउँमा उपनिर्वाचनमा विजयी भएको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमाले विजयी भएको हो । यो विजयसँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक पद थपेको छ । एमालेका शाहीले ३ हजार १ सय २७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २ हजार ६ सय ७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८ सय ४२ मत मात्रै पाएका छन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले १ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १ हजार ४ सय ७४ मत पाएकी छन् । २०७९ सालको निर्वाचनमा यहाँ कांग्रेसकी मैनादेवी जोशी विजयी भएकी थिइन् ।
जसपाले गत निर्वाचनमा जित हासिल गरेको एक पद मात्रै रिक्त भएको थियो । तर, जसपाले उपनिर्वाचनमा थप एक पद जितेको छ । एकीकृत समाजवादी र नेमकिपाले एक–एक पदमा जित हासिल गरेका छन् ।
तर, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले निर्वाचन भएका ४१ मध्ये कुनै पनि स्थानमा जित निकाल्न सकेन । यस उपनिर्वाचनमा राप्रपा शून्य भयो । कतिसम्म भने यसअघि २०७९ सालमा भन्दा यसपटकको उपनिर्वाचनमा राप्रपाको मत घट्यो । लिङ्देनको गृहजिल्ला झापाको कन्काई नगरपालिकामा राप्रपाले जम्मा २६ मत मात्रै पायो । अन्यत्र पनि राप्रपाले निकै कम मत पाएको छ । यसले राप्रपाले जनमत गुमाउँदै गएको देखिएको छ ।
रास्वपाले एक पदमा विजयी हासिल गर्दैगर्दा उसले अन्यत्र दिएको उम्मेदवारीमा उम्मेदवारहरूले जमानतसमेत जोगाउन सकेनन् । कतै पाँच मत त कतै ३० मत मात्रै पाएको रास्वपा अन्यत्र कमजोर देखिएको छ । मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको जनमत पार्टी र पश्चिम तराईको अर्को वैकल्पिक शक्ति भनिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि शून्य भएका छन् । यसले यी दल पनि क्रमशः प्रभावहीन हुँदै गएका देखिन्छन् ।
मधेस प्रदेशमा सातवटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको थियो । तर, मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टी शून्य स्थितिमा रह्यो । जनमतका उम्मेदवारले एउटा वडामा तेस्रो नम्बरमा मत ल्याउनेबाहेक अन्य वडामा प्रतिस्पर्धामै आउन सकेनन् ।
यसअघि जिल्ला समन्वय समिति (जिसस)) ओलखढुंगाको प्रमुखमा कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र कैलाली जिसस प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । यस्तै, रुकुम (पूर्वी भाग) पुथाउत्तरगंगा गाउँपालिका वडा नं २ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।