मुम्बई । बलिउडका सदावहार अभिनेता ऋषी कपूरको बिहिबार बिहान ६७ वर्षको उमेरमा निधन भएको छ । उनको क्यान्सर रोगबाट निधन भएको चिकित्सकहरुले जनाएका छन् ।
बलिउडले लगातार दुई दिनमा दुई होनहार अभिनेता गुमाएको छ । बुधबार मात्र अभिनेता इरफान खानको क्यान्सरबाट निधन भएको थियो । फेरी बिहिबार अभिनेता ऋषी कपूरको पनि क्यान्सरबाटै निधन भएको छ ।
बिहान उनको स्वासप्रश्वासमा समस्या देखिएपछि ऋषि कपुरलाई बुधबार श्री एचएन रिलयान्स फाउन्डेसन अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । क्यान्सर पीडित भए पनि क्यान्सरसँगै स्वासप्रश्वासको समस्याले उनको निधन भएको चिकित्सकहरुले जानकारी गराए ।
अभिनेता ऋषी कपुरको पार्थिब शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेबाट ३ बजेसम्म सो अस्पतालको प्रँगणमा राखिएको थियो । सो क्रममा बलिउड अभिनेताहरु अमिताभ बच्चन, शाहरुख खान, अभिषेक बच्चनदेखि अधिकाँस अभिनेता अभिनेता तथा सिनेकर्मीहरुले अस्पतालमै पुगेर उनप्रति श्रद्धाञ्जली अर्पण गरे । शो क्रममा राजनेता देखि सँगीतकर्मीहरु पनि उनको पार्थीव शरीरमा फुलमाला चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।
त्यसपछि मुम्बई स्थित चन्दनबाडी श्मसानघाटमा दाहसंस्कार गरियो । भारतमा लक डाउनका कारण बढीमा २० जना मात्र मलामी जान पाउने प्रावधान रहेको छ । त्यसैले अभिनेता ऋषी कपूरको निधनपछि परिवारले एक विज्ञप्ती जारी गर्दै लक डाउनको नियमका कारण २० जना भन्दा बढी मलामी जान नपाउने अनुरोध गरेका थिए । लकडाउनका कारण बलिउडकर्मी तथा शुभचिन्तक अन्तिम संस्कारमा सहभागी हुन नपाउने अबस्थाप्रति कपूर परिवारले क्षमा मागेका थिए ।
अस्पतालबाट उनको शबलाई एम्बुलेन्समा राखेर श्मसानघाट लगियो । लक डाउनका कारण खटमा राखेर शबयात्रा गरिएन । उनको अन्तिम संस्कारमा ऋषीकी पत्नी एवम् एक समयकी अभिनेत्री नीतु कपुर, अभिनेता एवम् छोरा रणवीर कपुर, दाई रणधिर कपुर, अभिनेता एवम् ज्वाईं सैफअली खान, भतिजी करिना कपुर, अभिनेता अभिषेक बच्चन, अभिनेत्री आलिया भट्ट, आयन मुखर्जी, राजिब कपुरलगायत कपुर परिवारको उपस्थिति थियो ।
श्मसान घाट पु¥याएपछि उनका छोरा एवम् बलिउड अभिनेता रणबीर कपूरले अन्तिम सँस्कारको सम्पूर्ण रीजिरिवाज पुरा गरे । त्यसपछि ऋषी कपूरको विद्युतीय शव गृहमा दाह संस्कार गरियो । दाह संस्कारको समय छोरी ऋतिका भने सहभागी हुन सकिनन् । दिल्लीमा रहेकी ऋतिकालाई चार्टर प्लेनबाट मुम्बई लाने प्रयास गरिए पनि सो प्रयास असफल रह्यो । उनी कारमा दिल्लीबाट मुम्बई आउँदै गरेको ऋषीका दाई रणधिर कपुरले सञ्चारकर्मीलाई जानकारी गराए ।
अभिनेता ऋषी कपुर बिगत दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनलाई क्यान्सरले नै आफुहरुबाट खोसेर लगेको दाई रणधीर कपुरले बिज्ञप्ति मार्फत बताए ।
अभिनेता ऋषीलाई सन २०१८ मा क्यान्सर देखिएको थियो । त्यसपछि उनले एक वर्ष अमेरिकामा उपचार गराए । अमेरिकामा केरियो र रेडियो थेरापी पुरा गरेपछि केही सन्चो भएर उनी गत सेप्टेम्बरमा भारत फर्किएका थिए ।
आफुलाई सन्चो भएको बताउँदै उनी फिल्ममा फर्कने तयारीमा थिए । तर फेरी गत फेब्रुअरीमा उनलाई क्यान्सरको समस्या देखिएको थियो । अन्तत उनी क्यान्सरबाट मुक्त हुन सकेनन् ।
भारतका एक समयका प्रख्यात अभिनेता राजकपुरको छोराको रुपमा ऋषी कपूरको ४ सेप्टेम्बर सन १९५२ मा मुम्बईमा जन्म भएको थियो । आफ्ना बुबा तथा एक समयका चर्चित अभिनेता राज कपुरको प्रेरणले बाल कलाकार हुँदै ऋषी कपुरु बलिउडमा नायक बनेका थिए । उनी अभिनय प्रति यती धेरै क्रेजी भएकी स्कुले जीवनमा उनी बाल कलाकारको रुपमा प्रख्यात भए । सोही कारण कलामा लागेको ऋषीले क्याम्पस जीवनमा पढाई पुरा गरेनन ।
यी अभिनेताले सन १९७० मा फिल्म ‘मेरा नाम जोकर’मा आफ्ना बुबा राज कपुरसँग बाल अभिनेताको रुपमा काम गरे । यो फिल्ममा उनी किशोर हुँदै थिए । उनको काम सबैले रुचाएपछि सन् १९७३ मा बबी फिल्मबाट नायकको रुपमा उनले बलिउडमा डेब्यु गरे । उनको पहिलो फिल्म नै बक्स अफिसमा सुपरहिट भयो । त्यसपछि उनी निरन्तर फिल्ममा छाईरहे । अभिनयबाटै राष्ट्रिय तथा अन्तराष्र्टिय अवार्ड जितेको ऋषी कपुरले एक सय भन्दा बढी फिल्ममा ससक्त भूमिका निर्वाह गरिसकेका छन् । उनी पछिल्लो समय पनि अभिनेत्री दीपिका पादुकोणसँग एउटा फिल्मको अभिनय तयारीमा थिए । तर त्यो फिल्म गर्न नपाउँदै उनी बिहिबार सँसारबाट बिदा भए ।
तथापित आफ्नो सिने बँशजको रुपमा उनले छोरा रणबीर कपुरलाई नायकको रुपमा फिल्ममा ल्याए । अहिले बलिउडका उम्दा अभिनेताको रुपमा रणबीर कपुर चर्चित छन् ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै अभिनेता ऋषी कपुरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनको खबरले आफु स्तव्ध भएको बताउँदै भारतले फेरी एक प्रभाबशाली कलाकार गुमाएको उनले बताएका छन् । जसबाट बलिउडलाई क्षती पुगेको पनि उनको कथन छ । काँग्रेस आईका अध्यक्ष राहुल गान्धी सहित विभिन्न पार्टीका नेताहरुले अभिनेता ऋषी कपुरको निधन प्रति ट्विट मार्फत दुःख व्यक्त गरेका छन् ।