सात महिनामा २६ अर्ब ८४ करोडको लगानी प्रतिबद्धता

काठमाडौं । नेपालमा बढीजसो पर्यटन क्षेत्रका उद्योग सञ्चालन गर्न विदेशी लगानीकर्ताहरू आकर्षित भएका देखिएको छ ।

विदेशी लगानीकर्ताले लगे साढे ८ अर्ब फिर्ता

उद्योग विभागका अनुसार गत साउनदेखि माघ महिनासम्म १ सय ६८ वटा उद्योग खोल्नका लागि विदेशीले प्रस्ताव पेस गरेका छन् । पर्यटन उद्योग खोल्नका लागि मात्र उनीहरूले १७ अर्ब ३२ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्योगको तथ्यांकअनुसार गत सात महिनामा विभिन्न क्षेत्रमा आएका लगानी प्रतिबद्धतामध्ये पर्यटन उद्योगमा आएको प्रतिबद्धता मात्रै कुल प्रतिबद्धताको ४४ प्रतिशत हो । लगानीको प्रतिबद्धताका आधारमा पनि पर्यटन उद्योग नै अग्रस्थानमा छ । यस क्षेत्रमा आएको १७ अर्ब ३२ करोड रुपैयाँ भनेको कुल वैदेशिक लगानी प्रतिबद्धताको ६५ प्रतिशत हो । लगानीका हिसाबले सेवा क्षेत्रमा आएको लगानी प्रतिबद्धता दोस्रो स्थानमा रहेको छ । यस क्षेत्रमा कुल ५ अर्ब ६९ करोड ८७ लाख रुपैयाँको प्रतिबद्धता कुल लगानी प्रतिबद्धताको २१ प्रतिशत हो । यस क्षेत्रमा ४८ वटा उद्योग लगानी गर्ने मनसाय प्रस्तुत भएको छ ।

सात महिनाको अन्तरालमा कुल २६ अर्ब ८४ करोड १७ लाख ३३ हजार रुपैयाँको प्रतिबद्धता आएको तथ्यांक रहेको छ । यसबीचमा कुल ३ सय ८६ वटा उद्योग विदेशी लगानीमा आउने प्रतिबद्धता देखिएको छ ।

साउनदेखि माघ महिनासम्म अटोमेटिक रुटबाट २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । गत वर्ष वैशाखबाट अनलाइनबाटै आवेदन दिएका कम्पनी अटोमेटिक रूपमै स्वीकृत हुने व्यवस्था लागू भएको छ । अटोमेटिक रुटबाट १ सय ७५ उद्योगका लागि प्रतिबद्धता आएको हो ।

डकुमेन्ट हेरेर स्वीकृत हुने एप्रुभल प्रणालीमा २ सय ११ वटा उद्योग सञ्चालन गर्नका लागि २४ अर्ब २१ करोड ३४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार माघ महिनामा मात्र १ अर्ब ६ करोड ५२ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । साउनदेखि माघसम्म लगानी प्रतिबद्धता आएका उद्योगहरू सञ्चालन भएमा १० हजार ७ सय २६ जनाले रोजगार पाउनेछन् ।

उद्योग विभागका अनुसार सात महिनामा उत्पादनमूलक क्षेत्रमा २७ वटा उद्योग आएका छन् । यसका लागि कुल २ अर्ब १२ करोड २० लाख लगानी प्रतिबद्धता भएको छ । यसैगरी, ऊर्जामूलक क्षेत्रमा २ करोड ५५ लाख लगानी प्रतिबद्धताका साथ एउटा उद्योग आएको छ ।

कृषिमूलक क्षेत्रमा भने ७४ करोड १० लाख रुपैयाँको लगानी प्रतिबद्धताका साथ ६ वटा कम्पनीले वैदेशिक लगानी ल्याउने जनाएको छ । सात महिनामा खनिजसम्बन्धी उद्योगका लागि भने एउटा पनि उद्योग दर्ता हुन नआएको जनाइएको छ । सेवामूलक क्षेत्रमा ४८ उद्योग आएका छन् । यसमा ५ अर्ब ६९ करोड ८७ लाख ३० हजार वैदेशिक लगानी प्रतिबद्धता भएको छ । यसैगरी, पूर्वाधार क्षेत्रमा दुईवटा उद्योग सञ्चालन गर्नेगरी १२ करोड लगानी आएको छ । सूचना प्रविधिमूलक क्षेत्रमा भने १ सय ३४ वटा उद्योगका साथ ८० करोड ६८ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता भएको छ ।

अटोमेटिक रुटबाट दर्ता हुनेमा सूचना प्रविधिसम्बन्धी कम्पनी धेरै छन् । ५० करोडसम्म पुँजी भएका उद्योग अटोमेटिक रुटबाटै दर्ता हुन सक्छन् । उनीहरूले उद्योग विभाग धाइराख्नुपर्दैन ।

उद्योग विभागका अनुसार यस वर्ष २६ अर्बको लगानी प्रतिबद्धता आएको छ । गत आवको यही अवधिमा २२ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । आव २०७९–०८० मा १८ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो ।

उद्योग विभागले सात महिनामा ३२ वटा कम्पनीले सेयर खरिद तथा बिक्रीको अनुमति पाएका छन् । जसबाट १ अर्ब ९४ करोड रुपैयाँ रकम प्रतिबद्धता भएको छ । यसैगरी, प्रविधि हस्तान्तरणका लागि ४३ वटा उद्योग तयार भएका छन् ।

चालू आवमा वैदेशिक लगानी प्रतिबद्धता आएका उद्योगहरूमध्ये चारवटा ठूला उद्योग छन् भने सातवटा मझौला खालका छन् । यसैगरी, ३ सय ७५ वटा साना खालका उद्योग छन् । गत वर्ष २ सय ४१ उद्योग दर्ता भएकामा २ सय २६ साना, १२ मझौला र तीन ठूला उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७९–८० मा १ सय ४४ उद्योगले लगानी स्वीकृति पाएका थिए ।

आव २०८०–०८१ मा १ हजार ६ सय ५६ जना व्यावसायिक भिसामा नेपाल आएकामा यस वर्ष २ हजार २ सय ६७ पुगेको छ ।

कम्पनीको प्रतिनिधिका रूपमा गत वर्ष १ सय ६८ जना रहेकामा यस वर्ष २ सय ३२ जना आएका छन् । डिपेन्डेन्ट भिसामा गत वर्ष ४ सय ८८ जना भित्रिएकामा अहिले ५ सय ८२ जना भित्रिएका छन् ।

विदेशी लगानीकर्ताले सात महिनामा कुल ८ अर्ब ५३ करोड ७० लाख रुपैयाँ नाफा फिर्ता लगेका छन् । जसमा नेपाली रुपैयाँमा ७१ करोड ९२ लाख २२ हजार रहेको छ । यूएस डलरमा ९२ लाख ७० हजार लगिएको छ । भारतीय मुद्रामा ३५ करोड ९९ लाख लगिएको छ भने ४७ हजार युरो लगिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

प्रसूति हिंसाबारे राष्ट्रियसभाको समितिमा छलफल हुने