काठमाडौं । राम नवमीको अवसर पारेर आइतबार एउटा चलचित्रको काठमाडौँमा शुभसाईतसँगै छायांकान थालिएको छ । यस्तै आइतबार नै अर्को एक नयाँ चलचित्रको निर्माण घोषणा गरिएको हो ।
आइतबार बिहान काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा नेपाली चलचित्र ‘जनै हराएको बाहुन’को शुभ मुहूर्त गरिएको हो । यो चलचित्रको सोमबारदेखि काभ्रेको पनौतीबाट छायांकन सुरु गरिने भएको छ । चलचित्रको छायांकन ४० दिनमा सक्ने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको मुहूर्त समारोहमा मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । यो चलचित्रको अरू कलाकारमा विजय बराल, केकी अधिकारी, रियर राईलगायत छन् । सुशांक मैनाली आठ वर्षपछि चलचित्र अभिनय फर्किएका हुन् । चलचित्र सांघुरोमा मुख्य भूमिका निभाएपछि उनी अमेरिकामै बस्दै आएका थिए । यही चलचित्रमा काम गर्न उनी नेपाल आएका हुन् ।
चलचित्र जनै हराएको बाहुनलाई हिमाल न्यौपानेले निर्देशन गर्दै छन् । थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यो चलचित्रको कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुडामणि शिवाकोटी, रुपेश लामा र आर के मानन्धर रहेका छन् । आदित्य फिल्म्सको ब्यानरमा निर्मित यो चलचित्रको छायांकारमा नवीन गुरुङ छन् ।
चलचित्रको ’bout निर्देशक न्यौपानेले मुहूर्तको क्रममा भने,‘जनै हराएको बाहुनले तन्नेरी पुस्ताले हाम्रो संस्कार संस्कृतिलाई त्यागेर विदेशी संस्कृतिमा रमाएको कथा समेटेका छौँ भने यसमा दाजु भाई र परिवारको सम्बन्धको कथा पनि छ । यस्तै गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा पनि यो चलचित्रमा दर्शकले हेर्न पाउने छन् ।’
आमा प्रति छोराको कर्तव्य उजागर गर्ने यो चलचित्रको कथा मन परेका कारण आफू यसमा आबद्ध भएको अभिनेत्री मिरुना मगरले मुहूर्त समारोहमा बताइन्,‘चलचित्रको कथा विशेष लागेका कारण म यो टिममा आबद्ध भएको हुँ । यसमा मेरो चरित्र मेरो लागि विशेष छ ।’
यो चलचित्रको एसोसियट निर्देशकमा मनिष राउत छन् भने यसको स्क्रिप्ट भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रका मुख्य निर्माता विमल न्यौपाने हुन् ।
यस्तै जीवी आग्रीको निर्देशनमा नयाँ चलचित्र ‘द महावीर’ निर्माणको घोषणा आइतबार नै गरिएको छ । यो चलचित्रको फस्ट लुक्स पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । ऐतिहासिक युद्ध कथावस्तुमा यो चलचित्र निर्माण हुने र अर्को महिनाबाट छायांकनमा जाने यसका निर्देशक जीबीले बताएका छन् । जीबीले यस अघि तीन दर्जन भन्दा बढी भिडियो निर्देशन गरेका छन् । अब चलचित्र निर्देशन डेब्यु गर्न लागेको उनले बताएका छन् ।
लक्षरा फिल्सको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रलाई कृष्ण बिके र जीबी आग्रीले लेखेका हुन् । कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लोहार निर्माता रहेको यो चलचित्रको यसको सह निर्मातामा रम्भा देवी र लक्ष्मण बिके तथा कार्यकारी निर्मातामा संगीतकार सुरेश अधिकारी छन् । चलचित्र नेपाली र हिन्दी दुवै भाषामा निर्माण गरिने बताइएको छ ।
यो चलचित्रमा राजेश हमाल, भुवन केसी, रेखा थापा, आँचल शर्मादेखि दयाहाङ राई, सौगात मल्लसम्मका कलाकार राख्ने तयारीमा निर्माण पक्षको जुटेको छ । चाँडै नै कलाकारहरूको नाम सार्वजनिक गर्ने कार्यकारी निर्माता सुरेश अधिकारीले बताएका छन् ।






