इलाम । इलाम नगरपालिका एकको बन्चरे गोलाईमा सडक ढलानको काम गुणस्तरीय नभएको भन्दै स्थानीयले भत्काएका छन् । एक करोड ७२ लाखमा पाँच सय मिटर ढलानका लागि काम थालिए पनि गुणस्तरीय नभएको भन्दै स्थानीयले भत्काई दिएका हुन ।
गुणस्तरीय नभएको भन्दै भत्काए स्थानीयले
सोही सडकमा गत वर्ष तीन सय मिटर ढलान भयो । त्यसबाट पाँच सय मिटर ढलान र तीन सय मिटर नाली निर्माणका लागि एक करोड ७२ लाख बजेट विनियोजनबाट काम भए पनि स्थानीयलाई कामको चित्त नबुझेपछि भत्काई दिएका हुन ।
सडक ढलान गर्ने क्रममा ढलानले छोपिने ठाउँमा प्रयोग गरेको रड पनि नछोपिएको र पानी परिरहेको बेला हतार हतार ढलान गरी काम सक्ने योजनामा मात्रै काम गरेको देखेपछि स्थानीयले सडक भत्काइ दिएका हुन । स्थानीय सुवास वान्तावाका अनुसार रडको दुरी, सडकको बिचमा भएका बुच्चाउने जस्ता काम नभएको भन्दै मापदण्ड अनुसारको काम हुनुपर्छ भनेर खबरदारी गरेको बताए । उनले माप दण्डमा २० सेन्टी हुनुपर्ने भनिए पनि त्यो नभएको र एक महिना अघि बनेको नाली समेत भत्किएपछि सडक निर्माणमा चित्त नबुझेपछि स्थानीयले भत्काएका हुन । सडक खोतल्दा सिमेन्टको मात्रा समेत नभएको र माटोसमेत मिसिएको देखिएको छ ।
स्थानीयका अनुसार ८० मिटर भन्दा बढी ठाउँमा गरिएको ढलान गुणस्तरीय नभएको बताउँछन् । त्यहाँ प्रयोग गरिएको रड पातलो, बालुवा हिलो मिसिएको र सिमेन्टको मात्रा समेत नभएको भन्दै ८० मिटर सडक ढलानमा लापरबाही भएको स्थानीयको दाबी छ ।
स्थानीयले जनप्रतिनिधि र कर्मचारी बसेरै लगाएको काम गुणस्तरीय नभएपछि जन प्रतिनिधि र कर्मचारीलाई नै स्थानीयले तपाई बसेरै बनाएको सडक यस्तै हो भन्दै जवाफ समेत मागेका थिए । सघन सहरी तथा भवन निर्माण आयोजना झापा मार्फत निर्माण भएको उक्त सडक गुणस्तर हीन बनेपछि त्यो ढलाई भत्काएर बनाउनुपर्ने सघन सहरी तथा भवन निर्माण आयोजना इलामका प्राविधिक सिपी शर्मा गड्तौला बताउँछन् । ‘कर्मचारीकै उपस्थितिमा वैशाख २१ र २२ गते ढलान भएको उक्त सडकमा २२ गते बेलुका पानी परेपछि काम रोकिएको थियो’ उनले भने, ‘२३ गते बिहान हामी पुग्नु अघि नै अघिल्लो दिन छोडेको काम भइसकेको रहेछ ।’ यस अघि ल्याएको गिटि र बालुवा कमसल भएको भन्दै त्यो प्रयोग गर्न पनि रोकेको गड्तौलाले बताए ।
तर त्यो ढलान दुई हेर्दा कर्मचारी बसेको भन्नेगरि छैन । एक दिनमा ढलान नहुने ठाउँमा प्रयोग हुने सामान कमसल प्रयोग गरिएको छ । ढलानमा प्रयोग गर्न ल्याइएको बालुवा पनि हिलो सहितको रहेको छ । त्यहाँको काम हेर्दा सडक बनाउन भन्दा पनि आँखा छलेर काम सक्ने गरिको पाइन्छ ।
इलाम नगरपालिका वडा नं. एकका वडाध्यक्ष गायत्रीराम बस्नेतले ढलानको काम नराम्रो भएको भए भत्काएर बनाउनु पर्ने बताए । उनले गत वर्षको काम पनि गुणस्तरीय रहेको र यो काम पनि गुणस्तरीय छ भन्नेमा आफू विश्वस्त भएको भन्दै पानीको कारण केही समस्या भए पनि त्यसलाई मिलाएर काम अघि बढाउनुपर्ने बताए ।






