पोखरा । पोखरा रंगशालामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबार दुबै टोलीले सानदार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् ।
समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यू डायमण्डले घरेलु टिम गण्डकीलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९ सेटमा हराउँदै समूह विजेता बनेको हो । पुलिसले अघिल्लो दिन मंगलबार उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई सोझो सेटमै हराएको थियो ।
बुधबारको अर्को खेलमा डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीको गण्डकीको टिमलाई पराजित गरेको हो । उसले २५—८, २५—१० र २५—१२ सेटमा हराउँदै अन्तिम ४ मा पुग्न सफल भयो ।
३१ जेठसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
तेस्रो हुने टिमले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनायो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको नाममा पहिलोपल्ट उक्त प्रतियोगिता भएको हो ।