भारतीय असफल कूटनीति

भारतले नेपालको अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भूमितिर पार्दै भारत–चीन मानसरोवर तीर्थयात्राको मार्ग निर्माणका नाममा नेपालमाथि उसले फेरि हेपाहा प्रवृत्ति र ज्यादती देखाएको छ । सिंगो विश्वका साथै छिमेकी देश नेपाल पनि कोरोनाजस्तो महामारीका कारण लकडाउनमा रहेका बेला शक्ति राष्ट्र तथा छिमेकी देश भारतले गरेको यो बल मिचाइ अति खेदजनक अन्तर्राष्ट्रिय नजिर बन्न पुगेको छ । क्षेत्रीय अहं र प्रभुत्वका रूपमा भारतीय सामन्ती विस्तारवादी सोच फेरि पनि अभिव्यक्त हुन आएको छ । यो एक छिमेकी सार्वभौम राष्ट्रमाथिको दादागिरीभन्दा अरू केही होइन । यो हर्कतको नेपाल, भारत, दक्षिण एसिया, सिंगो एसिया र विश्वमा निन्दा भइरहेको छ । विश्व मानवता, भ्रातृत्व, सहअस्तित्व, अनातिक्रमण र सार्वभौमिकताको सम्मान र तिनको रक्षाजस्ता विश्वव्यापी मान्यताविरुद्ध एक उदाउँदो शक्ति राष्ट्रले सानो छिमेकी सार्वभौमिकतामाथि गरेको यो ज्यादती भारतका लागि निकै महँगो साबित हुनेछ । यस अतिरिक्त यो कार्यले छिमेकी सार्वभौम देशमाथि लामो समयदेखि भारतीय शासकहरूले मत्स्य न्यायमा आधारित व्यवहार बारम्बार दोहो-याइरहने गरेको दृष्टान्त विश्वसामु पुनः उजागर गरेको छ ।

देश मिचिनु, थिचिनु, लुटिनु, अपमान गरिइनु र हुर्मत लिइनुमा नेपालका शासकहरू पनि कम दोषी छैनन् । नेपाली शासकहरूको देशलाई बुझ्ने वैचारिक ल्याकत, राजपाठ धान्ने राजनीतिक कला, छिमेकीहरूसँग अपनाइने कूटनीतिक चाल, बदलिएका परिस्थितिमा आइपर्ने बज्रपात, माटो र जनताको रक्षा, स्वाभिमान र समृद्धिको रणनीतिक तथा कार्यनीतिक भेद पहिचान, छिमेकीहरूमा आउने बदलाब र पात्र प्रवृत्तिको मनोविज्ञान अध्ययन र तदनुरूप आफ्नो देशको तयारीमा कहिल्यै पनि आफ्नो ‘कमान्ड’ राख्न सक्षम भएनन् । सबैले महसुस गरेको कुरा पनि हो कि नेपालमा राजनेता जन्मिएनन् वा बनेनन् । यसका साथै अर्को कुरा, नेपाल विदेशी चलखेलको थलो बन्दै गयो । नेपाली जानेर वा अन्जानमा कसैको अघोषित समर्थक र कसैको अघोषित विरोधी खेमामा कित्ताबन्दी हुँदै गए । यसले भाइफुटे गवार लुटेको अवस्थामा पु¥यायो । हाम्रा कमजोरीमा विदेशी शक्तिहरू टेक्दै र खेल्दै गर्न थाले । हामी त्यसैमा रमाउँदै र रमिते हुँदै गयौं । त्यसको तात्कालीन र दीर्घकालीन घाटा नेपाली भूमि र नेपाली सन्ततिमा पर्दै आयो । आज हाम्रै आँखाअगाडि हाम्रो माटो, स्वत्व र स्वाभिमान गुम्दै जान थाल्यो । यो हाम्रो कमजोर आन्तरिक तथा आत्मगत अवस्थाका कारणले गर्दा नै हो ।

यसका साथै, नेपाललगायत देशका छिमेकीहरूसँगको सम्बन्ध आपसी मित्रता र सहयोगका आयाम सबै कूटनीतिक चालद्वारा परिचालित हुन्छन् । सबै देशले आआफ्नो स्वार्थअनुसार यी कूटनीतिहरूको निर्माण, परिवर्तन र परिचालन गर्दछन् । नेपालजस्तो सानो देश, शान्तिपूर्ण र सौहार्दताको चाहना राख्ने देशमाथि दक्षिणको आफ्नै छिमेकी राष्ट्रले सीमा तथा भूभाग अतिक्रमण गरी प्रभुत्व देखाउन पुग्नु उक्त देशको असफल कूटनीतिको परिचायक हो । भारत छिमेकी देश नेपालका लागि कुनै नौलो र अद्भुत छिमेकी होइन । बरु ऐतिहसिक कालदेखिको अभिन्न मित्र हो । दुई देशबीच रहेको जनस्तरको सजीव सम्बन्ध, धार्मिक, सांस्कृतिक, आर्थिक तथा सामाजिकलगायत परस्पर हितको सम्बन्ध परापूर्व कालदेखिको हो । भारतले यसमा आँखा चिम्लन र मूर्खता देखाउन सुहाउँदैन । उसले बुझ्नुपर्छ, मित्र फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन । त्यसैले, नेपालमाथिको उसको मिचाहा र हेपाहा दृष्टिकोणमा पुनरावलोकन गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न किञ्चित ढिलाइ गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी