काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षीको आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्रको भएको जनाएको छ । संविधानप्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा–अवरोध गरिएको भन्दै राप्रपाले आगामी दिनमा थप विरोध र प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा आफ्ना नेताहरूलाई पक्राउ गर्नुप्रति आपत्ति जनाएका छन् । राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजीलगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दा उठाउदै राप्रपाले आन्दोलन गर्दै आएको छ ।
सोही क्रममा आइतबार राप्रपाले सरकारले तोकेको काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । कार्यक्रममा सहभागी हुन जाने क्रममा सिंहदरबारबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, नेताहरू बुद्धिमान तामाङ, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्यसहितका नेता पक्राउ गरेका थिए ।
पक्राउपछि यी नेताहरू मंगलबार साँझ नै रिहा भइसकेका छन् । प्रहरीले निषेधित क्षेत्र सिंहदरबारमै प्रदर्शन गरेपछि पक्राउँ गरी केही समयपश्चात् रिहा गरेको जनाएको छ । तर, राप्रपा प्रवक्ता श्रेष्ठले सरकारको रबैया स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत अधिकार कुण्ठित गरेको भन्दै आपत्ति जनाएका छन् । नेताहरू पक्राउ परेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको उनले जनाएका छन् ।
राप्रपाले यसअघि १५ चैतमा भएको तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने, पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धबलशमशेर राणासहितका नेता–कार्यकर्तालाई रिहा गर्नुपर्ने मागसमेत गरेको छ ।
राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले राष्ट्र र जनताका लागि आफूहरू गोली थाप्न पनि तयार रहेको बताएका छन् । राप्रपा संसदीय दलको कार्यालय परिसरबाट पार्टी अध्यक्ष लिङ्देनसहितका नेतासँगै रहेका सिंह उम्किएर आन्दोलन स्थलमा पुगेका थिए । उनले राप्रपा शान्ति, सनातन हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र चाहेको बताए ।
‘हामीले जनताको आवाज बोलिरहेका छौं । यिनीहरूले जतिसुकै धरपकड गरोस्, हामी डराउनेवाला छैनौं । राप्रपाका लागि सबैभन्दा पहिला राष्ट्र हुन्छ, त्यो पछि जनता हुन्छ । राष्ट्र र जनताका लागि जेल जान त परै जाओस्, गोली थाप्न पनि हामी तयार छौं,’ सिंहले भने ।
सरकारले काठमाडौंमा सिंहदरबार, बानेश्वरको संसद्भवन क्षेत्र, नारायणहिटी संग्रहालय, राष्ट्रपति निवास, उपराष्ट्रपति निवास र प्रधानमन्त्री निवास’roundका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र घोषणा गरिएको सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनलगायतलाई नियन्त्रणमा लिएको र पछि रिहा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सिंहदरबार, बानेश्वरको संसद्भवन क्षेत्र, नारायणहिटी संग्रहालय, राष्ट्रपति निवास, उपराष्ट्रपति निवास र प्रधानमन्त्री निवास’roundका क्षेत्रमा व्यापक प्रहरी परिचालन गरेको थियो । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्युप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान थिए ।
सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ हुनुका साथै सिंहदरबारको पर्खालवरिपरि दंगा नियन्त्रण बललाई समेत परिचालन गरिएको थियो । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल नजिक पनि दंगा नियन्त्रण टोली र पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको थियो ।
सिंहरदबारभित्र प्रवेशमा पनि सर्वसाधारणलाई कडाइ गर्नुका साथै सीमित संख्यामा आगन्तुकलाई सुरक्षाकर्मीले केरकार गरेर मात्रै जान दिइएको थियो । सर्वसाधारणले समेत यातायात अवरुद्ध हुँदा सास्ती खेप्न बाध्य भए ।
राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको थियो । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरूको आन्दोलनसँगै राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको थियो ।