प्रमुख तीन दलमा नेतृत्व परिवर्तनको बहस

काठमाडौं । अहिले प्रमुख तीन दलमा वृद्ध नेतालाई बहिष्कार गर्दै दोस्रो पुस्ताका नेतालाई नेतृत्वमा स्थापित गर्ने रणनीति बनिरहेको छ । पार्टी एवं सरकारको नेतृत्व पटक–पटक गर्दै आएको भए पनि आमजनतामा निराशा बढेकाले नेतृत्व परिवर्तन गर्नुपर्ने बुझाइ उनीहरूको छ ।

संसद्को सबैभन्दा ठूलो नेपाली कांग्रेस, दोस्रो ठूलो दल एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रमा नेतृत्व परिवर्तन गर्नुपर्ने बहस नेताहरूबीच सुरु भएको छ । नेतृत्व परिवर्तनको बहस एवं चर्चाले राजनीतिक रूपमा मात्रै नभई पार्टीभित्रै तरंग उत्पन्न भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प खोजी भइरहेको छ । त्यसका लागि नेताहरू आन्तरिक छलफल, बहसका साथ रणनीतिक रूपमा अगाडि बढिरहेका छन् ।

एमाले अध्यक्ष ओलीको विकल्पमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ल्याउने चर्चा छ । एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी देश दौडाहा गर्दै नेताकार्यकर्तासँग समेत सघन छलफलमा छिन् । हालै चीन भ्रमणपश्चात् स्वदेश फर्केकी भण्डारीलाई पार्टीभित्रैका नेताहरूले पार्टीको नेतृत्वमा ल्याउनुपर्ने बहस सुरु गरेका छन् ।

यद्यपि, ओलीले भने अझै पार्टी नेतृत्व छोड्ने संकेत देखाएका छैनन् । अर्कोतर्फ केही नेताहरू पार्टीभित्रबाट नेतृत्व स्थापित गर्नुपर्ने गरी लागेका छन् । तर, ओलीबाट पीडित, अवसरबाट वञ्चित नेताहरू ओलीको विकल्पका रूपमा भण्डारीलाई जबर्जस्त रूपमा अगाडि ल्याइरहेका छन् ।

कांग्रेस सभापति देउवाको विकल्पमा दोस्रो पुस्ताका नेताहरू छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मादेखि नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइरालासहित दर्जनभन्दा बढी नेताहरू नेतृत्वमा आउनेगरी लागेका छन् ।

कहिले देउवाकै निवास पुगेर त कहिले पूर्वपदाधिकारीको हैसियतमा नेतृत्वको विकल्पका ’boutमा बहस जारी छ । विधानअनुसार देउवा अब सभापतिमा पुनः आउन मिल्दैन । त्यसका लागि देउवाले कसलाई अगाडि सार्ने हुन् ? त्यस’boutमा उनी आफंै मौन छन् ।

तर, देउवाले आगामी २०८४ सालमा हुने आमनिर्वाचनपश्चात् महाधिवेशन गर्न खोजेका छन् । देउवालाई चुनौती दिँदै महामन्त्री थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूले २०८३ मंसिरभन्दा पहिले नै महाधिवेशन गर्नुपर्ने सार्वजनिक रूपमै बताउँदै आएका छन् ।

देउवानिकट एक नेताका अनुसार संवैधानिक व्यवस्थालाई टेक्ने हो भने पनि कांग्रेस महाधिवेशन २०८४ सालको जेठभन्दा टाढा धकेल्न मिल्दैन । तर, आमनिर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्ने मनस्थितिमा सभापति देउवा रहेका छन् ।

त्यसलाई चुनौती दिँदै महामन्त्री थापा कसैले चाहेर मात्रै महाधिवेशन नसारिने बताउँछन् । संविधानले दिएको व्यवस्थाभन्दा पछि गएर महाधिवेशन गर्नु भनेको अदालती प्रश्नसमेत उठ्ने बताउँदै उनले २०८३ सालको मंसिरभन्दा पहिल्यै महाधिवेशन गरिसक्नुपर्ने जनाएका छन् । थापाले आफूलाई आगामी सभापतिका आकांक्षीका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

थापालाई अघि सार्न खोजेका अर्का महामन्त्री शर्माले पनि २०८३ सालअघि शीर्ष नेताहरूले संन्यास लिनुपर्ने जनाएका छन् । पार्टीको आगामी महाधिवेशनमार्फत सभापति परिवर्तन हुने बताउँदै महामन्त्री शर्माले शीर्ष नेताहरू मुलुकको अभिभावक बन्नुपर्ने बताए ।

सोमबार गृहजिल्ला झापा पुगेका महामन्त्री शर्माले कांग्रेसभित्र मात्रै नभई एमाले, माओवादी केन्द्रमा समेत नेतृत्व परिवर्तनको आवश्यकता रहेको निष्कर्ष सुनाए । उनले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०८३ सालमा संन्यास लिन सुझावसमेत दिए ।

महामन्त्री शर्माले मुलुकमा सिंगो राष्ट्रको नेतृत्व गर्ने अभिभावक खोजिनुपर्ने समय आएको बताउँदै भने, ‘हरेक चुनावले नयाँ सरकार बनाउँछ तर प्रधानमन्त्री त पुरानै अनुहार ! यस्तो प्रणालीले जनतामा गुनासो र असन्तुष्टि बढाएको छ, अब गुट वा दलको होइन, सिंगो राष्ट्रको अभिभावक खोज्नेबेला आएको छ, हामीले त्यसको सुरुवात गर्नेछौं ।’

२०८३ साल यसका लागि सुखद साल हुनसक्ने र २०८३ सालमा तीन संन्यास तीन अभिभावक हुनसक्ने गरी त्यो अवधारणा बन्न सक्यो भने जनतामा आशा र उत्साह बढ्ने उनले जनाएका छन् । त्यसका लागि आफ्नै पार्टी कांग्रेसबाट आफूहरूले सुरु गर्ने उद्घोषसमेत उनले गरे । कांग्रेसको विधानमै यससम्बन्धी स्पष्ट व्यवस्था रहेको बताउँदै महामन्त्री शर्माले आगामी सभापति को बन्ने ? भन्ने विषयमा समेत छलफल र बहस चलिरहेको बताए ।

उता, माओवादी केन्द्रमा समेत नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । यद्यपि, नेतृत्व परिवर्तनको बहस गर्नेहरू भने कमजोर बन्दै गइरहेका छन् । माओवादीमा अहिले मात्रै नभई पहिला पनि नेतृत्व परिवर्तनको बहस गर्ने नेताहरू कि पार्टीबाट निष्कासनमा परेका छन् वा पार्टी नै छोड्नुपरेको छ ।

डा. बाबुराम भट्टराईले नेतृत्वको बहस गर्दा पार्टी परित्याग गर्नुपरेको थियो । अहिले माओवादी उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनसहितका नेताले नेतृत्व परिवर्तनको बहस गर्दै आएका छन् । पुन प्रचण्डलाई टक्कर दिनेगरी नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा नभई प्रचण्डकै आशीर्वादले नेतृत्वमा पुग्न खोजेका छन् ।

तर, अर्का उपमहासचिव शर्मा भने जबर्जस्त रूपमा प्रतिस्पर्धाबाटै समेत नेतृत्वमा आउन खोजेका छन् । तर, पछिल्लो अधिवेशनमा उनले नेतृत्व परिवर्तनको बहस गरे पनि प्रतिस्पर्धा भने गरेनन् । अहिले भित्रभित्रै शर्माले आफ्नो समूह निर्माण गर्दै नेतृत्वमा पुग्ने प्रयास गर्दै छन् ।

त्यो रणनीति थाहा पाएका प्रचण्डले जसरी पनि उनलाई पार्टीबाट निष्कासन गर्न खोजेको माओवादी केन्द्रकै नेताहरूका बीचमा चर्चा छ ।

शर्मा निकट एक नेताका अनुसार विशेष महाधिवेशनमा नेतृत्व परिवर्तनको बहस गर्दै प्रतिस्पर्धाबाटै समेत नेतृत्व परिवर्तन गरिन्छ । शर्मा त्यसका लागि रणनीतिक रूपमा लागेका छन् । त्यही भएर उनी प्रचण्डको निसानामा समेत परेका छन् । कतिपय नेताहरूले शर्मा कि पार्टी नेतृत्वमा आउँछन् वा पार्टी नै परिवर्तन गरेर अर्को दल खोल्न सक्छन् भन्ने टिप्पणी गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता