जुरिच । विश्व फुटबलको सर्वाच्च निकाय (फिफा)ले खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)को एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियमलाई स्वीकृति प्रदान गरेको छ ।
यससँगै अब विश्व फुटबलमा एकै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने भएका छन् । फिफाले सबै प्रतियोगितामा यो नियम लागू गर्न निर्देशन दिएका छन् । कोरोना महामारीका कारण रोकिएको फुटबल सुरु हुनेबित्तिकै आईएफएबीको यो नियमलाई देख्न पाइनेछ । आईएफएबीले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियमलाई फिफासमक्ष पेस गरेको थियो । यसअघि हरेक टोलीले तीन खेलाडी मात्र परिवर्तन गर्न पाउँथे । आईएफएबीले डिसेम्बर २०२० सम्मका खेलमा यो नियम लगाउन सकिने जनाएको छ ।
विश्व फुटबलले खेल सञ्चालनका लागि मान्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ । फिफाका अनुसार खेलाडीको स्वास्थ्य ध्यानमा राख्दै यो कदम चालिएको हो । ‘खेलाडीहरूले कम समयमा धेरै खेल खेल्नुपर्ने हुँदा गाह्रो हुन्छ । यस्तो अवस्थामा खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसैले, हामीले पाँच खेलाडी परिवर्तन गर्ने प्रावधान ल्याएका हौं,’ फिफाले जारी गरको विज्ञप्तिमा उल्लेख छ । हाल हरेक टोलीले एक खेलमा तीन खेलाडी परिवर्तन गर्न पाउँछन् । अतिरिक्त समयमा खेल धकेलिए चौथो खेलाडी परिवर्तन गर्न पाइन्छ ।
फिफाले लज अफ द गेममा रहेको तेस्रो नियम अर्थात् खेलाडी परिवर्तनमा केही समयका लागि ‘टोलीले पाँच खेलाडी परिवर्तन गर्न पाउने र अतिरिक्त समयमा लम्बिएको खेलमा छैटौं खेलाडी परिवर्तन गर्न पाउने’ प्रस्ताव पेस गरेको थियो । आईएफएबीले प्रतियोगिता आयोजकले चाहेमा यो नियम लगाउन पाउने जनाएको छ । यद्यपि, लिग आयोजकले तीन खेलाडी नै सीमित राख्न चाहे पनि त्यसलाई निरन्तरता दिन पाउनेछन् । हरेक टोलीले अधिकतम पाँच खेलाडी परिवर्तन गर्न पाउनेछन् । हरेक टोलीले खेल चलिरहँदा तीनपटक मात्र खेलाडी परिवर्तन गर्न पाउनेछन् । हाफटाइममा पनि खेलाडी परिवर्तन गर्न पाइनेछ ।
यदि एकै समयमा दुवै टोलीले खेलाडी परिवर्तन गरेमा दुवै टोलीले एक पटकपटक खेलाडी परिवर्तन गरेको गनिनेछ । नियमित समयमा खेलाडी परिवर्तन नगरेमा उक्त अवसर र खेलाडी परिवर्तन गर्ने प्रावधान अतिरिक्त समयमा पनि मान्य हुनेछ । अतिरिक्त समयमा हरेक टोलीले थप एक खेलाडी परिवर्तन गर्न पाउनेछन् ।






