संगीतको तिर्खा मेट्दै ‘ब्याक टु नाइन्टिज्’

पोखरा । गत माघ अन्तिम साता पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको कन्सर्टमा अनपेक्षित दर्शक ओइरिए । आजभन्दा ३० वर्षअघि पोखरामा जन्मिएर देशविदेशमा चर्चित बनेका ब्याण्डहरुले एकै स्टेजमा प्रस्तुति दिने सो कार्यक्रममा २० हजारजति दर्शक आउने आयोजकको अनुमान थियो । तर, दर्शक यसरी ओइरिए कि कार्यक्रम हुँदै गर्दा प्रवेश नै बन्द गर्नुपर्ने अवस्था आयो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठान सहकार्यमा पोखरा सांगीतिक कलाकार संघ नेपालले ‘ब्याक टु नाइन्टिज्’ अर्थात् बिरासतलाई फर्केर हेर्दा नाम दिएर पोखरेली चर्चित ७ ब्याण्डहरु एकै स्टेजमा उतारेको थियो । करिब ५ घण्टासम्म सातै ब्याण्डले आफ्ना चर्चित तीन÷तीन गीत प्रस्तुत गरेर पोखरेली दर्शकलाई वर्षौपछि लोकपप फ्लेवरको संगीतको तिर्खा मेटाए । ऐतिहासिक बनेको सो कार्यक्रममा करिब ३० हजार दर्शकले अवलोकन गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) बताउँछन् ।

नब्बेको दशकमा उदाएका पोखरेली ती सफल ब्याण्डहरु कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्यान्ह व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ) को प्रस्तुति रहेको थियो ।

२६ माघको उक्त कार्यक्रम अभूतपूर्व बनेपछि आयोजक अझ हौसियो । यत्तिकै रोकिएन । पोखराबाहिर पनि ‘ब्याक टु नाइन्टिज्’ लैजाने भयो ।

त्यसैअनुरुप, शुक्रबार छिमेकी जिल्ला स्याङ्जाको वालिङ बजारमा उस्तै शैलीमा कार्यक्रम भयो ।

वालिङको च्याम्बर अफ कमर्सद्वारा वालिङमा जारी ‘प्रथम पिङ्क सिटी महोत्सव’ कै अवसरमा पोखरेली ब्याण्ड उतारेको हो । जहाँ करिब १० हजार दर्शकले साथ दिएको पोखरा प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको दाबी छ । डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्यान्ह र भेगाबोण्ड व्याण्ड त्यहाँ गुञ्जिएका हुन् । पोखरामा कन्दरा गुञ्जिएकोमा आफ्ना कलाकार देशबाहिर भएकाले वालिङमा भने अनुपस्थित रह्यो ।

साँझ पर्दानपर्दै सुरु कार्यक्रममा पहिलो प्रस्तुति थियो, भेगावोण्डको । भोकलिस्ट श्यामसुङ तामाङले ‘जीवन हो घामछायाँ’ बाट सुरु गर्दा दर्शकले हात हल्लाएर माया दर्शाए ।

दोस्रो प्रस्तुतिका लागि स्टेज चढ्यो–देउराली । भोकलिस्ट शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ वा ‘लुकीचोरी’ समेतका आधा दर्जन गीत गाइसक्दा दर्शक नाचिरहेका थिए ।

त्यसपछि, ब्रोसिसका प्रकाश रानाले ‘बस सुन्दरी’, ‘चाइना कम्पनी’ समेत गीत गाए । चौंथोमा लेकालीका हर्कराज गुरुङ (भाइ) र नवीन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायत गीत गाउँदा दर्शकको हुटिङ गरिनै रहे ।

पाँचौंमा मध्यान्हका कर्णदास झुल्किए । ‘मनमनै मन पराइसकेछु’, ‘जिन्दगीको के भरोसा’ गाउँदा दर्शक नोस्टाल्जिक बने ।

अन्तिममा डि–मर्चाका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’ बाट प्रस्तुति सुरु गर्दै ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म झ्याम्म’ गाउँदै बिट मार्दा वान्समोर गुञ्जिरह्यो ।

ट्रिनिटी क्लब वालिङ सहकार्य र स्थानीय व्यवसायीको सहयोगमा पोखराबाट पहिलोपल्ट बाहिर ‘ब्याक टु नाइन्टिज्’ पुगेको प्रचार संयोजक सन्देश श्रेष्ठले बताए ।

यो सांगीतिक अभियान देशव्यापी लैजाने तयारीअनुरुप अब बेनी, भरतपुर, विराटनगर, इलाम, विर्तामोड, भक्तपुर, ललितपुर, काठमाडौंमा जाने तयारी भएको पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।

पर्यटनको राजधानी पोखरालाई रि–ब्राण्डिङ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, गीत, संगीतमार्फत निराशा हटाई आशाको धुन सञ्चार गर्नेलगायत उद्देश्य यो अभियानको छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी