भरतपुर अस्पतालमा उपचाररत युवा कोरोनामुक्त

चितवन । कोरोना भाईरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आईसोलेसन कक्षमा रहेका दुई जना मध्ये २७ वर्षका युवा कोरोना भाईरस मुक्त भएका छन् । दुई पटक गरिएको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाईरसमुक्त भएका हुन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिला पौडेलका अनुसार लगातार दुई पटक गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ देखिएको हो । उनलाई शनिबार दिउँसो औपचारिक रुपमा डिस्चार्ज गरिएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले ती युवालाई डिस्चार्ज कागज हस्तान्तरण गरेका थिए ।

राप्ती नगरपालिका वडा नम्बर ८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाईरस देखिएको थियो । उनीहरुलाई बैशाख ५ गते भरतपुर अस्पताल ल्याइएको थियो । उनीसँगै रहेकी उनकी आमाको दोस्रो पिसिआर परीक्षण भने पोजेटिभ नै देखिएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपनि ति युवा अस्पतालकै आईसोलेसनमा अलग्गै बसेका छन् । आमा अस्पतालमै रहनु पर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाईनमा वसेका छन् ।

सुरुमा आमामा -यापिड डाईग्नोष्टिक टेष्टमा शंकास्पद देखिएपछि आमा र दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । भरतपुर कोडिभ १९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आईसोलेसनमा निगरानीमा राखिएको थियो । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।

परीक्षण अघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उनलाई तत्कालै डिस्चार्ज गरिएको थियो । शरीरबाट भाईरस मुक्त भए पनि केही समयसम्म एन्टीवडि रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तिमा एक साता क्वारेन्टाईनमा राख्नुपर्ने चिकित्सकको भनाई छ ।

चैत ३ गते बेलायतबाट यी आमा छोरा हङ्कङ हुँदै नेपाल आएका थिए । दुई दिन काठमाडौं बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिहरुलाई हाल राप्तीको ब्रम्हनगरको क्वारेन्टाईनमा राखिएको छ । -यापिड डाईग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

जिल्लामा कोरोना रोगको उपचारका लागि भरतपुर अस्पताल र भरतपुर अस्पताललेनै सञ्चालन गरेको छुट्टै भरतपुर कोरोना बिषेश (अस्थाई)अस्पताललाई तोकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

के हात्तीले वर्षौँसम्म रिस राख्छ ?