एजेन्सी । विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । २४ घण्टामा ५ हजार ३ सयको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको हो ।
कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ८६ हजार ९ सय संक्रमितको ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २६ हजार ४ सय संक्रमित थपिँदा १७ सय व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म १४ लाख ५६ हजारमा कोरोना पुष्टि हुँदा ३ लाख १८ हजार व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् ।
त्यस्तै, कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने मुलुकको दोस्रो स्थानमा रहेको बेलायतमा ३३ हजार ६ सय बढीको मृत्यु भएको छ । बिहीबार मात्रै त्यहाँ ४ सय २८ व्यक्तिले ज्यान गुमाउँदा ३ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् ।
इटालीमा ३१ हजार, फ्रान्समा २७ हजार ४ सय, स्पेनमा २७ हजार ३ सय, ब्राजिलमा १४ हजार, बेल्जियममा ८ हजार ९ सय, जर्मनीमा ८ हजार, इरानमा करिब ७ हजार, क्यानाडामा ५ हजार ४ सय, नेदरल्याण्ड्मा साढे ५ हजार संक्रमितको मृत्यु भइसकेको छ । अन्य देशमा भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट हालसम्म २ सय १५ देश प्रभावित भइसकेका छन् ।






