घरजग्गा कारोबारमा छैन प्रगति

काठमाडौं । मुलुकको समग्र अर्थतन्त्रमा सुधार भइराखेको भए पनि र बैंकहरूले एकल अंकमा ब्याजदर कायम गरिसक्दा पनि घरजग्गाको कारोबार भने फस्टाउन सकेको छैन ।

नेपालको कुल जनसंख्याभन्दा पनि बढी जग्गाको प्लट भइसकेका कारणले र अधिकांशले छोराछोरीलाई विदेशमा नै बसाउन थालिएकाले नेपालमा घरजग्गाको कारोबारमा मन्दी छाएको विज्ञहरूको भनाइ छ ।

भूमि व्यवस्थापन तथा अभिलेखन विभागका अनुसार फागुन महिनाभरिमा ४६ हजार ६१ वटा मात्र लिखत पारित भएका छन् । यो गत वर्षको तुलनामा ४ हजारले कम हो ।

गत वर्षको फागुनमा देशभर ५० हजार ९ सय २१ वटा जग्गा लिखत पारित भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को फागुन महिनामा भने ४० हजार ७ सय ३४ लिखत मात्र पारित भएको थियो ।

गत माघका आधारमा भने जग्गाको कारोबार स्थिर रहेको देखिएको छ । माघ महिनामा ४६ हजार ६९ वटा घरजग्गासम्बन्धी कारोबार भएको थियो ।

घरजग्गाको कारोबारमा शिथिलता आए पनि राजस्व संकलनमा भने प्रगति भएको छ । फागुन महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको फागुन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यस हिसाबले अहिलेको फागुनमा गत वर्षको तुलनामा १४ दशमलव ७६ प्रतिशतले राजस्व बढेको छ । अघिल्लो आव २०७९÷८० को फागुन महिनामा घरजग्गा कारोबारबापत ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

जग्गाको कारोबार घटे पनि कारोबारबापत राज्यलाई प्राप्त हुने राजस्व भने बढेको देखिएको छ । घरजग्गा कारोबार स्थिर भए पनि माघको तुलनामा फागुनमा राजस्व भने ६ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।

माघमा घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो भने फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

फागुन महिनामा सर्वाधिक कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । सो कार्यालयबाट १ हजार ८ सय ४७ लिखत पारित भएको विभागको तथ्यांकमा जनाइएको छ ।

त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, मालपोत कार्यालय बेलबारी, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम र राजविराजबाट पनि हजारभन्दा धेरै कारोबार फागुन महिनामा भएका छन् । नेपालमा पछिल्लो ३ वर्षयता घरजग्गा कारोबारमा मन्दी छाइरहेको छ ।

गत आवको साउनदेखि फागुनसम्म ३ लाख २९ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएकामा यस वर्षको सोही अवधिमा ३ लाख २४ हजार ३ सय ३९ वटा मात्रै घरजग्गा किनबेच भएका छन् ।

फागुन महिनामा काठमाडौं उपत्यकामा ३ हजार ८ सय ९० वटा घरजग्गा किनबेच भए । गत पुस र माघमा पनि सोही हाराहारीमा मात्र कारोबार भएको थियो । मोरङ, झापा, धनुषा, सप्तरी, सर्लाहीजस्ता जिल्लामा घरजग्गाको किनबेचमा उत्साह देखिएको छैन ।

घरजग्गाको बजार चलायमान हुन नसक्नुमा नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा घुमाउरो तरिकाले हुने लगानीमा लगाम कसेको, घरजग्गाको मूल्य उच्च भएको तथा नेपालमा सम्पत्ति बेचेर विदेशमा लैजाने गरेको लगायतलाई कारण मानिएको छ ।

पछिल्ला वर्षमा देशभित्रको सम्पत्ति बेचेर विदेशमा घर किन्ने प्रवृत्ति बढेको छ । विभिन्न विकसित देशमा अध्ययन र कामका लागि गएका युवा स्थायी रूपमा सोही मुलुकमा बस्ने प्रवृत्तिका कारण सहरी क्षेत्रमा घरजग्गामा लगानी गर्नुको साटो नेपालको सम्पत्ति बेचेर सोही मुलुकमा घर किन्ने प्रवृत्ति बढ्दो छ ।

नेपालमा घरजग्गाको मूल्य उच्च आम्दानी भएका मुलुकमा भन्दा पनि धेरै भइसकेका कारण पनि घरजग्गाको बजार शिथिल भएको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

भाईटिकापछि ५ हजार बढी पर्यटक दोलखामा