४० वर्षपछि लुःहिति पुनरुत्थान हुँदै

काठमाडौं । सहर विकास हुँदै गर्दा क्षति भएको जल प्रणाली जोगाउने योजना महानगरपालिकाको प्राथमिकतामा रहेको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताए । वडा नम्बर २० भीमसेन स्थानमा रहेको लुःहितिको अवस्था र तबो भिन्द्या त्वाः गुथि निर्माण कार्यको अनुगमन गर्दै लुःहितिलाई कोहितिमा आउने पानीको स्रोतसँग जोडेर पुनरुत्थान हुने डंगोलले बताइन ।

लुःहितिलाई कोहिटिसँग पानीको स्रोतमा जोडेर गरिने पुनरुत्थानले ४० वर्षअघि गुमेको हितिको अस्तित्व फर्किने डंगोलको विश्वास छ । उनले भने ‘नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली (ब्लु ल्याण्डस्केप) र वगैँचा, पार्क, खुला हरियाली स्थानजस्ता ग्रीन ल्याण्डस्केपले सहरलाई जीवन्त बनाएका हुन्छन् । पूर्खाले यी दुवै पक्षको सुरक्षा र पुस्तान्तरणका लागि समुदाय स्तरमा संयन्त्र बनाएका हुन्थे । शासन प्रशासन सुधार हुने क्रममा यस्ता सम्पत्ति संरक्षणको काममा सामयिक सुधार भएन । यसकारण सहर बढेसँगै यस्ता सम्पत्तिमा क्षति हुँदै गयो । संस्कृति, सम्पदा र स्थानीय रहनसहनका अभिन्न यी अङ्ग छुटेपछि सहरबाट हराउँदै गएको जीवन्त रसलाई पुनरुत्थान गरिरहेका हौँ ।’

सहरी संरचना निर्माण गर्दा महानगरपालिकाले पर्यावरणीय चक्र (इकोलोजिकल) को अवस्था नवीकरण र सामाजिक, सांस्कृतिक पक्षको सम्बन्ध जोगाउँदै जाने उनको भनाइ छ । यसको पुनरुत्थानको काम पनि सुरु भएको छ । महानगर गौरव योजना ‘सबैको चाहना, ढुङ्गेधारा हिति र पोखरी पुनस्र्थापना’ अन्तर्गत हिति भित्र जमेको पानीलाई निकासा दिन १२ इञ्चको पाइपबाट १२७ मिटर लामो निकास प्रणाली निर्माण गरिसकेको छ । परोपकार अनाथालयतर्फबाट बनाइएको यो प्रणालीमा निकास जोडेपछि हितिमा जमेको पानी बाहिर निकाल्न सकिन्छ । अनुगमनमा क्रममा पानी निकास प्रणाली र नदी प्रणालीसँगको सम्बन्धका बिचको संरचनागत अवस्था हेरिएको थियो ।
हिति पुनरुत्थानका लागि करिव आधा किलोमिटर दुरीमा रहेको कोहितिमा आउने पानीको स्रोतसँग ५० एमएमको पाइप जोडिनेछ । यसपछि हितिभित्रका संरचना र सुन्दरता पुनस्थापनाको काम हुनेछ । यी सबै काम करिब ७५ लाख रुपैयाँमा पुरातात्विक हिति संरक्षण उपभोक्ता समितिले सम्पन्न गर्ने गरी सम्झौता भएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले बताए । काम सम्पन्न गर्नु पर्ने अवधि २०८२ मंसिर ३० गतेभित्र हो । यसका लागि सम्पदा तथा पर्यटन विभाग र उपभोक्ता समितिबिच गएको (२०८१) माघ २५ गते सम्झौता भएको हो ।

लुःहिति १६ औँ शताव्दीमा निर्माण भएको संरचना हो । ३४.९ फिट लम्बाइ र ३२ फिट चौडाइ भएको हितिको पूर्वमा गोरेटो बाटो, पश्चिममा परोपकार अनाथालय, उत्तरमा भवनहरु र दक्षिणमा विष्णुमतीतर्फ जाने पक्की सडक छ । हितिबाट पानीको निकास नभएकोले अहिले यो हिति जस्तो नभइ आधा पानी भएको पोखरी जस्तो देखिएको छ । पानीमा कमलका पात फक्रिएका छन् । वरिपरि झार र आफैँ पलाएका रैथाने फूल फुलेका छन् । यसको मौलिक स्वरुप फर्काउन महानगरपालिकाले काम थालेको हो ।

करिब ३ आना जमिनमा निर्माण भइरहेको भिन्द्या त्वाः गुथि ४ तले भवन हो । प्रदेश सरकारको सहयोगमा तीनतला ढलानको काम भएको थियो । ढलानबाहेक पर्खाल बनाउने, प्लाष्टर तथा रङ्ग लगाउने र एक तला थप गर्ने कामका लागि महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सहयोग गरेको हो । यसको लागत करिब ६८ लाख रुपैयाँ रहेको छ । ‘यस्ता सामुदायिक संरचनाहरु सरकारका निकायहरुबाट सहयोग लिएर निर्माण हुन्छन् । निर्माण भएपछि समुदायका लागि भन्दा व्यवसायिक प्रयोजनमा ल्याउने गरिएको देखिएको छ । यसो गरिनु हुँदैन ।’ अनुगमनपछि वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले भने, ‘यस्ता भवनहरु सामुदायिक क्रियाकलापबाट आपसी सम्बन्ध बढाउने प्रयोजनमा ल्याउनुपर्छ ।’

भवन निर्माणका लागि २०८१ असोज १७ गते आधृत कन्स्ट्रक्सनसँग २०८२ जेठ २६ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क