काठमाडौं । नयाँ नेपाली चलचित्र ‘परिवर्तन’को शनिवारबाट निर्माण सुरु गरिएको छ । शनिवार बिहान झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा–अर्चनासहित यसको छायांकन सुरु गरिएको निर्देशक विजय केरुङले जानकारी गराए ।
यो चलचित्रको मुहूर्तमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले सर्ट दिएका थिए । चलचित्र परिवर्तनको छायांकन करिब ४० दिनसम्म सक्ने लक्ष्य रहेको पनि केरुङले बताए । पूर्वी नेपालका झापा, विराटनगर र इलामका विभिन्न स्थानमा यसको छायांकन गरिने भएको छ ।
चलचित्रमा सुशील र अञ्जनासँगै सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहनेछ ।
दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई पनि उजागर गर्ने निर्देशक केरुङले बताए ।
यो चलचित्र निर्माता दीपक सिवाकोटी हुन् । चलचित्रको कथा पनि निर्माता दीपक सिवाकोटीले नै लेखेका हुन् । चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् । हुन भने यसमा शिव ढकालको डिओपी, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन रहने छ ।
सम्बन्धित समाचार









