भारतबाट फर्किरहेका कोरोना सङ्क्रमितलाई सोझै घर पठाइदै

धनगढी । सुदूरपश्चिममा भारतबाट फर्किरहेका केहीमा कोरोना सङ्क्रमण देखा परिरहेको छ । यहाँका विभिन्न नाकामा परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो । तर, सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउने गरिएको छ । जब कि नाकामा होल्डिङ सेन्टर छन् । तर, सङ्क्रमित त्यहाँ बस्दैनन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठ २१ गतेदेखि हालसम्म प्रदेशमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । भारतबाट फर्किने शंकास्पद व्यक्तिको नाकामै परीक्षण गर्ने गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए । प्रदेशको मुख्य चार नाका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिको परीक्षण गर्ने कार्य भइरहेको उनले बताए । चार वटै नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि ३५० वटा किट बाँडिएको छ  । मुख्य नाकाहरू गौरीफन्टा र गड्डाचौकीमा अलि बढी र दुई वटा नाकामा आवश्यकतानुसार किट दिइएको जनाइएको छ ।

जेठ २१ गते सबैभन्दा पहिले गौरीफन्टा नाकामै तीन जनामा कोरोना पुष्टि भएको थियो । कोरोना सुरु भएपछि विगतमा यही नाकाबाट सबैभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्केका थिए । भारतबाट फर्किनेबाट समुदायमा समेत कोरोना फैलिएको थियो ।

सबैभन्दा बढी कोरोना सङ्क्रमणको जोखिम भारतबाट फर्किनेबाट भएपछि उनीहरूलाई केही दिनसम्म नाकामै छुट्टै होल्ड गर्नका लागि कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा होल्डिङ सेन्टर बनाइएको थियो । संघीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ  । सरकारले आर्थिक वर्ष २०७८÷७९ मा निर्माण गरेको होल्डिङ सेन्टर जीर्ण बन्दै गएको छ  ।

होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन्। प्रयोगमा नआएपछि यी संरचना खुइलिनुका साथै जीर्ण बनिरहेका छन्  । भारतबाट फर्किरहेका कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई भने घरमै आइसोलेसनमा बस्ने गरी पठाउने कार्य भइरहेको छ  । सङ्क्रमण पुष्टि भएका व्यक्तिमा सामान्य लक्षण देखिएकाले उनीहरूलाई घरमै बस्ने गरी पठाउने गरिएको जोशीले बताए ।

भारतबाट फर्केका सङ्क्रमित व्यक्तिलाई सिधै घर पठाउँदा अरूमा कोरोना सर्ने जोखिम रहेको छ  । त्यस्ता व्यक्तिलाई एक हप्तासम्म होल्डिङ सेन्टरमै राखेर उनीहरूको स्वास्थ्योपचार गर्न सके अरूमा सर्ने जोखिम नहुने कतिपयको बुझाइ छ । तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टरलाई प्रयोग गर्ने सन्दर्भमा कुनै पनि निर्देशन नआएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह